समाज

गृह मन्त्रालयको ४८ घण्टे निर्देशनमा फिर्ता भए १९४ सुरक्षाकर्मी

अतिन आचार्य |
पुस १४, २०७९ बिहिवार १८:१९ बजे

काठमाडौँ- देशभरका विभिन्न स्थानबाट १९४ सुरक्षाकर्मी फिर्ता भएका छन् । मंगलबार गृह मन्त्रालयले बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न निर्देशन दिएको थियो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोख्रेलले आजसम्म विभिन्न व्यक्तिका सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी ९१ र नेपाल प्रहरीका १०३ जना सुरक्षाकर्मी फिर्ता भएको जानकारी दिए ।


मन्त्रालयले दिएको निर्देशन अनुसार केन्द्रबाट मात्र १९४ जना सुरक्षाकर्मी फिर्ता भएको पोखरेलले बताए । उनले भने,’  कतिपय सुरक्षाकर्मी जिल्लाबाट आउँदै छन् । फिर्ता हुने क्रमश: जारी रहने छन् । भोलि-पर्सी पनि सुरक्षाकर्मी फिर्ता हुनेछन् ।‘

रवि लामिछाने गृह मन्त्री भए लगत्तै मन्त्रालयले सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएको थियो । मन्त्रालयले मंगलबार नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो ।  

मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सरकारबाट विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ जारी भइ कार्यान्वयनमा रहेको र उक्त कार्यविधि विपरीत सेवा सुविधा लिएको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।

त्यसैगरी आज (बिहीबार) मन्त्रालयले विभागीय स्वीकृतिविना कुटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट नगर्न सुरक्षा निकायका पदाधिकारीहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनैतिक नियोग र राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको भन्दै स्वीकृतिविना भेटघाट नगर्न निर्देशन दिएको हो ।

निर्देशनविपरीत कार्य गरेको पाइए प्रचलित कानुन बमोजिम अनुशासनसम्बन्धी कारबाही गर्ने समेत मन्त्रालयले चेतावनी दिएको छ ।

शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेकाले त्यस्ता कार्य नगर्न मन्त्रालयले मातहतका कर्मचारीलाई निर्देशन दिएको हो ।

सुरक्षाकर्मी पदाधिकारीहरूले कुटनैतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिएर मात्र गर्न पाउने मन्त्रालयले प्रस्ट पारेको छ ।

निर्देशनविपरीत कार्य गरे गराएको पाइएमा प्रचलित कानुन बमोजिम अनुशासनसम्बन्धी कारबाही हुने प्रवक्ता पोखरेलले जानकारी दिए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x