समाज

पोखरा विमान दुर्घटना

बेपत्ताको खोजी कार्य राति पनि गरिने

इकागज |
माघ १, २०७९ आइतवार १९:५२ बजे

लेखनाथ- पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताए ।


'खोजी कार्यको सुरक्षाकर्मीका तर्फबाट कुनै कमी हुन नदिनका लागि राति पनि सम्भव भएसम्म शवहरू खोजी गर्नेछौँ,' प्रमुख केसीले भने ।

दुर्घटनामा परी मृत्यु भएका ६८ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा परीक्षणका लागि लगिएको छ । 'अब बेपत्ता चार जनाको पनि खोजीमा लागेका छौँ, राति नभेटिए सोमबार पनि खोजी कार्यलाई तीव्र पार्छौं,' उनले भने ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खोजीमा खटिएका छन् । नेपाली सेनाका मात्रै दुई सय बढी खटिएका छन् । प्रहरी र सशस्त्र प्रहरी पनि सयौँको सङ्ख्यामा खटिएका छन् । काठमाडौँबाट सशस्त्र प्रहरीको गोताखोरको टोली पोखरा आएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले राति पनि बत्ती जडान गरी खोजी गर्न लागिएको  जानकारी दिए । उनका अनुसार जहाजमा रहेका चार जना अझै बेपत्ता छन् । अहिलेसम्म ६८ जनाको शव फेला परेको छ । उनीहरूको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ ।

'सबै जनाको शव आज नै  निकाल्न सकियोस् भनेर राति पनि खोजी गर्न लागिएको हो,' प्रजिअ केसीले भने ।

मृतकका परिवारलाई सोमबार शव बुझाउने तयारी रहेको पनि प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।


Author

थप समाचार
x