समाज

स्वस्थानीका व्रतालुले गरे चाँगुनारायण मन्दिरमा विशेष पूजाअर्चना

इकागज |
माघ १९, २०७९ बिहिवार १६:४७ बजे

काठमाडौँ- माधवनारायण स्वस्थानीका व्रतालुहरूले बिहीबार भक्तपुरको चाँगुनारायण मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् ।

उनीहरूले चाँगुनारायणमुनिको जंगलमा कृत्रिम पोखरी बनाएर स्नान गरेपछि चाँगुनारायण मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन् । १ महिने स्वास्थानी व्रतका क्रममा माधवनारायणलाई विभिन्न स्थानको भ्रमण गराउने प्रचलनअनुरूप व्रतालुहरू बुधबार साँझ नै चाँगुनारायण पुगेका थिए । व्रतालुहरू खाली खुट्टा साँखुदेखि हिँडेर चाँगुनारायण पुगेका थिए ।


व्रतालुहरू स्वस्थानी सुरु भएदेखि नै माधव नारायण ’परदेश’को यात्रामा थिए । चाँगुनारायणको दर्शन गरेपछि यस वर्षको माधवनारायणको परदेशको यात्रा सकिएको छ । माधवनारायण भगवान विष्णुको अवतार भएको र लिच्छवीकालदेखि नै व्रतालुले विभिन्न क्षेत्रको भ्रमण गराउँदै आएको संस्कृतिविद्हरूको भनाइ छ ।

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार एक महिनासम्म विधिपूर्वक स्वस्थानी माताको पूजा आराधना गरे श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । स्वस्थानीका व्रतालुले माधवनारायणको दर्शन नगरे व्रत पूरा नहुने र फल प्राप्त नहुने धार्मिक विश्वाससमेत छ ।

स्वस्थानीका व्रतालु महिलाहरूले रातो र माधवनारायणका पुरुष व्रतालुले सेतो वस्त्र मात्र लगाउनुपर्ने परम्परा छ ।


Author

थप समाचार
x