समाज

डीआइजी ज्ञवालीको स्पष्टोक्ति - नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक छैन, अनावश्यक भ्रम फैलाइयो

इकागज |
फागुन १५, २०७९ सोमबार १०:५९ बजे

काठमाडौँ - प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) श्यामलाल ज्ञवालीले नागरिकताको जन्ममिति र शैक्षिक प्रमाणपत्र एउटै रहेको स्पष्ट पारेका छन् । नागरिकतामा उमेर सच्याएको तथ्य सार्वजनिक भएसँगै डीआईजी अशोक सिंहले राजीनामा दिएपछि अन्य केही डीआईजीका समेत नागरिकता सच्चाइएको विवरण आइरहेका बेला डिआइजी ज्ञवालीले भने नागरिकताको जन्ममिति र शैक्षिक प्रमाणपत्रको जन्ममिति एउटै रहेको स्ष्ट पारेका हुन् । 

‘प्रहरी सेवामा प्रवेश गर्दा नागरिकताको जन्ममिति र शैक्षिक प्रमाणपत्रमा फरक जन्ममिति छैन,’ उनले भने,’ विद्यालयको प्रमाणपत्रका आधारमा नागरिकता बनाइएको छ । फरक जन्ममिति लिएर कुनै पनि सरकारी निकायमा आफ्नो प्रमाणपत्र पेश भएको छैन ।‘


नागरिकताको प्रमाणपत्रमा  उमेर वर्ष उल्लेख गरिएको प्रहरी नायव महानिरीक्षक ज्ञवालीले बताए । उनले अगाडि थपे, ‘ जुन बेला नागरिकता दिइन्थ्यो त्यस समयमा उमेरको वर्ष मात्र उल्लेख गरेर नेपाली कागजमा नागरिकता दिइन्थ्यो । तत्कालीन राज्यव्यवस्थाले दिने नै त्यही खालको नागरिकता थियो ।‘

नागरिकता जारी गरेको मितिलाई लिएर विषयलाई मुद्दा बनाएको उनको भनाइ छ । भ्रामक सूचना फैलाएर प्रहरी संगठन र कर्मचारीप्रति नराम्रो छाप पार्न खोजिएको उनले बताए ।

नागरिकता लिने समयमा परीक्षा नियन्त्रण कार्यालयमा भर्न लगिएको फारममा उक्त मिति उल्लेख गरिएको ज्ञवालीको भनाइ छ । उनी भन्छन्,’ मेरो नागरिकता भन्दा पनि विद्यालयले दिने प्रमाणपत्र जेठो छ । प्रमाणपत्रमा वर्षमात्र उल्लेख गरिएको हुन्छ । प्रमाणपत्रमा जारी मिति लेखिएको हुन्छ र त्यसैलाई अहिले जन्ममिति मानिएको मानेर गलत सूचना प्रवाह भइरहेको छ ।‘

गलत सूचना प्रवाह गरेर आम नागरिकमा भ्रम फैलाउन खोजेको ज्ञवालीले आरोप लगाए । सत्यतथ्य निष्पक्ष छानबिन गरेमा राज्यलाई सधैँ सहयोग गर्ने उनको भनाइ छ । 'बिना प्रमाण र तथ्य नबुझी बाहिर भ्रम फैलाउन हुँदैन,’ आफ्नो बारेमा आएको कुरालाई लिएर उनले भने ।

प्रहरी कर्मचारीको नियमावलीमा ​'प्रहरी सेवामा रहेका कुनै पनि अधिकारीको ‘प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्ममितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिको आधारमा' हुने उल्लेख छ ।

'तर,  यसरी छुट्टाछुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको अन्तर एक वर्षभन्दा बढी भएमा वर्षमात्र उल्लेख भएको प्रमाणपत्रको आधारमा उपखण्ड (ख) जन्ममिति कायम गरिनेछ,' नियमालीमा भनिएको छ । 

 


Author

थप समाचार
x