समाज

चितवनको कुसुम खोलामा बनाइएका घरटहरा भत्काइए

इकागज |
मंसिर २३, २०७९ शुक्रवार १४:५१ बजे

फाइल फोटो

चितवन - चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैधरुपमा बनाइएका घरटहरा भत्काउने कामलाई निरन्तरता दिइएको छ । निकुञ्जको कुसुमखोलामा बनाइएका नौ घर टहरा भत्काइएको छ । घरटहरासँगै पूजा गर्नका लागि भन्दै बनाइएको मन्दिरको संरचना पनि हटाइएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाले ती संरचना भत्काएको हो । विगत दुई÷तीन महिनायता बनाइएका संरचना भत्काइएको उनले जानकारी दिए । विगतदेखि नै रहेको काजीमान प्रजाको घर भने भत्काइएको छैन । काजीमानको सहित १२ घर सो क्षेत्रमा रहेका छन् । ती क्षेत्रमा टहरा बनाएपछि जग्गा पाइन्छ भन्ने हल्ला चलाएर ठाउँठाउँबाट मानिस घरटहरा बनाउन आउने गरेको उहाँले जानकारी दिए । 


निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले कुसुम खोला जाँदै गरेका कतिपय भेटिएकालाई बगही पोष्टबाट समेत फर्काउने गरिएको बताए । उनले भने, “नियमितरुपमा अवैध ढङ्गले त्यहाँ बनाइएका संरचना भत्काउने गरेका छौँ ।” सो क्षेत्रमा समयसमयमा संयुक्त सुरक्षा गस्ती पुगेर बनाइएका घर टहरा भत्काउने गरेको उनले बताए । 

दुई वर्षअघि हात्ती लगाइ भत्काउनाका साथै निकुञ्जले सो बस्तीमा आगजनी गरेको थियो । घरटहरामा आगजनी गरेपछि उक्त विषयले ठूलो चर्चा पाएको थियो । पुनःसो क्षेत्रमा बाहिरबाट मानिस गएर बसोबास गर्न थालेका हुन् । रासस


Author

थप समाचार
x