समाज

'डोजर आतंक मच्चाएर सुकुम्बासीलाई बाँच्न पाउने अधिकारबाट वञ्चित गराउन खोजियाे'

इकागज |
मंसिर १३, २०७९ मंगलबार १७:५३ बजे

काठमाडौं- काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथलीस्थित बाग्मती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन खोजेकामा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले आपत्ति जनाएको छ ।​

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले अन्य कुनै स्थानमा बसोबासको व्यवस्था नगरी सुकुम्बासी बस्ती हटाउन डोजर चलाउन नहुने टिप्पणी गरेको हो । शहरको सुन्दरताका लागि बस्ती हटाउन खोजे पनि सामाजिक न्यायको सिद्धान्तलाई छायाँमा पार्न नहुने मोर्चाको भनाइ छ ।


पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुईंटेलले २०४६ सालको आन्दोलनपछि सुकुम्बासी आयोग बने पनि सुकुम्बासीहरूलाई राज्यले व्यवस्थापन गर्न नसकेको टिप्पणी गरे । लुईंटेलले बागमती सभ्यताका लागि काठमाडौंलाई नमूना शहर बनाउने बालेन शाहले उद्घोष गरे पनि सुकुम्बासीलाई बिचल्ली बनाउन खोजेको भन्दै कडा आपत्ति जनाए ।

थापाथली बस्ती उत्पीडित सुकुम्बासी समितिका अध्यक्ष मिनकुमार राना मगरले सुकुम्बासी बस्ती भत्काउने महानगरको कुनै प्रतिनिधि र पत्र नआएको र एक्कासि भत्काउन आएको गुनासो गरे । महानगरको टोली जबरजस्ती बस्ती छिर्न खोजेकाले झडप भएको उनको भनाइ छ ।

संयुक्त सुकुम्बासी मोर्चाका सदस्य तथा थापाथली बस्ती उत्पीडित सुकुम्बासी समितिका सदस्य विजय मगरले आफूहरू सो बस्तीमा २०६२ साल पुस २ गतेदेखि बस्दै आएको बताए । डोजर आतंक मच्चाएर त्यहाँका नागरिकको शिक्षा, स्वास्थ्य र बाँच्न पाउने अधिकारबाट वञ्चित गराउन खोजिएको उनको भनाइ छ ।  


Author

थप समाचार
x