समाज

पशुपतिमा बिहान ३ बजेदेखि नै चारै ढोका खुल्ला

इकागज |
फागुन ६, २०७९ शनिबार ७:५६ बजे

काठमाडौँ- महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

जयबागेश्वरीबाट लाममा लागेको आधा घण्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घण्टासम्ममा दर्शन गर्न सकिने उनले जानकारी दिए । पशुपति क्षेत्रमा बिहानदेखि हजारौँ भक्तजनको भीड देखिन्छ ।


दशनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायत पनि व्यवस्थापन गरिएको छ । पशुपतिनाथसँगै राजधानी एवं त्यसका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।

महाशिवरात्रि पशुपतिमा बिहानदेखिनै भक्तजनको घुइँचो
महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत मुलुकका सबै शिवालय मन्दिरमा बिहान सबेरैदेखि नै भक्तजनको भीड लागेको छ । आराध्यदेव भगवान् पशुपति नाथको दर्शन गर्न स्वदेशबाट मात्र नभई छिमेकी मुलुक भारतबाट पनि ठूलो सङ्ख्यामा तीर्थालुको आगमन भएको छ ।
 
महाशिवरात्रि भव्यरुपमा मनाउन पशुपति क्षेत्र विकास समितिका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
 
यस पटक पनि ठूलो सङ्ख्यामा योगी, साधु, सन्त, महन्थसहित बाबाको आवागमन भएको छ । त्यो सङ्ख्या तीन हजारभन्दा बढी रहेको छ । तीर्थयात्रुको सुविधाका लागि विभिन्न क्षेत्रबाट लाइनको व्यवस्था गरिएको छ । हिन्दू धर्ममा विश्वास गर्ने तथा पशुपतिनाथप्रति आस्था राख्ने भारत, इण्डोनेसिया, मलेसियालगायतका मुलुकबाट पनि भक्तजन आउने गर्दछन् । महाशिवरात्रिका अवसरमा भारतका गोवर्द्धन मठपुरीका पीठाधिश्वर शङ्कराचार्य निश्चलानन्द सरस्वती पनि यस पटक नेपाल आएका छन् ।


Author

थप समाचार
x