समाज

तामाको फोटोलाई सुन भन्दै छक्याए

फेसबुकमा नचिनेका पुरुषको फ्रेन्ड रिक्‍वेस्ट : साथी बनेको एक महिनामै गुम्यो १६ लाख

अतिन आचार्य |
मंसिर २७, २०७९ मगलवार ८:३८ बजे

काठमाडौँ- करिब एक महिनाअघि संखुवासभाकी ५५ वर्षीया सीतामाया लिम्बु (नाम परिवर्तन)लाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट आयो । उनले नयाँ साथी बन्‍न आएको अनुरोधलाई नकारिनन् ।

हत्तपत्त फेसबुकमा पुरुषको नामबाट आएको रिक्वेस्टलाई उनलाई स्वीकार गरिन् । ती पुरुषसँग साथी बनेपछि उनीहरूको दोहोरो कुराकानी सुरु हुन थाल्यो । च्याटमा उनीहरू दुवै जनाले कुराकानीको विषय परिवार र ठेगानालाई बनाए ।


पुरुष साथीले सीतामायालाई परिवार र आर्थिक अवस्थाको बारेमा सोधे । उनले पनि ती पुरुषलाई बिना हिचकिचाहट परिवारको बारेमा सबै खुलेर बताइन् । छोरा वैदेशिक रोजगारमा गएको सुनाइन् । उनको पारिवारिक आर्थिक अवस्था मध्यम खालको थियो ।

उनीहरूको निरन्तर दैनिक कुराकानी हुन्थ्यो, घण्टौसम्म कुराकानी लम्बिरह्यो । पुरुष साथीले म्यासेज नगर्दा पनि सीतामाया आफैँ पठाउँथिन् । दुई जनाको कुरा परिवार, सुख र दुःखको बारेमा गरेर टुंगिन्थ्यो ।

पुरुषले सधैँ नेपाली र हिन्दी भाषामा लेखेर म्यासेज गर्थे । कहिलेकाही आधा नेपाली र हिन्दीमा बोल्थे । महिलालाई भने उनको कुरा बुझ्न समस्या पर्दैन थियो । भन्‍न खोजेको सबै कुरा सहजै अनुमान लगाउँथिन् । म्यासेजमा मात्र नभइ फोनमा समेत कुराकानी हुन थाल्यो । उनीहरूको पातलै हुने कुराकानी बिस्तारै बाक्लिँदै गयो ।

धनी हुने आशले म्यासेजको पर्खाइमा

सीतामायालाई प्रभाव पार्न उनले नेपालीहरूको बारेमा कुराकानी झिक्थे । उनले नेपालीहरूको बारेमा बुझ्न चाहन्थे । उनले पनि बताउँदै गइन् । ती पुरुषले महिलासँग नेपाली इमान्दार, मेहनती र सोझो हुन्छन् भन्दै प्रशंसा गर्न थाले । पुरुषसँग म्यासेन्जरमा बाक्लै कुरा हुन थालेपछि सीतालाई भने,’ तिमीहरूको परिवार दुःखमा र बढी मेहनत गर्ने रहेछौ । धेरै दुःख पाएका रहेछौ । म सकेको सहयोग गर्छु ।‘

पूर्वी पहाडी जिल्लामा बस्ने सीतामाया अपरिचित साथीबाट सहयोगको आश्वासन पाएपछि मख्ख बनिन् । मख्ख मात्र बनिनन् । सहयोग गर्ने भएपछि आत्मविश्वासी पनि बनिन् । त्यसपछि झन् कुराकानी बाक्लियो । परिवारले दुःख झेलिरहेको सारमा उनले सुनाउँथिन् ।

पुरुषले तिमीहरूको परिवारमा धेरै दुःख रहेको बताए उनलाई । केही दिनको कुराकानीमै एक-डेढ किलो सुन पठाएर परिवारको आर्थिक अवस्था सुधार्ने आश्वासनसहितको म्यासेज पठाउँछ । सुनको कुरा हुनासाथ सीतामाया त्रसिन्छिन् । केही दिन सीतामाया र ती पुरुषको कुराकानी म्यासेजमा बन्द भयो ।

केही दिनपछि पुनः ती पुरुषले उनलाई म्यासेज पठाउँदै भन्छन्,’ सुन पठाउँछु तिमीहरूको परिवारमा धेरै दुःख छ । सुन बिक्री गरेर धेरै पैसा कमाउन सक्छौ ।‘ त्यसपछि परिवारमा दुःख र अभाव हट्ने आशामा उनी निरन्तर सम्पर्कमा बसिन् ।

अरुण पारिकी ती महिलाले अरूको धन त्यसै खानु हुँदैन भनेर सोचिन् । उनले ती पुरुषलाई सोध्छिन्,’ म अरूको धन सित्तैमा खाँदिन । किन दिन चाहनु हुन्छ भनेर प्रतिप्रश्न गरिन् ।‘

उनलाई लगत्तै पुरुषको म्यासेज आउँछ,’ विश्वास गर्नुस् । तपाईंहरूको दुःख सुनेर सुन पठाउन लागेको छु । सुन बेचेर पैसा कमाउनु । आफ्नो जीवन स्तर उकास्नु । मलाई सुनको पैसा तिर्नुपर्दैन ।'

फोटोमा देखिएको पहेलो धातुको मोह 

उनले सीतालाई विश्वास दिलाउन सुनको फोटो पठाउँछन् । फोटोमा देखिएको पहेलो रङको धातुलाई उनले पनि सुन भनेर विश्वास गर्छिन् । सित्तैमा सुन नलिने भए उनले सीतालाई एउटा सर्त राखे ।

‘मैले यहाँबाट सुन पठाउँदा लागेको राजश्व तिमीले तिर्नुपर्छ,’ उनले सीतामायालाई भने । सीताले पनि सुन पाउने लोभमा सहमति जनाइन् । अरूको सित्तैमा खान हुँदैन भनेर  उनले सुरुमा दुई लाख पठाइन् ।

पैसा पठाएपछि उनी केही दिन तनावमा रहन्थिन् । ती पुरुषसँगको कुराकानीमा सोध्थिन्,' पठाएको पैसा पुग्यो होला । सुन कहिले आउँछ ? 'उनले उताबाट कागजात र पैसा नपुगेकाले भन्सारमा सुन रोकिएको जवाफ पाउँथिन् ।

पैसा पठाएपछि झन उनीहरूको कुराकानी हुने क्रम बाक्लिँदै गयो । सीतामायालाई पुरुषको मायाले होइन सुनको मोहले म्यासेन्जरमा बस्नुपर्ने बनाइसकेको थियो । म्यासेन्जरबाट टाढा जान सकिनन् । घरको काम सकाएर फुर्सद हुनासाथ उनी आफैँ म्यासेज गर्थिन् ।

उनी ती पुरुषको जस्तोसुकै कुरालाई पनि विश्वास गर्ने अवस्थामा पुगिसकेकी थिइन् । पुरुष महिलाबाट बढीभन्दा बढी पैसा कसरी तान्‍न सकिन्छ त्यसको ध्याउन्‍न थियो ।

महिलाले सुनको कुरा गर्दा उनले हरेक पटक भन्सारमा राजश्व तिर्न नसकेर अड्केको जवाफ फर्काउँथे । भन्सारमा लाग्ने पैसा पठाउन भनिरहन्थे । उनले ती पुरुषलाई सुन पाउने लालसामा पैसा पठाइ रहिन ।

सुन नपाएको गुनासो पनि गरिरहन्थिन् । पटक-पटक गरेर १६ लाख पठाइ सकेपछि उनलाई ती पुरुष साथीले एकदिन अचानक ब्लक हाने । फेसबुकमा ब्लक भएपछि उनी झस्किइन् म ठगिए भनेर ।

सीतामायाले फेसबुकमा देखेको सुन पनि पाइनन् । एक महिनामै फेसबुकमा बनेको साथी र पैसा गुमाइन् । जब अपरिचित पुरुषले ब्लक गरे सुन पाउने आशामा बसेकी उनले पैसा गुमेको पत्तो पाइन् । १६ लाख गुमाएपछि उनले सुन र पैसा नपाउने निष्कर्षमा पुगिन् ।  अन्त्यमा उनले आफू ठगिएको थाहा पाइन् ।

उनी तनावमा परिन् । एकाएक होस गुमाए जस्तो भइन् । करिब एक महिनामा उनले १६ लाख गुमाइन् । फेसबुकमा साथी बनेको ३५ दिनमा नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीमा पुगिन् । वित्तीय अपराध भएको भन्दै परिवारको सल्लाहमा उनी प्रहरीमा पुगिन् ।

प्रहरीले उनको कुरा बुझिहाल्यो । उनी फेसबुकमार्फत ठगिएकी भनेर । त्यसपछि प्रहरीले कुन बैंकबाट कति-कति रकम झिकियो भनेर  पत्ता लगाउन सुरु गर्‍यो । अनुसन्धानको क्रममा उनले नेपाली २२ वर्षीय युवतीलाई प्रयोग गरेको प्रहरीले भेट्टायो ।

भर्चुअल प्रेममा परेकी २२ वर्षीय युवतीको प्रयोग

ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्गीले भारतीय पुरुषले नेपाली युवतीको खातालाई प्रयोग गरी महिलाबाट पैसा असुलेको देखिएको उनले जानकारी दिए ।  युवतीलाई खाता खोल्न लगाई ठगि गरेको खुलेको पाएको जानकारी दिए ।

काठमाडौँमै स्नातक तहमा अध्ययनरत युवतीसँग उनले भर्चुअल प्रेम गरेका थिए । उनको प्रेममा परी युवतीले बैंक खाता र अन्य नम्बर उपलब्ध गराएका थिए ।

उनका अनुसार ५५ वर्षीया पीडित महिलाले हरेक पटक पैसा हाल्दा नेपाली खातामा पैसा हाल्थिन् । पीडित महिलाले १६ लाख रुपैयाँ मात्र दिन सक्ने पत्ता लगाएपछि ती पुरुषले महिलालाई ब्लक हानेको देखिएको छ । उनले फेसबुकमा सुन भनेर तामाको डल्लोको फोटो पठाउँथे ।

‘ती पुरुषले युवतीलाई भर्चुअल लभमा पारेका थिए । फकाएर ती युवतीलाई खाता खोल्न लगाएको देखिन्छ,’ प्रहरी निरीक्षक खड्गीले भने,’ महिलाको हालेको पैसा ती युवतीको खातामा गएको देखिन्छ । युवतीलाई सोध्दा पैसा नलिएको जवाफ दिइन् । अपरिचित पुरुषबाट दुई महिला पीडित भएको देखिन्छ ।'

दोस्रो महिलालाई सोधपुछ गर्दा आफूले पैसा नपाएको उनको भनाइ उद्दृत गर्दै खड्गीले सुनाए । पुरुषले युवतीलाई प्रेममा पारेर बैंकमा खाता खोल्न लगाइ ओटीपी (वान टाइम पासवर्ड) लिएका थिए । महिलाले बैंकमा पैसा जम्मा गर्नसाथ पुरुषले भारतबाट पैसा निकाल्थे ।

प्रहरीले विभिन्‍न कोणबाट अध्ययन गरिरहेको उनले जानकारी दिए । भारतमा रहेको व्यक्तिले सामाजिक सञ्जालबाट फकाएर वित्तिय अपराध गरेको खड्गीले बताए । नेपालबाट त्यस्ता व्यक्तिलाई सहजै नियन्त्रणमा लिन नसक्ने भएकाले प्रहरीले इन्टरपोलबाट काम गरिरहेको उनले जानकारी दिए ।

सामाजिक सञ्‍जालमा आर्थिक क्षति र अपरिचित मानिसबाट कसरी बच्ने ?

पहिले नचिनेको व्यक्तिले पठाएको म्यासेज खोल्न नहुने उनले सुझाव दिए । सबैभन्दा पहिले सामाजिक सञ्जाल प्रयोगकर्ता सचेत हुनुपर्ने उनले बताए । फेसबुकको म्यासेन्जर, इन्स्टाग्राम, टवीटर, टीकटक, ह्याट्सएप, भाइबर र स्न्याप लगायतका सामाजिक सञ्जालमा नचिनेका मानिससँग कुराकानी नगर्ने र फेसबुकबाट चिनेका साथी तथा आफन्तले पठाएका लिङ्कहरूमा क्लिक नगर्नलाई उनले सुझाए ।

उनका अनुसार मोबाइलमा त्यस्ता लिङ्कलाई क्लिक गर्दा ह्याक हुन्छन् । आफ्ना डिभाइसमा भएका नीजि कुराहरू सार्वजनिक भइ आर्थिक तथा मानसिक रुपमा आफूले क्षति व्यहोर्नुपर्ने हुन्छ ।

कसैले फकाएर धन दिने आश्वासन दिएमा लोभमा पर्न नहुने उनको भनाइ छ । निरन्तर कसैले यस्तो भन्छ भने नजिकैको प्रहरी कार्यालयमा गएर जानकारी दिने वा समय-समयमा पासवर्ड परिवर्तन गर्नलाई उनले सुझाव दिए ।

बैंकिङसँग सम्बन्धित पासवर्ड तथा पिनकोडहरू परिवर्तन गरिरहनुपर्छ । त्यसैगरी इमेलको पासवर्ड तथा सबैजसो भर्चुअल सेवाका पासवर्डहरू तत्काल परिवर्तन गरी मोबाइल वा ल्यापटप फर्म्याट गर्नुपर्ने रायको सुझाव छ ।

ब्यूरोका अनुसार दैनिक विभिन्‍न माध्यमबाट अपराध भएको भन्दै दैनिक ४० देखि ४५ निवेदन दर्ता हुने गरेको छ । २० देखि ३० वर्ष उमेर समूहका महिलाहरू बढी पीडित भएर आउने गरेका छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x