समाज

लोक सेवा आयोगको विज्ञापनमा पर्न छाड्यो आवेदन

इकागज |
माघ १९, २०७९ बिहीबार १६:३० बजे

काठमाडौं– पछिल्लोसमय लोकसेवा आयोगले निकालेको परीक्षाको सूचनामा आवेदन दिनेको खडेरी लागेको छ । गएको पुसमा आयोगले निकालेको सूचनामा दरखास्त नपरेको हो ।

आयोगले अटोरिनोल्यारिङगोलोजी, जनरल हेल्थ सर्भिसेज, र जनरल प्याथोलोजीका विषयहरूमा आवेदन खुला गरेको थियो । सो समूहमा आवेन परेन ।


दरखास्त नपरेपछि माग गरेको पद रिक्त भयो । ‘अटोरिनोल्यारिङगोलोजी’मा एघारौँ तहको ‘इएनटी सर्जन’ प्रमुख कन्सल्टेन्टमा आवेदन खुला गरिएको थियो । जसमा दुई जनाको माग गरिएकोमा कुनै पनि उम्मेदवार उपस्थित भएनन् ।  

त्यस्तै ‘जनरल हेल्थ सर्भिसेज’, ‘जहेस’मा ‘प्रमुख मेडिकल सुपरिटेण्डेन्ट’ पदका लागि भएको लोक सेवा आयोगको परीक्षाको नतिजा यही माघ १२ मा प्रकाशन भयो । यहाँ पनि कुनै आवेदन नपरेको आयोगले जनाएको छ । यसमा एक जना माग गरिएको थियो । लिखित परीक्षामा पनि कोही उपस्थित नभएका हुन् । उक्त विज्ञापनमा कुनै पनि दरखास्त फारम नपरेको आयोगले गोरखापत्र दैनिकमा निकालेको सूचनामा उल्लेख छ । 

त्यसैगरी ‘जनरल प्याथोलोजी’मा ‘प्रमुख कन्सल्टेन्ट प्याथोलोजिष्ट’मा गत माग १० गते निकालिएको नतिजा अनुसार शून्य देखिएको छ । उक्त विज्ञापनमा समेत कुनै पनि दरखास्त फारम नपरेको उल्लेख गरिएको छ । यो पनि एघारौँ तहको विज्ञापन हो । 

के भन्छ स्वास्थ्य मन्त्रालय ? 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संजयकुमार ठाकुरले तलब, सुविधा आदि कुराहरूले गर्दा आवेदन नपरेको हुन सक्ने बताए । उनका अनुसार केही सरकारी सेवामा तलब सुविधा राम्रो भएपनि केहीमा भने कम छ । स्वास्थ्य सेवामा कार्यरत हुनलाई पढेर ‘पासआउट’ हुन पनि निकै महङ्गो हुने र सोही अनुसारको तलबसुविधा नपाइने कुराले पनि आवेदन नपरेको हुनसक्ने उनको आँकलन छ । ‘स्वास्थ्य सेवामा पनि ठ्याक्कै कुन विधा हो ? कुन पदका लागि आवेदन परेको हो ? सबै कुरा हेरेर हुन्छ ।’ उनले भने ।
 


Author

थप समाचार
x