समाज

जब एक महिला आत्महत्या गर्छु भन्दै प्रहरीकोमा पुगिन्...

अतिन आचार्य |
पुस १४, २०७९ बिहिवार ८:९ बजे

काठमाडौँ- नाम : गीता कार्की (परिवर्तित) ।

उमेर : ३० वर्ष ।


स्थायी बसोबास : ललितपुर ।

सम्पन्न परिवारकी बुहारी । तीन छोराकी आमा ।

एक पुरुषसँग उनको चिनजान परिचयबाट सुरु भयो । परिचयबाट सुरु भएको चिनजान यतिमै सीमित रहेन । कार्कीको कथा लामो छ ।

कथाको सुरुवात गरौँ नेपाल प्रहरीको साइबर ब्यूरोबाट ।

ब्यूरोका अनुसार विगत ६ महिनामा गीताको जीवनमा अनेक मोड आए । ६ महिनामा उनले 'चरम आनन्द' (यौनान्द)समेत अनुभव गरिन् । पिरतीका तानाबाना बुनिए । थोरै रोमान्ससँगै उनले ठूलो संकटको पनि सामना गरिन् । कहालीलाग्दो समय गुजारिन् ।

एक दशकअघि गीताको पारिवारिक सल्लाहमा मागी विवाह भयो । सम्भ्रान्त परिवारकी छोरी उनी कुलिन घरकी बुहारी बनेर भित्रिएकी थिइन् । सम्पन्न परिवारमा खान र लगाउन समस्या हुने कुरै भएन ।

संयुक्त परिवारमा थिइन् गीता । पारिवारिक वातावरण पनि राम्रै थियो । परिवारमा कुनै कुराको अभाव थिएन ।

समयसँगै उनीहरूको पहिलो, दोस्रो र तेस्रो सन्तान जन्मिए । एकबाट दुई बनेको जोडी पाँच सदस्यीय बन्यो ।

उनीहरूले सन्तानको शिक्षा-दिक्षा र भविष्यका लागि आर्थिक अवस्था मजबुत बनाउने सोचे ।

उनीहरूले आम्दानीको विकल्प खोज्न थाले । विकल्प स्वदेशमा भेटेनन् ।  अन्ततः उनका श्रीमान वैदेशिक रोजगारीमा जान तयार भए ।

सन्तानको भविष्यका लागि सन्तोष (नाम परिवर्तन) दुवई उडे ।

३८ वर्षीय श्रीमान वैदेशिक रोजगारीमा गएपछि घरमा गीता छोराहरूको साथमा रहिन् । छोरालाई विद्यालय पठाउँदै उनको दैनिकी बित्न थाल्यो । छोरालाई ‘स्कुल’  पठाएपछि उनी श्रीमानको वियोगमा छट्पटाउँथिन् ।

श्रीमानको सम्झनामै उनले महिना, ६ महिना हुँदै वर्ष बिताइन् । एक्लोपनले उनलाई सताउन छाडेन । झनझन पिरोल्दै लग्यो ।

श्रीमानसँग दैनिक कुराकानी भइरहन्थ्यो । आफूलाई एक्लोपनबाट टाढा राख्‍न सामाजिक सञ्जालसँग नजिक रहिन् ।

श्रीमानसँगसँगै गीता नयाँ साथी बनाउन थालिन् । आफ्नो एक्लोपनलाई भुलिन, साथीसँग खुलेर राख्थिन् । आफूलाई हलुका बनाउँथिन् । फेसबुकबाट चिनजानका साथीसँग ‘अनलाइन’ प्रेम गरिन् ।

श्रीमानबाट टाढा हुनुको पीडाले उनलाई सताइरह्यो।

एक्लोपनलाई भुल्न आफन्तकोमा पनि जान्थिन् ।

बेला-बेलामा दीदीको घर धादिङ पुग्थिन् । धादिङ पुग्दा दीदीको देवर पर्ने कमल (परिवर्तित नाम) सँग उनको चिनजान भयो । चिनजान मात्र भएन फेसबुकमा साथी बन्नेदेखि नम्बरसमेत आदानप्रदान भयो । अनि सुरु भयो उनको जीवनका खुसी र दु:खको कथा । उनीहरूको सम्बन्धका कथा सुखान्तमा नभइ छटपटी र वेचैनीमा टुंगियो ।

कमलसँगको चिनजानपछि गीता आफ्नो घर ललितपुर फर्किन् । घर फर्केपछि पनि उनीहरूबीच कुराकानी जारी रह्यो । बाक्लै कुराकानी हुन थाल्यो । गीताले मनको कुरा खुलेर राख्थिन् ।

२६ वर्षीय कमलसँग गीता खुल्न थालिन् । खुलेर बोल्न थालिन् । फोनदेखि फेसबुकसम्म कुराकानी बाक्लिएपछि गीता उनीसँग नजिक हुन चाहन्थिन् ।

नजिक मात्र होइन भेटेर मनमा लागेका सबै कुराहरू भन्न चाहन्थिन् । खास उनका कुरा सुनिदिने नजिकमा कोही थिएनन् ।

उनीहरूबीच धेरै कुराकानी भएपछि कमलले गीतालाई म्यासेज गरे,’ म काठमाडौँ आउँदैछु । भेट्ने हो ?’ 

गीताले जवाफ फर्काइन्,’  हुन्छ । कहाँ भेट्ने ? ‘

कमलले लोकेसन दिए ।

पहिलोपटक उनीहरूले काठमाडौँको स्यम्भूमा भेटे ।

फेसबुकमै उनीहरूबीच खुलेर कुराकानी भइसकेको थियो ।

पहिलो भेटमै उनीहरूले शारीरिक सम्बन्ध राखे ।

पहिलो भेटबाट सुरु भएको शारीरिक सम्बन्ध लामो समय चल्यो । बेलामौकामा उनीहरू भेटिरहन्थे । भेटैपिच्छे शारीरिक सम्बन्ध सामान्यजस्तै भयो ।

उनीहरूले निरन्तर सम्बन्ध राखिरहे ।

बाक्लो भेटघाटपछि गीताले मन बद्लियो ।

कमलबाट टाढा हुन खोजिन् । सम्पर्कमा रहिनन् । फोन उठाउन आनाकानी गरिन् । म्यासेजको रिप्लाइ दिन छोडिन् । उनले कमललाई नभेट्ने निधो गरिन्।

विदेशमा रहेका श्रीमानलाई सम्झिन् ।

उनलाई लाग्यो, ’श्रीमानलाई धोका दिएँ कि ? कतै पाप गरिरहेको त छैन ?‘

एकदिन गीताको फेसबुकमा म्यासेज आयो, 'म्यासेज कमलले पठाएका थिए । म्यासेज देखेर झसङ्ग भइन्, तर्सिइन् ।

म्यासेजमा गीताको नग्न तस्बिर थियो ।

फोटो देखेर गीता आत्तिइन् । वातावरण अन्धकार जस्तो भयो ।

उनले केही सोच्न सकिनन् ।

अवस्था उनका लागि असामान्य थियो ।

उनको दैनिकै नै अस्तव्यस्त बन्यो ।

कमलले फोटो देखाएर 'बार्गेनिङ' गर्न थाले, 'भेट्ने कि नभेट्ने ?'

उनलाई धम्की र मानसिक तनाव दिन थाले ।  मलाई नभेटे सबै फोटो सबै आफन्तलाई पठाइदिन्छु । तिम्रो श्रीमानलाई पठाइ दिन्छु ।

बारम्बार धम्की दिन थालेपछि उनले आफूलाई सम्हाल्ने कोशिश गरिन् । परिवार, सन्तान तथा श्रीमान सबैलाई सम्झिन् ।

साच्चिकै कमलले फोटो सार्वजनिक गरिदिए के हुन्छ ? आफैले जवाफ दिइन्, 'मेरो इज्जत माटोमा मिल्छ ।‘

छटपटी बढ्यो । सबैतिर अध्यारो देखेपछि उनी अन्तिम निर्णयमा पुगिन्, 'अब आत्महत्या गर्छु ।'

विष किनिन् ।

तर जीवन त्याग्न त्यति सजिलो कहाँ हुन्छ र ?

अन्तिममा उनले धादिङमा रहेकी दीदीको छोरीलाई फोन गरेर घरमा बोलाइन् । आफूले भोगेको समस्या सुनाइन् । छोरीसँगको भेटपछि उनले पुनर्जीवन पाइन् । आत्महत्याको साटो छोरीले आत्मविश्वास बढाइन् । छोरीले प्रहरीकोमा गए सबै कुरा सुल्झिने सजिलो सल्लाह दिइन् । गीताले सहमति जनाइन् ।

प्रहरीकोमा पुग्नुअघि छोरीले नै घटना विवरण इमेलमार्फत् साइबर ब्युरोमा पठाइन् । प्रहरीले भेट्न आग्रह गर्‍यो । प्रहरीको आग्रहमा उनीहरू भोटाहिटीस्थित साइबर ब्यूरोमा पुगे । घटनाको बेलीविस्तार प्रहरीलाई सुनाए । प्रहरीको अगाडि पुगेर पनि उनले आत्महत्या गर्ने अवस्थामा पुगेको सुनाइन् ।

प्रहरीले गम्भीरताका साथ अध्ययन थाल्यो ।

ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्गीले गीताको घट्ना दर्ता भएपछि सूक्ष्म ढंगले अध्ययन गर्न सुरु गरेको बताए । उनले भने, ’गीताको माग थियो कमललाई प्रहरीले पक्रेर कारबाही नगरोस् । मेरै कारणले कमल पक्राउ गरिएको थाहा नपावस् भन्ने चाहन्थिन् ।‘

प्रहरीले कमललाई नियन्त्रणमा लिन विभिन्न उपाय खोज्यो । प्रहरी उनलाई नियन्त्रणमा लिन सफल भयो ।  प्रहरीलाई जसरी पनि कमललाई नियन्त्रणमा लिएर मोबाइलको फोटो र भिडियो हटाउनु थियो । प्रहरीले उसको नजिकै रहेको इलाका प्रहरीमा सम्पूर्ण विवरण पठायो ।

प्रहरीले उसलाई बोलायो,'तपाइको आइडी कार्ड र लाइसेन्स यहाँ भेटिएको छ । लिन आउनु होस् ।‘ उनी प्रहरीले बोलाएको ठाउँमा पुगे । प्रहरीकोमा पुग्दासम्म उनले आफूलाई किन बोलाइयो भेउ पाउन सकेनन् ।

कमलको मोबाइल प्रहरीले नियन्त्रणमा लियो । ब्यूरोबाट गएका आइटी हेर्ने प्रहरीले डिभाइसमा रहेको सम्पूर्ण विवरण हटाइदिए । प्रहरीले मोबाइल फर्म्याट गरेर उनलाई फिर्ता गरे ।

खड्गीले भने, ' २६ वर्षीय युवकलाई मोबाइलमा आपत्तिजनक भिडियो र फोटो राख्न हुँदैन । यस्तो कुराहरू राखे कारबाहीमा पर्न सकिने भन्दै सम्झाएर पठाइयो ।'

मोबाइलबाट भिडियो हटाएपछि ती महिलाले अनावश्यक दबाब झेल्नु नपरेको प्रहरी निरीक्षक खड्गी सुनाउँछन् । कतिपय अवस्थामा पीडितको चाहनालाई लिएर पनि मुद्दालाई अध्ययन गर्नुपर्ने उनले बताए । पीडित महिलाकै आग्रहमा ती युवकलाई कारबाही नगरिएको उनले जानकारी दिए ।

प्रहरी अनुसन्धानको कारण पीडित महिलाको ज्यान बचाउन सकेको खड्गीले बताए । सुरुवातमा फोटो र भिडियो पठाउँदा मानसिक विक्षिप्त अवस्थामा आइ पुगेको उनले जानकारी दिए । अहिले उनको अवस्था सामान्य रहेको उनले सुनाए ।

ब्यूरोका अनुसार हालसम्म ४४ जना मृत्युको मुखमा पुगेकाहरू बाँचेका छन् । तीन वटा घटनामा मात्र प्रहरी असफल बनेको छ । ‘पीडितको सही ट्रयाक लोकेशन गर्न नसक्दा केही मानिसलाई बचाउन सकिएन,’ खड्गीले भने ।

परिवारको लागि विशेष समय छुट्याउनुपर्छ

वैदेशिक रोजगारमा गएका श्रीमानले परिवार र पैसा नभनेर आफ्नो जीवनसाथीका लागि छुट्टै समय निकालेर कुरा गर्नुपर्ने मनोविद करुणा कुँवर बताउँछिन् । टाढा भए पनि समय-समयमा श्रीमतीका भावना बुझेर श्रीमानले खुलेर कुरा गर्नुपर्ने उनले धारणा राखिन् ।

‘राम्रो पारिवारिक सम्बन्ध चाहने मानिस लामो समयसम्म विदेशमा बस्नु हुँदैन । समय-समयमा परिवारको लागि भनेर पनि घर आइरहनुपर्छ,’ उनले भनिन्,’ कोही कसैसँग सम्बन्ध भइहालेमा महिलाले पनि के गर्नु हुन्छ हुँदैन भनेर सोच्नुपर्छ । सम्बन्धमा सबैलाई विश्वास गर्नु हुँदैन । विश्वास गरेको सम्बन्धले कोही बेला नराम्रो घटना घट्न सक्छ ।‘

साथी बन्नु नराम्रो कुरा नभएको तर उनले साथी के को लागि बनेको भनेर छुट्टयाउनुपर्ने उनले बताइन् । अनैतिक सम्बन्ध राख्दा आफू र आफ्नो परिवारलाई कस्तो असर पर्छ भनेर सोच्नुपर्ने उनको भनाइ छ ।

श्रीमान भन्दा अन्य व्यक्तिसँग सम्बन्ध राख्नुभन्दा अगाडि धेरै सोच्नुपर्ने उनले सुझाइन् । ‘अपरिचित मानिससँग फेसबुकमा साथी बन्न हुँदैन,’ उनले थपिन् ।

शारीरिक सम्बन्धको चाहना महिलामा हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने मनोविद कुँवर तर्क गर्छिन् । ‘नेपाली समाजले महिला खुलेर हिँडेको र बोलेको सहजै पचाउन नसक्ने अवस्था अहिले पनि छ,’ उनले थपिन्,’ महिलाको मनोभावना बुझ्नुपर्छ । मनका कुरा सबैले सहजै राख्न पाउनुपर्छ ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x