यातायात मजदुरले संयुक्त रूपमा आन्दोलन गर्ने

काठमाडौं- सार्वजनिक यातायात सुधारका लागि भन्दै यातायात श्रमिक सम्बद्ध तीन वटा संगठनहरूले संयुक्त रूपमा आन्दोलन गर्ने तयार गरेका छन् ।
नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बिहीबार संयुक्त रूपमा काठमाडौंको बागबजारमा पत्रकार सम्मेलन गर्दै नेपालको यातायात क्षेत्र मन्त्रालयविहीन र भद्रगोल बनेको र ऐन पालना गराउने ट्राफिक प्रहरी आफैँ ऐनविपरीत चालकहरूको लाइसेन्स निलम्बन गरिरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
उनीहरूले सवारीसाधनको २० वर्षे उमेरहद राखेर मोटर बिक्रेता विदेशी कम्पनीलाई खुसी पर्दै कमिसनको खेलमा लागेको आरोप लगाएका छन् । भारतीय ढुवानीका साधनहरूले नेपालका विभिन्न सहरहरूमा सिधैँ ढुवानी गरेपछि नेपालका ढुवानी गर्ने साधनहरू विस्थापित हुँदै जाँदा पनि सरकार मौन रहेको, प्रयोजनविपरीतका सवारीसाधनहरूले यात्रु ओसारपसार गरिरहँदा पनि सरकार मौन रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।
आफूहरूको मागका विषयमा गत माघ १७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दश बुँदे मागपत्र पेस गर्दै १५ दिने अल्टिमेटम दिएको र फागुन २ गतेसम्म आफूहरूको माग पूरा नभए निर्णायक आन्दोलन गर्ने उनीहरूको भनाइ छ । ट्रेड युनियन संघहरू, यातायात स्वरोजगार तथा व्यवसायीहरू आफ्ना सम्पूर्ण सेवाहरू रोकेर, सडकमा प्रदर्शन गरेर आन्दोलन गर्ने यातायात श्रमिक संगठनले जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया