समाज

पूर्वप्रधानन्यायाधीश कार्की भन्छिन्- सरकारमा सबै व्यापारी छन्, शवमाथि पनि व्यापार हुन्छ

इकागज |
फागुन ५, २०७९ शुक्रबार १०:५६ बजे

फाइल तस्बिर

काठमाडौँ - पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छन् । शुक्रबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै  पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताइन् । 

उनले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरूले छोराछोरीहरूलाई अध्ययन गराउन नसकेको बताइन् । सरकारले दिइरहेको छात्रवृत्ती र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै उनले आपत्ति जनाइन् । आर्यघाटमा पुर्‍याइएको शवमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको उनको भनाइ छ । ‘अहिले शिक्षा, स्वास्थ्य व्यापारलगायत हरेक कुरामा व्यापार छ,' उनले भनिन्, 'आर्यघाटमा जल्न त महँगो भइसक्यो । कसले डोनेसन देला र दाहसंस्कार होला, लास जल्ला भन्ने भइसक्यो । समाज यो अवस्थामा पुगिसकेको छ ।’ 


पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने बताइन् । उनले नागरिकलाई गास, वास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको भन्दै राजनीतिक दलहरू एउटा कुर्सीको भिडेर बसिरहेको बताइन् ।
 


Author

थप समाचार
x