समाज

सपना जापानकाे, ५० युवाकाे ३ कराेड 'झ्वाम'

बाबुराम भण्डारी |
माघ ५, २०७९ बिहीबार १९:३ बजे

तस्बिर : अजय राजवंशी, रंजीतकुमार राजवंशी, राजेन्द्र अधिकारी र विद्याकुमारी राजवंशी ।

विराटनगर- जापान पुगेर राम्रो कमाई गर्ने लोभमा पर्दा मोरङ झापाका करिब ५० जना युवायुवती ठगी गिरोहको चंगुलमा परेका छन् । मासिक १ लाख ८० हजारदेखि चार लाख रुपैयाँसम्म कमाई हुने आश्वासनमा पर्दा उनीहरूको करिब साढे तीन करोड रुपैयाँ डुबेको छ ।

चितवन घर बताउने राजेन्द्र अधिकारीले मोरङको सुनबर्षी नगरपालिका–६ पटियापाडाका अजय राजवंशीमार्फत दर्जनौं व्यक्तिहरूबाट रकम असुल गरेको खुलेको हो । ठगीको नाइके राजेन्द्र अहिले पनि जापानमै रहेको जनाइएको छ । राजेन्द्रले अजयमार्फत जापान पठाउने प्रलोभनमा पारेर मोरङको सुनबर्षी नगरपालिका, रंगेली नगरपालिका र कटहरी गाउँपालिका तथा झापाको कनकाई नगरपालिकाका युवकहरूबाट १८ लाख रुपैयाँसम्म असुलेको खुलेको हो । 


आफूले संकलन गरेको पैसा पनि अधिकारीलाई नै पठाएको बताउने गरेका अजय समेत अहिले फरार रहेको पीडितहरूले बताए । ठगिने अधिकांश अजयकै नातेदार र गाउँलेहरू रहेका छन् । अजय पनि यसअघि करिब पाँच वर्षजति जापान नै बसेर फर्किएका हुन् । उनले राजेन्द्रको निर्देशन अनुसार दर्जनौं व्यक्तिहरूबाट रकम लिएको जनाइएको छ ।

वैदेशिक रोजगारीका लागि दुबई जान लागेका सुनबर्षी–४ का संजय राजवंशीले जापान जाने ‘राम्रो अफर’ आएको राजेन्द्रसहितका व्यक्तिलाई तीन पटक गरी १६ लाख रुपैयाँ बैंकमार्फत पठाएको बताए । अजय आफ्नो गाउँले साथी भएकोले उसैको भनाई अनुसार पहिलो पटक राजेन्द्रलाई ५ लाख तथा ६ लाख र ५ लाख गरी दोस्रो र तेस्रो पटक रंजीत राजवंशी ११ लाख रुपैयाँ बुझाएको दाबी गरे ।

रंजीत अजयकै भाइ हुन् । रंजीत र उनकी पत्नी अनुराधाले समेत दर्जनौं व्यक्तिबाट रकम असुल गरेको पीडितहरूले बताए ।

‘जापानको भ्याकेन्सी आएको छ भनेर हल्ला भयो, मैले त दुबईका लागि अन्तर्वार्ता पनि दिइसकेको थिएँ,’ संजयले भने, ‘जापान नै जान पाउने भनेपछि दुबईको प्रोसेस बन्द गरेर बैंकमा जग्गा राखेर ऋण निकालेर १६ लाख रुपैयाँ तिरेको थिएँ, करियर राम्रो होला भन्ने सोचेको थिएँ, पछिमात्रै हामी सबै ठगिएको थाहा भयो ।’

ठगिने अधिकांश व्यक्तिहरू अजयकै आफन्त रहेका छन् । अजय आफ्नै फुपुको छोरा (नाताले दाइ) भएको बताउने रंगेली नगरपालिका–९ का हरि राजवंशीले जापान पठाइदिन्छु भनेर आफ्नै दाइले ठगेको गुनासो गरे । कतारमा काम गरिरहेका हरिले अजयले नै कर गरेर बोलाएपछि भागेर नेपाल आएको र अजयले भने अनुसार जापानको प्रक्रिया सुरु गरेको सुनाए ।

‘म कतारमा काम गरिरहेको थिएँ, जापानमा वर्किङ भिषामा भ्याकेन्सी छ, तैंले भाषा सिक्नु पनि पर्दैन पैसा डुब्यो भने म तिर्छु भन्न थाल्यो, जसरी पनि आइज भन्यो,’ अजयको प्रलोभनबारे उनले थपे, ‘सुरुमा तीन लाख रुपैयाँ डिपोजित गरियो राजेन्द्रको खातामा, तर यस्तो धेरैलाई भनेको रहेछ, अहिले हामी त ५० जना जति पुगिसक्यौं ।’

जापान जाने प्रलोभनमा परेका व्यक्तिहरूले राजेन्द्र अघिकारीसहित ज्योति घले, विद्याकुमारी राजवंशी, मिनचिरा चर्माकार, कर्णकुमार दवाडी, रंजीतकुमार राजवंशी, अनुराधा राजवंशीको बैंक खातामा पैसा जम्मा गरेका हुन् । उनीहरूको नाममा आधा दर्जन बैंकमा खोलिएका खातामा विभिन्न समयमा पीडितहरूले रकम जम्मा गरेको खुलेको छ ।

बिहीबार पीडितहरूको समूहले नै विराटनगरमा पत्रकार सम्मेलन गरेर ठगिएको बारे जानकारी दिएका छन् । उनीहरूले ठगीमा संलग्न व्यक्तिहरू तत्काल भने कसैको पनि सम्पर्कमा नरहेको बताएका छन् तर पुस १८ गतेसम्म भने अजय राजवंशी काठमाडौंमा रहेको सुनबर्षी–७ का देवराज राजवंशीले जानकारी दिए । आफूले पनि अजयकै योजना अनुसार जापान जानका लागि भनेर पैसा दिएको सुनाए ।

अजयसहितको समूहले धेरैजनासँग पैसा लिएको खुलेपछि अजयका दाजु प्रमोद राजवंशीले आफूहरूलाई काठमाडौं बोलाएको देवराजले बताए । प्रमोदले बोलाएको काठमाडौंको इन्द्रेणी होटलमा आफूसहित विक्रम राजवंशी, विवेक राजवंशी र तिलकचन राजवंशी पुगेको त्यहाँ सुनबर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीसमेतको उपस्थितिमा कुरा भएको उनले जानकारी दिए ।

कुराकानीमा मेयर राजवंशीले अजयलाई विराटनगर ल्याउने र सबैलाई राखेर छलफल गर्ने बताए पनि अहिले आएर अजय नै फरार भएको उनले गुनासो गरे ।

जापान जान पाउने आश्वासनमा परेर आफूले ८ लाख रुपैयाँ तिरेको झापाको कनकाई नगरपालिका–१ का भवानीप्रसाद अधिकारीले बताए । उनले आफू विदेश जाने कुरो भइरहेको बेलामा विराटनगरमा भिनाजुले जापानका लागि कोटा खुलेको सुनाएको र त्यसैका लागि भनेर अजय राजवंशीलाई रकम बुझाएको जानकारी दिए ।

‘म विदेश जाने सोचमा थिएँ, भिनाजुले तिमी पनि विदेश जान खोज्दैछौं, मसँग जापानको कुरा एउटा साथीले गरेको छ भनेर भन्नुभयो । उसैले सीओसी (सर्टिफिकेट अफ इलिजिविलिटी) पठायो, मैले पनि तीन लाख रुपैयाँ पठाइदिएँ, तर त्यो त नक्कली रहेछ,’ अधिकारीले भने, ‘जम्मा मेरो ८ लाख रुपैयाँ फसेको छ, ठगीमा परेको थाहा पाएपछि वैदेशिक रोजगार विभागमा निवेदन दिएका छौं ।’

विवेक राजवंशीले पनि कूल १८ लाख रुपैयाँ तिरेको सुनाए । कटहरी गाउँपालिका–२ का विवेकले राम्रो रोजगारी पाउने प्रलोभनमा अनुराधा राजवंशीलाई मात्रै ९ लाख रुपैयाँ दिएको बताए ।

'अनुराधालाई ७ लाख, रंजीतलाई ७ लाख र विद्याकुमारीलाई २ लाख दिएको हो । राम्रो रोजगारीका लागि भनेर दिएको थियो अहिले हाम्रो पैसा नै खाइदियो,’ विवेकले भने, ‘विद्याकुमारी राजवंशी अजय र रंजीतकै बहिनी हुन् ।’

रंगेली–८ का राजेश्वर राजवंशीले अधिकांश पीडितहरूले २०७९ वैशाख यता अजय र उनका नातेदारमार्फत जापान जाने आसमा पैसा बुझाएको बताएका छन् । तर, गत पुस १५ गतेपछि मात्रै आफूहरू ठगिएको जानकारी पाएको उनले सुनाए ।

‘जापान गइन्छ भनेर मैले पनि पाँच लाख रुपैयाँ अजयलाई जम्मा गरेको थिएँ,’ उनले भने, ‘किन ढिलो भनेर सोध्दा अजयले केही हुँदैन, हामी मिलाउन आउँदैछौं भन्ने गरेको थियो ।’

ठगी परेको थाहा पाएपछि राजेश्वरसहितका पीडितहरूले पुस २० गते जिल्ला प्रशासन कार्यालय मोरङमा ठगी परेको भन्दै उजुरी दर्ता गरेका छन् । सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय मोरङले आरोपीहरू अजय राजवंशी, रंजित राजवंशी, विद्या कुमारी राजवंशी र अनुराधा राजवंशीलाई पक्राउ गरी उपस्थित गराउन आदेश दिइसकेको छ । उनीहरूको खोजीका लागि इलाका प्रशासन कार्यालय रंगेलीसमेतबाट टोली परिचालन भइसकेको मोरङ प्रहरीले जनाएको छ ।

सीआईबीमा उजुरी गरेका छौं : मेयर

यसैबीच राजेन्द्र अधिकारीको योजनामा अजयसहितका व्यक्तिहरूलाई संलग्न गराएर तीन करोड बढी रकम ठगी गरेको भन्दै घटनाको अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमार्फत केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दर्ता गरेको सुनबर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले जानकारी दिए ।

पीडितहरूकै तर्फबाट आफू पनि गएर विभागमा उजुरी दर्ता गरेको उनले दाबी गरे । अजयलाई आफूले पुस १८ गते काठमाडौंमा भेटेको र घटनाबारे जानकारी लिएको पनि मेयर राजवंशीले स्वीकार गरे ।

‘हामीले अजयलाई पुस १८ गते काठमाडौंमा भेटेका थियौं, के–के भएको भनेर हामीले उसलाई सोधेका थियौं, यो विषयमा सबैभन्दा पहिलो मैले नै रेस्पोन्स गरेको हो,’ उनले भने, ‘अजयले आफ्नै नाताको धेरैलाई जापान लाने भनेर भनेको रहेछ, उनीहरूले नै पैसा पनि तिरेको रहेछ, तर किन म माथि के–के आरोप लागेको छ, म छक्क परेको छु ।’

मेयर राजवंशीले ठगीको घटनामा राजेन्द्र अधिकारी नै मुख्य दोषी रहेको दाबी गरेका छन् । अजयलाई राखेर राजेन्द्रलाई खोजौं भनेर आफूले प्रयास गरेको उनले बताए ।

‘मैले त राजेन्द्रलाई समाएपछि सबैको हित हुन्छ भनेर लागेको हो, आफै गएर वैदेशिक रोजगार र सीआईबीमा पनि भेटेर कुरा गरेर आएको हो,’ उनले भने, ‘पुस २८ गते विभागमा उजुरी गरेका छौं, २९ गते नै विभागले पनि सीआईबीमा पत्र लेखेको छ र सीआईबीले समेत तुरुन्तै अनुसन्धान अघि बढाउने भनेको छ ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x