समाज

यस वर्ष ८ सय ७२ जनाले त्रिविमा कानुन पढ्न पाएनन्

सदिक्षा आचार्य |
माघ ७, २०७९ शनिबार ९:५ बजे

काठमाडौँ- गत मंसिर १७ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीएएलएलबी तहको प्रवेश परीक्षा सम्पन्‍न भयो । १ हजार ८ सय  परीक्षार्थीमध्ये एक हजार १५२ जना उत्तीर्ण थिए । र, यी उत्तीर्ण भएमध्ये ८ सय ७२ जनाले त्रिभुवन विश्वविद्यालयमा पढ्न पाउने छैनन् ।

त्रिविअन्तर्गतको २८० कोटा मध्ये १०५ जना ‘नेपाल ल क्याम्पस’, ७० जना पोखरास्थित ‘पृथ्वीनारायण क्याम्पस’ र त्रिविबाट सम्बन्धन प्राप्त ‘नेसनल ल कलेज’मा १०५ जना अध्ययन गर्न पाउँछन् । बीएएलएलबीमा १०५ जना मात्र पढाउने नेपाल ल क्याम्पसले तीन वर्षे एलएलबीमा भने ६०० जनालाई पढाइरहेको छ । 


पछिल्लो समय त्रिभुवन विश्वविद्यालय लगायत देशका अन्य विश्वविद्यालयहरूमा कानुन पढ्ने मोह बढ्दो छ । बीएएलएलबी, एलएलबी, एलएलएम एवम् विद्यावारिधि समेतको डिग्री लिन मिल्ने कानुन संकायमा विद्यार्थीहरूको ध्यान केन्द्रित हुँदै गएको देखिन्छ । आखिर किन कानुनमा विद्यार्थीको रुचि बढिरहेको छ ?

भर्खरै सम्पन्‍न त्रिविको बीएएलएलबी प्रवेश परीक्षामा ‘टप फाइभमा पर्न सफल उदयपुरकी प्रकृति थापा भन्छिन्, ‘मलाई सानैदेखि कानुन पढ्ने रहर थियो, त्यसैले कानुनको प्रवेश परीक्षा दिएकी थिएँ ।’ फलस्वरूप नाम पनि निकालेँ, खुसी छु ।’

‘नेपाल ल क्याम्पस’मा बीएएलएलबी प्रथम सेमेस्टर अध्ययन गरिरहेका आयुष न्यौपाने भने बुबाको संगतले कानुनप्रति आकर्षित भएको बताउँछन् । ‘सानैदेखि म समाचार हेर्ने गर्थें । मलाई देशमा के भइरहेको छ भन्‍ने कुराको  जानकारी लिने हुटहुटी हुन्थ्यो,’ उनले थपे, ‘बाबा कानुन व्यवसायी, उहाँसँगै अदालतमा जाँदा भित्रको माहौल, इज्जत, प्रतिष्ठाले मलाई तानेको थियो । समाजमा केही रुपान्तरण गर्ने उद्देश्यले कानुन पढ्न प्रेरित गरेको हो ।’

त्रिविका कानुन संकायका डिन कृष्णप्रसाद बस्याल भने बजारमा कानुन व्यवसायीको माग बढ्दो क्रममा रहेकाले विद्यार्थी पनि यो विषयतर्फ आकर्षित भएको बताउँछन् ।  वर्षेनि पढ्न पाउने कोटा कम भएकाले पनि यसमा चाप जस्तो देखिएको उनको ठम्याइ छ । 

‘अहिले जम्माजम्मी आठओटा क्याम्पसमा त्रिविमा कानुन पढाइ हुन्छ । बढ्दो आकर्षण अनुरुपको माग थेग्न सकेको अवस्था छैन । विश्वविद्यालयले आउँदो शैक्षिक सत्रदेखि कोटा पनि थप्ने विषयमा छलफल गरिरहेको छ,’ बस्यालको भनाइ छ ।

एकातिर चाहे जति विद्यार्थीले यो विषय पढ्न नपाएको अवस्था छ भने अर्कोतिर पढाउने ठाउँमा पनि यो विषयमा अध्यापकको चर्को अभाव छ । प्रत्येक वर्ष हजारौँ विद्यार्थी कानुनमा दीक्षित हुन्छन् । तर कानुन अध्यापन गराउने शिक्षक भने पर्याप्त नरहेको क्याम्पसहरूको गुनासो रहने गरेको छ । 

बस्याल विश्वविद्यालयले कानुन विषयका अध्यापकका विज्ञापन नखोलेकाले पनि माग अनुसारको पदमा शिक्षक अभाव रहेको बताउँछन् । यसै गरी सरकारी, गैरसरकारी संस्थामा पनि कानुनी व्यवसायीलाई अवसरहरू रहेको र पढाउनमा भन्दा यस्ता संस्थामा काम गरेबापत पैसा पनि राम्रै आउने हुँदा कानुनमा दीक्षित पढाउनतिर नलागेको हुन सक्ने बस्याल अनुमान गर्छन् । 

पछिल्लो समय कानुन पढ्न देशबाहिर जाने विद्यार्थीको संख्या पनि बढ्दो क्रममा रहेको छ । बीएएलएलबी जसोतसो देशमै पढ्न पाए पनि मास्टर्स पढ्न चाहने विद्यार्थीले लामै प्रक्रिया पूरा गर्नुपर्छ । कानुनमा मास्टर्स गर्न चाहनेले प्रवेश परीक्षा पास गर्नुपर्छ भने पास गरेपछि पनि मेरिटका आधारमा मात्र क्याम्पस छनौट गर्न पाउँछन् ।

त्रिविमा अध्ययन गरेर यहीँबाटै मास्टर्स गरुन् भन्‍ने विश्वविद्यालयका चाहना भए पनि अहिलेको संरचनाले नपुग्ने भएकाले त्यसो गर्न नसकेको कानुन संकायका डिन बस्याल बताउँछन् ।

देशैभरिका कतिपय क्याम्पसमा विद्यार्थीभन्दा प्राध्यापकको संख्या बढी भएको समाचार आउने गरेका छन् । तर कानुन भने यो खबरका बीचमा अपवाद बनेको छ । कानुन पढेपछि यहाँबाट पाउने अवसरहरूमा विविधता रहेकाले यो विषयमा आकर्षण बढेको बुझ्न गाह्रो छैन । 

‘कानुन न्यायसँग जोडिएको छ । ७५३ स्थानीय निकायमा न्यायिक समिति छ, त्यसमा आबद्ध भएर सामाजिक सेवा गर्न मिल्छ र साथैमा सर्भाइभ गर्ने आधार पनि हुन्छ । व्यक्तित्व विकास पनि हुन्छ । यस्ता अनेकन् स्कोप छन् जसले कानुनी विषयमा आकर्षण बढ्दो छ,’ बस्याल भन्छन् ।  

राजनीतिज्ञ, सामाजिक अभियन्ता, सबै सबैमा कानुनको बढ्दो आवश्यकता देखेर नै अहिलेको पुस्तामा कानुनको आकर्षण बढ्दै गएको धेरैको विश्लेषण छ । प्रभावकै कुरा गर्दा फिल्म वा सिरिजमा वकिलले बहस गरेको देखेर यो विषयतर्फ आकृष्ट हुने विद्यार्थीको संख्या पनि उल्लेख्य रहेको अनुमान गर्न सकिन्छ ।


Author

थप समाचार
x