समाज

सुकुम्बासीहरूको चेतावनी : वैकल्पिक व्यवस्थाबिना गरिएको उठिवास सह्य हुँदैन

इकागज |
मंसिर १९, २०७९ सोमबार १४:५१ बजे

काठमाडौँ- वागमती नदी किनारका सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन् ।

सोमबार सयौँको संख्यामा उपस्थित सुकुम्बासीहरूले माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म शान्तिपूर्ण र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारसँग सामाजिक न्याय, जमिन माथिको अधिकार सुनिश्चतता, भूमिहीनहरूको सुरक्षित बसोवास व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेर विरोध जनाए ।


संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा र नेपाल महिला एकता समाजको आयोजनामा सुकुम्बासीहरूको माग पूरा गर्नुपर्ने सर्तसहित आन्दोलनमा उत्रिएका सुकुम्बासीहरूले वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास सह्य नहुने चेतावनीसमेत दिए । र्‍यालीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले वर्षौंदेखि बसोवास गरिरहेको जमिनमा वैकल्पिक व्यवस्थाबिना गरिएको उठिवास सह्य नहुने चेतावनी दिए ।

वैकल्पिक बसोवास बिनाको उठिवास नागरिक अधिकार माथिको हनन भएको उनकाे भनाइ छ । उनले सुकुम्बासी विध्वंसकारी नभएको भन्दै देश विकास र निर्माणका शक्ति सुकुम्बासी भएको बताए ।

कार्कीले​ जोखिममुक्त बसोवास गरेका सुकुम्बासीलाई बसोवास गरेकै ठाउँमा र जोखिमयुक्त ठाउँमा बसोवास गरेकाहरूलाई त्यही वडाभित्र स्थानान्तरण गर्न माग गरे । उनले सरकारले सुकुम्बासीहरूको वार्ता र सहमतिको ढोका बन्द गरेको भन्दै वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरे ।

सुकुम्बासीहरूले र्‍यालीका क्रममा 'बिनाविकल्प उठिवास बन्द गर', 'वार्ता र संवादको ढोका खुला गर', 'भूमि अभियन्ता माथिको जाहेरी फिर्ता गर', 'उठिवासको त्रास बन्द गर', 'नागरिकको अधिकार सुनिश्चित गर' लगायतका नारा लगाएर विरोध प्रदर्शन गरेका थिए ।

गत मंसिर १२ गते अधिकार सम्पन्न वागमती एकीकृत विकास समितिको पहलमा काठमाडौं महानगरपालिका डोजर लिएर सुकुम्बासी बस्ती भत्काउन पुगेदेखि बस्तीमा असहज परिस्थिति सिर्जन भएको उनीहरूको आरोप छ । उनीहरूले भत्काउनु र बिगार्नु विकास नभइ दिगो व्यवस्थापनमा लाग्नुपर्ने सुझाव समेत दिए ।


Author

थप समाचार
x