समाज

महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौँः राष्ट्रिय भूमि आयोग

इकागज |
मंसिर १३, २०७९ मंगलबार १५:७ बजे

काठमाडौं- राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौंले सुकुम्बासीहरूको उचित व्यवस्थापन बिना नै काठमाडौं महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप लगाएको छ ।

आयोगले सबैको कुरा सुन्दा र बुझ्दा महानगरपालिका नै एकलौटी रूपमा अघि बढेको पाइएको बताएको हो । मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौंका अध्यक्ष श्यामकृष्ण प्रजापतीले महानगर सुकुम्बासीको उचित व्यवस्थापन नै नगरी यस किसिमले अघि बढ्छ भन्ने कल्पना नगरेको बताए । आयोग अहिले लागत संकलन कार्यमा जुटिरहेको र चुनावका बेला आचारसंहिता लागू भएकाले काम गर्न नपाएको उनकाे भनाइ छ ।


आयोगले लागत संकलन गरी वास्तविक सुकुम्बासीहरूको पहिचान नगरिकन महानगरले डोजर लिएर सुकुम्बासी बस्ती भत्काउन जाने कुरा उचित नभएको प्रजापतीकाे जिकिर छ । उनले सुकुम्बासीलाई कहाँ व्यवस्थापन गर्ने भन्ने बारेमा सोचेर मात्रै महानगर अघि बढ्न आवश्यक रहेको उनले उल्लेख गरे ।

सोमबारविना कुनै जानकारी महानगरपालिका डोजर लिएर सुकुम्बासी बस्ती छिरेको भन्दै यस बस्तीमा त्रास पैदा भएको प्रजापतीकाे भनाइ छ​ । उनले यस्ता गतिविधिलाई रोक्न र सही तरिकाबाट व्यवधानको हल निकाल्न वार्ताको विकल्प नरहेको बताए ।

अध्यक्ष प्रजापतीले सुकुम्बासीका लागि इचंगुनारायणमा बनाइएको अपार्टमेण्टमा बस्नै नदिने कुरा त्यहाँका वडाध्यक्षले गरेकाले महानगरले त्यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने बताए । उनले यसअघि पनि सो अपार्टमेण्टमा पुगेका सुकुम्बासीहरूलाई अस्वीकार गरिसकेको र अब पनि बस्न नदिने कुरा बारम्बार स्थानीय वडाध्यक्षले भनिरहेको भन्दै महानगरले समस्या समाधानको पहल गर्न जरुरी रहेको उल्लेख गरे । उक्त अपार्टमेण्टमा १३४ परिवार राख्ने कुरा रहेको भएपनि आयोगले लागत संकलन गरेपछि मात्रै यति नै सुकुम्बासीहरू छन् भन्ने कुराको यकिन हुने बताए । 

यता सोमबारदेखि आन्दोलनरत थापाथली सुकुम्बासी बस्तीका बासिन्दाहरू भने गरिबलाई देखाएर सधैँ सरकारले भिख माग्ने काम गरिरहेको तर समस्या समाधान नगरेको आरोप लगाए । सुकुम्बासी हुकुमबहादुर लामाले महानगरपालिकाले बस्ती भत्काए पनि पुनः सोही ठाउँमा बस्ने बताए । उनले विना विकल्प जबरजस्ती उठाउनु नहुने र सधैँका लागि सबै सुकुम्बासीको समस्या समाधान हुनुपर्ने माग गरे । सुकुम्बासीहरूले गरिबको बोल्दिने कोही छैन भनेर गीत गाउँदै आएको देखेर यस्तो प्रतिनिधिले मात्रै गरिबका सपना र मागहरू पूरा गर्छ भनेर भोट हाले पनि अहिले गरिबमाथि नै खनिएको आरोप लगाए ।

सुकुम्बासी बस्तीमा आज पनि बस्ती भत्किने डरले अशान्ति छ । केही समय अघिमात्रै उनीहरू काठमाडौं महानगरपालिकाको गेटमा प्रदर्शन र नाराबाजीमा निस्किएका थिए । उनीहरूले सरकार निकम्मा भएको भन्दै राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने माग राखेका छन् । उनीहरूले सुकुम्बासी बस्ती प्रवेश गर्ने सबै सडकहरू बन्द गराएका छन् भने सडकभर टायर र ढुंगाहरू छरपस्ट देख्न सकिन्छ ।

एकीकृत वागमती सभ्यता विकास समितिले मंसिर ४ गतेसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोही अनुसार बस्ती खाली गराउन महानगरको टोली पुगेदेखि नै थापाथली क्षेत्र तनावग्रस्त छ । 


Author

थप समाचार
x