समाज

हिरासतबाट फरार थुनुवामध्ये ४ जना पक्राउ, इन्चार्ज गणमा पठाइए

सुभाष कर्ण |
माघ १९, २०७९ बिहीबार २०:३२ बजे

जनकपुरधाम- धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको भित्ता फोडेर फरार भएका ६ जना थुनुवामध्ये प्रहरीले सर्च अपरेशनका क्रममा ४ जनालाई पक्राउ गर्न सफल भएको छ ।

फरार थुनुवामध्ये पक्राउ पर्नेहरूमा मिथिला नगरपालिका वडा नम्बर–२ का २५ वर्षीय हरिदिप सिंह, २५ वर्षीय अमित मण्डल, मिथिला नगरपालिका वडा नम्बर–६ का २८ वर्षीय रोशनकुमार महतो र क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने ३५ वर्षीय विनोदकुमार शर्मा रहेका जनाइएको छ ।


हातहतियार तथा खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ, अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका अमितलाई मंगलबार दिउँसो, हरिदिपलाई मंगलबार राति र लागूऔषध मुद्दाका शर्मालाई बुधबार राति पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् । विनोदलाई मथिला नगरपालिका–१० लालगढको रातो खोलाको बगर छेउमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

गत पुस २८ गते लागूऔषधसहित पक्राउ परेका शर्माले नै हिरासत फोड्ने मुख्य योजनाकार रहेको डीएसपी क्षेत्रीले बताए । शर्मा १८ दिनदेखि हिरासतमा थिए । उनले नै भित्ता फोड्न सुरु गरेपछि अन्य थुनुवाको सहयोग गरी फरार भएका थिए ।

गत आइतबार बिहान इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको भित्ता फोडेर फरार भएका विभिन्न मुद्दाका ६ जना फरार मध्ये अहिलेसम्म ४ जनालाई प्रहरीले पक्राउ परिसकेको छ भने अन्य दुई जनाको समेत खोजी कार्य तीव्र रहेको प्रवक्ता क्षेत्रीले बताए ।

इन्चार्ज यादवलाई ढल्केवरस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा तानिएको छ भने उनको ठाउँमा इन्सपेक्टर दिपक कार्कीलाई पठाइएको छ । यादवलाई स्थानीय नागरिक समाजले विदाई गरेको छ । थुनुवा फरार भएपछि विवादित बनेका यादव जिल्लामा तानिएपछि नागरिक समाजले यहाँ बस्न नहुने भन्दै विदाई गरेका हुन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x