समाज

मानसिक स्वास्थ्य समस्या जटिल बन्दै

इकागज |
माघ १७, २०७९ मंगलबार १८:५० बजे

मकवानपुर- मानसिक स्वास्थ्य समस्या जटिल बन्दै आएको तर राज्यले यसबारे उचित सम्बोधन नगरेको सरोकारवालाहरूले बताएका छन् ।

विश्वमा २० देखि २५ प्रतिशत मानिस मानसिक समस्याका कारण प्रभावित हुने गरेका छन्, तर उनीहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्शबारेमा चासो कम भएको गुनासो गरिएको छ ।


नेपालमा आव ०७७/०७८ मा ६ हजार ५ सय ३० जनाले मानसिक अस्वस्थ्यता कै कारण आत्महत्या हुने गरेको तथ्यांक बागमती प्रदेशको राजधानी हेटौंडामा सार्वजनिक गरिएको छ ।

बागमती प्रदेशमा यो आवमा १ हजार ३६ जनाले मानसिक अस्वस्थताकै कारण आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चालु आवको हालसम्म ४३० जनाले यही कारण आत्महत्या गरिसकेक छन् ।

नेपालमा मलेरिया, क्यान्सरभन्दा पनि मानसिक स्वास्थ्यको सवाल भयावह हुँदासमेत सरोकारवाला निकायबाट ठोस पहल नपुगेको बताइएको हो । जसले आत्महत्याको दर बढेको भएपनि यो सवाललाई गम्भीरता पूर्वक नलिएको गुनासो अधिकारकर्मीहरूले गरे ।

अधिकार आयोग बागमती प्रदेश कार्यालयको आयोजना तथा राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनको सहकार्यमा बागमती प्रदेशमा मानसिक स्वास्थ्य मानव अधिकारसम्बन्धी परामर्श बैठक आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले मानव अधिकार रक्षाका लागि मानसिक स्वास्थ्यको सवालमा प्रदेश सरकार गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमतीका निर्देशक महेश्वर श्रेष्ठले कोरोना महामारीका कारण मानिसको मानसिक स्वास्थ्यमा धेरै प्रभाव पारेको बताए ।

विशेषगरी महिलाहरू मानसिक समस्यामा पर्ने गरेको, मानसिक रोग, नि:शुल्क वितरण सूचिका ‍औषधि खरिदमा स्वास्थ्य निर्दैशनालय बागमती प्रदेशले ४९ लाख ५० हजार रकम बजेट विनियोजन गरेको श्रेष्ठले बताए । मानिसक स्वास्थ्य समस्याको रोगभारको अनुपातमा संचालित कार्यक्रमहरू र विनियोजित हुने बजेट न्यून भएको र लक्षित वर्ग तथा समुदायलाइ पूर्ण रूपमा समेट्न नसकेको निर्देशक श्रेष्ठकाे भनाइ छ ।

मदिरा र लागू पदार्थको दुर्व्यसनलाई मानसिक स्वास्थ्यको कोणबाट बुझ्न र बुझाउन कठिन रहेको बताउँदै बागमती प्रदेशका ११९ वटै स्थानीय तहका ५१९ वटा विद्यालयहरूमा विद्यालय नर्स कार्यक्रम मार्फत मानसिक समस्या समाधानका लागि सेवा प्रवाह गरिरहेको उनले बताए ।

कार्यक्रममा कोशिशका निर्देशक मातृकाप्रसाद देवकोटाले चिकित्सक भाषामा मानसिक रोग शब्दको उल्लेख गर्ने गरेकोमा सो को सट्टा मानसिक सुस्वास्थ्य हुनुपर्ने बताए । आत्महत्या रोकथामका लागि बहुपक्षीय संयन्त्र गठन हुनुपर्ने देवकोटाले उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञप्रसाद अधिकारीले मानसिक स्वास्थ्यकै कारण मानव अधिकार प्रत्याभूति पूर्ण रूपमा नभएको औंल्याउँदै, प्रदेश तथा संघीय सरकारले यो समस्याको सम्बोधन गर्नुपर्ने बताए ।


Author

थप समाचार
x