समाज

मुखियाले गरेका निर्णयको कार्यान्वयन गर्न बडघर समुदायको माग

इकागज |
मंसिर १७, २०७९ शनिबार १७:१० बजे

काठमाडौँ- स्थानीय सरकारले गाउँमा कामकाजका बडघर (मुखिया) प्रणालीलाई मान्यता दिए पनि अन्य सरकारी निकायले उपेक्षा गर्दा गाउँका साना मुद्दाहरूको समाधान हुन नसकेको बडघर समुदायले गुनासो गरेका छन् ।

गाउँका साना समस्याहरू पनि ठूला बन्ने र समयमा समस्याको समाधान हुन नसक्दा यतिबेला वर्षौंदेखि चल्दै आएको बडघर समुदायहरू चिन्तित भएका हुन् । उनीहरूले स्थानीय सरकारले गाउँमा कामकाजका बडघर (मुखिया) प्रणालीलाई मान्यता दिए पनि अन्य सरकारी निकायहरूले त्यसको पालना नगर्दा बडघर ऐन बनाएको अर्थ नभएको अनुभूति भएको बडघर समुदायका अगुवा बताउँछन् ।


बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले बडघर ऐन बनाएर कार्यान्वयनमा ल्याएर काम काज सुरु गरेको छ । स्थानीय सरकारले बडघर प्रथालाई मान्यता दिए पनि केन्द्र सरकारले मान्यता दिएको छैन । सरकारी निकायहरूले नै स्थानीय तहले बनाएको नियमको पालना नगर्दा कतिपय साना समस्यासमेत ठूला बन्ने गरेको बारबर्दिया नगरपालिका, बर्दियाका बडघर सञ्जालका सचिव लक्ष्मीप्रसाद थारू बताउँछन् ।

उनले प्रतिनिधि र प्रदेश सभाका प्रतिनिधिहरूले बडघर ऐनलाई केन्द्रदेखि संविधानमा लागू गराउन सके कामकाजमा सहज हुने बताए । बडघर प्रथालाई गाउँका मानिसहरूले सबैभन्दा सजिलो उपायको रूपमा लिने गरे पनि केन्द्रदेखि कार्यान्वयन नभएको कारणले बडघरहरूले कतिपय निर्णय लिन अलमलमा परेको समेत सचिव थारूकाे भनाइ छ ।

बडघर सञ्जाल विस्तार गर्नका लागि कैलालीदेखि दाङसम्म संगठन बनाएर केन्द्रबाट नै नियम लागू गराउन प्रतिनिधि र प्रदेश सभामा विजयी उम्मेदवारहरूलाई दबाब दिने बताए ।

त्यस्तै बढैया ताल गाउँपालिका, बर्दियाका बडघर सञ्जालका संयोजक परशुराम थारुले बडघर प्रथालाई संरक्षण र संवर्द्धन गर्न केन्द्रबाट निर्णयको कार्यान्वयन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने जिकिर गरे । उनले सरकारले संविधानमै लागू गरे बडघरहरूलाई कुनै पनि निर्णय गर्दा सहज हुने संयोजक थारूले बताए । बडघर प्रथा गाउँघरमा नितान्त आवश्यक रहेको समेत संयोजक थारूको भनाइ थियो ।

त्यसैगरी बडघर सञ्जाल, बाँसगढी नगरपालिका बर्दियाका संयोजक हरिप्रसाद थारूले गाउँ, समुदायका कामहरूलाई छिटो र सहज तरिकाले सम्पादन गर्नका लागि बडघर प्रथालाई केन्द्रबाट नै कार्यान्वयनमा ल्याउन जरुरी रहेको उल्लेख गरे । स्थानीय सरकारले बडघरको मान्यता दिए पनि अन्य सरकारी निकायहरूले भने बडघरले गरेका निर्णयको उपेक्षा गरेको उनकाे भनाइ छ ।

थारू समुदायमा बडघर प्रथा पुस्तौँदेखि चल्दै आएको छ । थारू समुदायका मानिसहरूले गाउँमा कुनै किसिमको विवाद वा झगडा भए पहिला बडघरको राय लिने र आवश्यक परेपछि मात्र प्रशासनको सहायता लिने गर्दछन् । तर, कतिपय मुद्दालाई बडघरले गरेको निर्णयलाई प्रशासनले मान्यता नदिँदा बडघर समुदाय चिन्तित छ । जसका कारण स-सानो कुरामा समेत साधारण मानिसहरूले दुःख पाउने गरेको उनीहरूको गुनासो छ ।


Author

थप समाचार
x