समाज

चुनावपछि रोजगारी खोज्दै भारत जाने बढे

इकागज |
मंसिर १७, २०७९ शनिबार २१:२० बजे

फाइल तस्बिर

जुम्ला- प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अन्तिम चरणमा छ । मतगणना सकिएर राजनीतिक दलबीच नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेका बेलामा यहाँका युवाहरू भने रोजगारीको खोजीमा भारत जान थालेका छन् । 

चुनावको रौनक सकिएसँगै सिङ्जा क्षेत्रका गाउँमा पुरुषको सङ्ख्या घट्न थालेको सिङ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको भनाइ छ । 


'स्थानीय स्तरमा रोजगारीको अवसर छैन,' उनले भने, 'गाउँबाट अध्ययन र रोजगारीका लागि भारत जानेको सङ्ख्या बढेसँगै गाउँमा पुरुषको सङ्ख्या पातलिन थालेको हो ।' हिउँदेयाम लागेसँगै घरखर्च जुटाउन यहाँका युवाहरू भारत जान बाध्य भएको उनको भनाइ छ । 

यहाँका प्रायजसो युवादेखि वृद्धसम्मका धेरै जसो व्यक्तिहरू रोजगारीको खोजीमा भारत जाने गरेको तिला गाउँपालिका–१ का स्थानीयवासी विशल बुढाको भनाइ छ । 

स्थानीय स्तरमा रोजगारी नपाइने र कृषि पेसाका लागि हिउँदे याममा बढी जाडो हुने भएकोले मङ्सिरदेखि फागुन महिनासम्म भारतका विभिन्न स्थानमा व्यापार गर्नेदेखि काम गर्नेहरू बढी हुने यहाँका स्थानीयवासी बताउँछन् । 

रोजगारीका लागि ठूला सहर तथा भारततिर गएका युवा खेतिपातीको सिजन सुरु भएपछि मात्रै जुम्ला फर्कने गर्दछन् । जुम्लाबाट रोजगारीको खोजीमा विशेष गरी भारतको उत्तराञ्चल, हिमाञ्चल लगायतका क्षेत्रमा जाने गरेका छन् ।


Author

थप समाचार
x