समाज

पोखरा विमान दुर्घटना

को–पाइलट अन्जु, जसले १६ वर्षअघि जहाज दुर्घटनामै पति गुमाएकी थिइन्

बाबुराम भण्डारी |
माघ १, २०७९ आइतबार १८:४२ बजे

विराटनगर । आइतबार बिहान पोखरामा भएको यति एयरको एटीआर ७२–५०० जहाज दुर्घटनामा चालक दलमा को–पाइलट थिइन् विराटनगरकी चेली अन्जु खतिवडा । हालको विराटनगर–५ स्थित चाँदनीचोकमा जन्मे हुर्केर विराटनगरमै माध्यमिक तहको अध्ययन पूरा गरेकी अन्जुका लागि हवाई पेशाको जीवन नै अभिशाप बन्न पुग्यो ।

अन्जुको मागी विवाह करिब २५ वर्षअघि काठमाडौं मैतिदेवीका दीपक पोखरेलसँग भएको थियो । दिपक त्यतिबेला हेलिकप्टरका पाइलट रहेका थिए । पछि उनी यति एयरलाइन्सकै ट्वीनअर्टर जहाजको पाइलट बनेका थिए । तर दीपकको २०६३ असार ७ गते जुम्लामा भएको यतिको ट्वीनअर्टर जहाज दुर्घटनामा मृत्यु भएको हो । ९ एन–एइक्यू कलसाइनको उक्त ट्वीनअर्टर विमानको को–पाइलट रहेका दिपकको निधन भएपछि अन्जुले श्रीमानले नै रुचाएको पेशालाई अघि बढाउने अठोट लिइन् ।


दिपकको निधनको करिब तीन वर्षपछि नै अन्जु परिवारका सदस्यहरुको हौसला पाएर पाइलट पढ्न अमेरिकाको क्यालिफोर्निया पुगिन् । विवाह अगाडि नै उनले भारतको दिल्लीमा उच्च शिक्षा अध्ययन पूरा गरिसकेकी थिइन् । श्रीमानको सपनालाई मर्न नदिने अठोट लिएर उनी पाइलट अध्ययन सकेर नेपाल फर्किइन् र पछि यति एयरलाइन्सकै जहाज उडाउने मौका पाइन् ।

सुवाससँगको जीवनकालमा एक छोरीका आमा बनेकी अन्जुले आफ्नो एक्लो जीवनको भारी त्यसपछि काठमाडौंकै सुवास केसीसँग दोस्रो विवाह गर्दै बिर्साइन् । उनले १५ वर्षअघि यती एयरमा जोडिएर करिब १० वर्षदेखि नेपाली आकाशमा यति एयरलाइन्सका एटीआर सिरिजका जहाज निरन्तर उडाउँदै आएकी थिइन् । तर आइतबारको दुर्घटनाले भने उनको आकासको यात्रा अब सधैंका लागि रोकिएकोमा निश्चित जस्तै भएको छ ।

आइतबार बिहान १०ः३२ मा काठमाडौंबाट पोखराका लागि पाइलट कमल केसी र को–पाइलट अन्जुको नेतृत्वमा उडेको ९एन–एएनसी कलसाइनको एटीआर ७२–५०० जहाज दुर्घटना हुँदा जहाजमा रहेका २९ जनाको मृत्यु भएको पुष्टि यति एयरलाइन्सले गरेको छ । जहाजमा चालक दलका चार जनासहित ७२ जना रहेको जनाइएको छ । विमानमा सवार १८ जना पुरुष, १० महिला र एक शिशुको दुर्घटनामा मृत्यु भइसकेको यति एयरलाइन्सले जनाएको छ ।

जहाजमा चालक दलसहित ५३ नेपाली, ५ भारतीय, ४ रसियन, २ कोरियन, १ अर्जेन्टिनी, १ अष्ट्रेलियन, १ आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका थिए । पोखरास्थित सेती नदीको खोंचमा खसेको उक्त जहाजमा रहेका अन्य यात्रुको शव निकाल्ने काम दिनभरजसो जारी रहेका कारण मृतकको संख्या बढ्दै गएको जनाइएको छ । को–पाइलट अन्जुको मृत्यु भइसकेको औपचारिक पुष्टि हुन भने बाँकी नै छ ।

तर कास्की प्रशासनले भने दुईजना बाहेक सबैको शव भेटिएको जनाएको छ । पारिवारिक स्रोतका अनुसार अन्जुको दोस्रो श्रीमान तर्फ भने सात वर्षीय छोरा रहेका छन्। जहाज दुर्घटनामा छोरीको मृत्यु भएको भन्दै बुवा गोविन्द खतिवडासहित विराटनगरमा रहेका माइती र अरु आफन्तजन अहिले बेलुका विराटनगर विमानस्थलबाट काठमाडौंतर्फ उडेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x