समाज

ट्राफिक प्रहरीको आतंक रोक्‍न तीन यातायात संगठनको सरकारसँग माग

इकागज |
माघ १८, २०७९ बुधबार ८:५८ बजे

काठमाडौँ- ट्राफिक प्रहरीले आतंक मच्चाएको भन्दै तीन यातायात संगठनले सरकारसँग विभिन्‍न माग राखेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर संघ, नेकपा (एमाले) निकट नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर संघले मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर माग राखेका हुन् ।

यातायात क्षेत्रमा कार्यरत मजदुर संघ सङ्गठनले यातायात क्षेत्रको सुधारका लागि ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न सरकारसँग माग गरेका छन् ।


भेटमा संघ सङ्गठनले सार्वजनिक यातायात क्षेत्रको व्यवस्थापन, सञ्चालन, परिचालन र यात्रुहरुको गुणस्तरीय, भरपर्दो र सुरक्षित सेवाका लागि हाल रहेको सरकारी संरचना यातायात व्यवस्था विभाग, यातायात कार्यालय खारेज गरी यातायात मन्त्रालय छुट्टै निर्माण गरी श्रमिक र सरोकारवालाको प्रतिनिधित्व रहने गरी अधिकार सम्पन्न ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न माग गरेका हुन् ।

भेटमा सिमानामा नेपाली चालकले भोग्नुपरेका समस्या समाधान गर्नुपर्ने, श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गर्नुपर्ने, यातायात क्षेत्रलाई मर्यादित बनाउन, श्रमिक र व्यवसायीलाई अनुशासित बनाउन, यात्रु तथा पैदलयात्रुलाई जिम्मेवार बनाउन सडक सुरक्षा काउन्सिल निर्माण गर्न माग गरेका छन् ।

ऐन कानुन कार्यान्वयन गरी ट्राफिक प्रहरीले लिने चर्को शुल्क खारेज गर्नुपर्ने, चालकको निलम्बन गरिएका लाइसेन्स फुकुवा गर्नुपर्ने, सडकमा यातायात श्रमिकलाई ट्राफिकले दिएको दुःख अन्त्य हुनुपर्ने, पिक एण्ड ड्रपको व्यवस्था, पूर्वाधार विकास र पार्किङ सुविधा हुनुपर्ने, काठमाडौँ भित्रिने र बाहिरीने नाकामा मिनि बसपार्क निर्माण गर्नसमेत माग गरेको छ ।

प्रदूषण जाँचमा देखिएका कमीकमजोरी हटाउनुपर्ने, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को (२), दफा १६२, १६३, १६४ लगायत दफालाई संशोधन गर्नुपर्ने, सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को परिच्छेद ४ को दफा २० (६) लाई संशोधन गरी ठूलो सवारीसाधनका लागि साना सवारीको लाइसेन्स लिएको दुई वर्ष भएको हुनुपर्ने प्रावधान हटाउँदै ठूला सवारी चालक अनुमतिपत्र पाउने सिधैँ व्यवस्था गर्नुपर्ने बताएको छ ।

भेटमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले आफू मुलुकको यातायात क्षेत्रको सुधारका लागि मन्त्री भएको बताउँदै यातायात क्षेत्रमा देखिएका समस्या समाधानमा प्रतिबद्ध रहेको बताए । 

माग पूरा नभए १५ दिनभित्र संघर्षका कार्यक्रम घोषणा गर्दै आन्दोलन चर्काउने अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले जानकारी दिए ।


Author

थप समाचार
x