समाज

मलेसियाका राजा अब्दुल्लाहको सगरमाथा हेर्ने चाहना

इकागज |
मंसिर १५, २०७९ बिहिवार १७:२९ बजे

काठमाडौँ- मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बिहीबार क्वालालम्पुरस्थित राजदरबारमा आयोजित विशेष समारोहमा राजा सुल्तान अब्दुल्लाह समक्ष राजदूत पौडेलले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । 

राजा सुल्तान अब्दुल्लाहले मलेसियाका लागि राजदूत नियुक्त भएकामा बधाई दिएका थिए । ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजा सुल्तान अब्दुल्लाहसँग पौडेलले नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी गरेका थिए ।


राजदूत पौडेलले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफू लागिपर्ने प्रतिबद्धता जनाए । उनले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामना सन्देश व्यक्त गरे । पौडेलले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति भण्डारीको तर्फबाट नेपाल भ्रमणको निमन्त्रणा दिए ।

राजा सुल्तान अब्दुल्लाहले विश्वको सर्वोच्च शिखर सगरमाथा अवलोकनका लागि नेपाल भ्रमण गर्ने आफ्नो इच्छा रहेको बताए । मलेसिया र नेपालमा हालै भएको आम निर्वाचनबारे समेत कुराकानी भएको थियो ।


Author

थप समाचार
x