समाज

जात्रा गएकी निरू कहिल्यै घर फर्किनन्

कमल विष्ट |
पुस २६, २०७९ मंगलबार १८:१९ बजे

कालिकोटको खाँडाचक्र नगरपालिका–६ गोरालवाडास्थित महादेव मन्दिरमा हरेक वर्षको भाद्र पूर्णिमामा मेला लाग्छ । यो तिथिमा दलित समुदायले आफ्नो कुल देउता खोदाई महादेव मस्टलाई पुज्ने गर्छन् । गत साल भाद्र ३ र ४ गते यो तिथि परेको थियो ।  

जात्राको दोस्रो दिन त्यही गाउँकी १६ वर्षीया निरू विक आफ्नी साथीहरूसँग जात्रा हेर्न गइन् । तर, उनी राति अबेरसम्म पनि घर फर्किनन् । परिवारलाई लाग्यो– छोरी कुनै साथीको घरमा गएकी होलिन्, भोलि बेलुकासम्म घर फर्केलिन् । तर, निरू ५ गते रातिसम्म पनि घर पुगिनन् । 


गाउँमा सानै उमेरमा भागेर विवाह गर्ने चलन अहिले पनि छ । त्यसैले, परिवारमा शंका उब्जियो, कतै भागेर पो गइन् कि ? परिवारले सोधखोज गर्न थाल्यो । उनका साथीहरूलाई सोधियो, तर सबैले निरूबारे आफूलाई थाहा नभएको बताए । बाबुआमालाई चिन्ताले गाँज्न थाल्यो । सबैतिर खबर गरेर सोधखोज अझ तीव्र पारियो । घरबाट हिँडेको ४ दिनपछि अर्थात् भाद्र ७ गते उनीबारे खबर आयो । तर, खबर जे थियो त्यो सुखद् थिएन । निरू घरभन्दा अलि टाढाको मकै बारीमा भेटिएकी थिइन्, तर निष्प्राण । 

शवको अवस्था विभत्स थियो । टाउको, हात, खुट्टालगायत धेरै अंगहरू थिएनन् । स्यालले अंगहरू लुछेका थिए । शरीरमा न कपडा थियो न चिनिने अवस्था नै । तर, घटनास्थनमा भेटिएका पोशाकले शवको पहिचान भयो । घरबाट ठमठम गर्दै गएकी छोरीलाई त्यस्तो अवस्थामा भेट्दा परिवार विक्षिप्त बन्यो । 

प्रहरीलाई खबर गरियो । प्रहरीले घटनाको सम्पूर्ण मुचुल्का बनाएर अनुसन्धान अगाडि बढायो । मरेकी छोरी फिर्ता नभए पनि हत्याराले जरुर सजाय पाउनेछन् भनेर परिवारले चित्त बुझायो । तर, तीन महिना बित्दा पनि प्रहरीले दोषीलाई कानुनी दायरामा ल्याउन सकेन । 

प्रहरी प्रशासनसहित सरोकारवाला निकायलाई दबाब दिन ‘बलात्कारपछि हत्या भएकी निरू विकका हत्यारालाई सार्वजनिक गरी कारबाही गर’ भन्दै घटनाको तीन महिनापछि आन्दोलन भयो । तर, प्रहरीले घटनाको १६ महिना बितिसक्दा पनि अनुसन्धानको निचोड निकाल्न सकेको छैन । छोरीले न्याय पाउँछिन् भन्नेमा परिवारको आशा क्षीण हुँदै गएको छ । 

परिवारले छोरीको बलात्कारपछि हत्या भएको दाबी गरिरहेको छ । ५२ वर्षीय बाबु रत्ने विक दलित भएकै कारण प्रहरी प्रशासनले चासो नदिएको गुनासो गर्छन् ।  ‘यो घटना ठकुरीमाथि भएको भए अहिलेसम्म के हुन्थ्यो ? केही हुन्थ्यो कि हुँदैन्थ्यो भन्नुस् त ?’ बाबु रत्नेको प्रश्न छ, ‘अहिलेसम्म विभेद हटेको छैन, हामीमाथि राज्यको दमन हटेको छैन । यी सबै कुरा कायम रहँदा मेरी छोरीले न्याय कसरी पाउँथी ?’

‘मैले अहिलेसम्म न्याय पाउन सकेको छैन । प्रहरीले आफूले छानबिन गरेर न्याय दिलाउनुपर्नेमा मलाई आएर सोध्छ, जिल्लामा बोलाउँछ । तर, मसँग न अपराधीबारे सूचना छ न बेलाबेला जिल्ला जाने पैसा,’ उनले भने, ‘अब म के भनूँ ? बरु एक वर्ष बढी लागोस्, तर अपराधीले सजाय पाऊन् । मेरी छोरीको आत्माले शान्ति पाओस् ।’

रत्नेको आफ्नो पीर कसैले नसुने पनि मिडियाले सुनिदिने विश्वास छ । राष्ट्रियकरण गरिदिनेमा विश्वास छ । उनी आफूलाई केही व्यक्तिमाथि शंका भए पनि प्रमाण नभएकाले बोल्ने अवस्था नभएको बताउँछन् । 

यता जिल्ला प्रहरी कार्यालय, कालिकोट परिवारको आरोपलाई स्वीकार्न तयार छैन । मृतकको परिवारले लगाएको आरोप कपोकल्पित र निराधार भएको प्रशासनको भनाइ छ । कालिकोटका डीएसपी जयश्वर रिमाल उक्त घटना बलात्कारपछिको हत्या नभएको जिकिर गर्छन् । रिमाल यस घटनाउपर प्रहरीले विस्तृत रूपमा छानविन गरिरहेको र छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको बताउँछन् । प्रहरीसम्म घटनाबारे ढिलो खबर आएकाले अनुसन्धानलाई प्रभावित पारेको उनको तर्क छ । 

‘नतिजा नआइसकेकाले पीडित परिवारलाई अनुसन्धान नै भइरहेको छैन भन्ने लाग्न सक्छ । तर, विस्तृत रूपमा अनुसन्धान भइरहेको छ । हामी जिल्ला प्रहरीदेखि सीबीआईको टोलीसम्म खटिएका छौँ,’ उनले इकागजलाई जानकारी दिए, ‘यसमा समस्या के छ भने घटनाको चार दिनपछि मात्र प्रहरीमा रिपोर्ट आयो । शरीरको धेरै भाग स्यालले खाएको हुँदा धेरै प्रमाणहरू पहिल्यै नष्ट भइसकेको थियो ।’

यद्यपि उनी अनुसन्धान सही बाटोमा अगाडि बढिरहेको जिकिर गर्छन् ।

निरू काण्ड गत साउनसम्म डिएसपी सिद्धराज न्यौपानेले हेरिरहेका थिए । साउनपछि भने यो मुद्दालाई रिमालले हेरिरहेका छन् । ‘साउन २५ गतेदेखि यो केस म हेरिरहेको छु । अनुसन्धान सही बाटोमा छ,’ उनको दाबी छ । 

यता, प्रहरी प्रशासनसहित विभिन्न सरोकारवाला निकायलाई दबाब दिन परिवार, दलित अधिकारकर्मी र सामाजिक अभियन्ताले पुस १३ गतेदेखि आन्दोलन सुरु गरेका छन् । ‘चे फोर्स नेपाल’ कालिकोटको अगुवाइमा १३ गते जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । त्यस्तै, उसले १४ गते निरूको न्यायका लागि १२ सय हस्ताक्षर संकलन, १५ गते दलित अधिकारकर्मी, मिडियालगायतका सरोकारवाला निकायको उपस्थितिमा सडकसभा र त्यसपछि मैनबत्ति र्‍याली गरिएको थियो । 

अब यो आन्दोलन देशको संघीय राजधानी काठमाडौंमा पुगेको छ । आइतबारदेखि माइतीघर मण्डलामा ‘जन्टिस फर निरू’ भन्दै धर्ना सुरु गरिएको छ । चे फोर्स नेपाल, कर्णाली प्रदेशका ब्रिगेडियर हिक्मतजंग मल्लले निरूको परिवारले छिटोभन्दा छिटो न्याय पाउनुपर्ने बताए । दलित समुदायको भएकै कारण प्रहरी प्रशासनले अनुसन्धान चुस्त रूपमा अगाडि नबढाएको मल्लको आरोप छ । 

‘कानुनी राज्यमा सबैले न्यायानुभूति गर्नुपर्ने हो, तर विडम्बना निरूको परिवार दलित र कर्णालीको भएकै कारण न्याय पाउन सकिरहेको छैन । वास्तवमा भन्ने हो भने प्रहरीले अनुसन्धानलाई गम्भीर रूपमा लिएकै छैन । कानुनमा अहिले पनि सम्भ्रान्त वर्गको मात्र पहुँच छ,’ अभियन्ता मल्लको आरोप छ । 

नयाँ गृहमन्त्री रवी लामिछानेले निर्मलाको विषय उठाइरहँदा निरू विकको विषय पनि उठाउँदा गृहले सुन्ला कि भनेर आफूहरूले फेरि चरणबद्ध आन्दोलन सुरु गरेको उनको भनाइ छ । गृहमन्त्रीले यो मुद्दा पनि गम्भीरतापूर्वक लिएर अगाडि बढाउने उनको आश छ ।

निरूको मुद्दा कालिकोटभन्दा बाहिर जान नसकेको मल्लको अनुभव छ । मिडियाले यसलाई गम्भीर रूपमा नलिँदा राष्ट्रियकरण हुन नसकेको र प्रहरी प्रशासनलाई दबाब सिर्जना नभएको उनको बुझाइ छ । ‘मिडियाले यो कुरा सिंहदरबारसम्म किन पुर्याउन सकेन ?’ मल्लका प्रश्नै–प्रश्नै छन्, ‘कर्णालीले आफ्नो समस्या सुनाउन माइतीघर नै आउनुपर्ने हो ? यो ठूलो विडम्बना हो ।’

गृह मन्त्रालयले अत्याधुनिक उपकरणसहितको विशेषज्ञ टोली कलिकोटमा पठाएर छानबिन गर्नुपर्ने उनको माग छ । भन्छन्, ‘निर्मला पन्तको केसमा जस्तो यसमा पनि विशेषज्ञसहितको अनुसन्धान टोली यहाँ पठाउनुपर्छ । हाम्रो मुख्य माग यही हो ।’

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार संसद्‍मा विश्वासको मत लिएपछि चे फोर्स नेपालले कालिकोटमा मसाल जुलुस निकाल्दै छ । आफ्नो शान्तिपूर्ण आन्दोलनप्रति सरकारको ध्यानाकर्षण हुनुपर्ने र नभएको खण्डमा आन्दोलन अझ पेचिलो बनाउने उनको चेतावनी छ ।

बाबु रत्ने जस्तै मल्ल पनि निरूको बलात्कारपछि हत्या भएको दाबी गर्छन् । ‘यो जगजाहेर कुरा हो । उनको बलात्कारपछि हत्या भएको हो भन्ने कुरा सबैलाई थाहा छ । पोस्टमार्टम रिपोर्टले पनि यही देखाएको छ । प्रहरीले यसलाई किन बलात्कारपछि हत्याको घटना मान्दैन मलाई थाहा छैन,’ मल्लले भने ।

गोरालवाडाका वडा अध्यक्ष दिनेशबहादुर शाहीले घटनाको अनुसन्धानलाई अगाडि बढाउन नगरपालिकाले पहल गरेको बताए । ‘नगरप्रमुखले यो केसउपर अनुसन्धान अगाडि बढाउन पहल गर्नुभएको छ । अनुसन्धान कसरी अगाडि बढिरहेको छ भन्ने त हामीलाई थाहा हुँदैन । तर, हामी आफ्नो ठाउँबाट आफूले सक्ने जति गरिरहेका छौँ,’ शाहीले भने । 
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x