समाज

पोखरा-१३ को कृषि मेला : स्थानीय उत्पादनको प्रवर्द्धन

इकागज |
फागुन १८, २०७९ बिहीबार ११:५४ बजे

काठमाडौँ - श्रीधर बराल वडा १३ को कार्यालयमा भेटिए । उनी वडामा सिफारिस वा कुनै कामले आएका थिएनन् ।  उनी हातमा झोला, साना-साना बोराका पोका पनि छेउमा राखेर उभिएका थिए ।

लामो यात्रामा निस्केर थाके जस्ता देखिन्थे उनी । शरीर र झोलाले विश्राम खोजेको जस्तो देखिन्थ्यो । 


झोलामा आफैँले उमारेको अदुवा, आलुसहित अन्य तरकारी थियो । बुधबार पोखरा महानगरपालिका १३ ले गरेको कृषि प्रदर्शनी मेलामा आफ्नो पौरख देखाउन र सुनाउन पुगेका थिए श्रीधर ।

बरालले आफ्नै बारीमा मेहनत र पसिनाले उब्जाएका अन्नबाली तथा तरकारी लगेका थिए । ‘महिनौं लगाएर फलाएको तरकारी सबैलाई देखाउन पाउँदा खुसी लागेको छ,’ तरकारी हेर्नेलाई भन्दै थिए ।

महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरिया कृषक बरालको अदुवा र आलु राम्रोसँग नियाले र प्रशन्न देखिए । ५ किलो किने । ‘यो अदुवा एकदमै राम्रो छ । फलाउँदा रासायनिक लगाएको छैन । यहाँ जस्तो अदुवा अरुतिर किनेर पनि पाइँदैन,’ उनले भने ।

बराल घामपानी कृषि कर्ममा तल्लीन छन् । ५ वर्षदेखि व्यावसायिक अदुवा खेती गर्दै आएका छन् । उनले उत्पादन गरेको ‘कपुरकोट १’ जातको अदुवाले राम्रो चर्चा पाउँदा उनी छेउमा बसेर सुनिरहेका थिए । ‘३/४ किलो वर्षमा उत्पादन हुन्छ । कहिले ३ सय रुपैयाँ किलोसम्म बेच्छु अहिले सिजन भएर सय रुपैयाँ किलो जान्छ,’ उनले अगाडि थपे ।

वडाभित्रका किसानलाई लक्ष्य गरी गरिएको कृषि मेलामा विभिन्न १० वटा स्टल राखिएको थियो । फलफूल, पुष्प, खाद्यान्नसम्मका उत्पादन प्रदर्शन तथा बिक्री वितरणमा राखिएको थियो ।

स्थानीय कृषक वडा कार्यालयमै आफ्नो उत्पादन प्रदर्शनमात्रै नभएर बिक्री वितरण गर्न पाउँदा दङ्ग देखिन्थे । मेलामा उत्पादन प्रदर्शनसँगै रैथाने बाली परिकार, माटो परीक्षण, बाली उपचार शिविरलगायत पनि थियो ।

किसानी गरे पनि वैज्ञानिक रुपमा उत्पादन गर्नुपर्ने सामग्रीको विषयमा जानकारी नभएको कृषक ब्रिजकुमार चौधरी बताउँछन् । समय-समयमा स्थानीय तहले कृषिसम्बन्धी तालिम दिएमा थप कृषि पेशामा लाग्न हौसला मिल्ने उनले बताए ।

‘यस्ता कृषि मेलाले उत्पादन गरेका सामग्री देखाउन र बिक्री गर्न पाइन्छ,’ उनले भने,’ बिचौलियाबाट टाढा हुन पाइन्छ । सिधैँ ग्राहकहरूसँग परिचय भएको छ । यस्तो मेला बेलाबेला गरिराखे हामीलाई पनि राम्रो हुन्थ्यो ।’

महानगर कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले वडास्तरमा हुने साना कृषि मेलाले किसानलाई ठूलो सहयोग पुग्ने बताए । उनले उत्पादन बढाउनुका साथै बाली तथा बिउविजनबारे जानकारी दिन पनि मेलाले सहयोग गर्ने बताए ।

‘कृषकले उत्पादन गरेको सामग्री ब्रान्डिङ हुन्छ । पोखरा फेरि आफैँ  भौगोलिक विविधता बोकेको ठाउँ हो । भौगोलिक अवस्था समान छैन । कहाँ कस्तो बाली लगाउँदा राम्रो हुन्छ भन्ने पनि मेलाले सिकाउँछ,’ कडरियाले भन्छन, ‘ हाम्रो बाँच्ने आधार नै कृषि भएकाले सबै कृषिमा गम्भीर हुनुपर्छ ।’

कडरियाले सस्तो पाउने नाममा पछिल्लो समय बाहिरबाट विषादी भित्र्याउने काम भएकोमा दुखेसो पोखे । ‘सस्तो पाउने नाममा फोहोरको डंगुर भित्र्याइरहेका छौं, विष सेवन गरिरहेका छौ । स्थानीयले कम्पोष्ट मल बनाएर उत्पादन बढाउन सक्छन्,’ उनले भने । महानगरले चाँडै कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको छ ।

पोखरा १३ का वडा अध्यक्ष किरण बराल कृषि प्रधान देशमा कृषिको महत्व बुझाउन र किसानसँग नजिक हुन पनि मेला आयोजना गरिएको बताउँछन् । ‘नेपाललाई कृषि प्रधान देश भनिरहेका छौं । तर, हाम्रो खाद्यान्न, तरकारी, फलफूल सबै आयातित छ । हामीले हाम्रै प्रोडक्ट पनि मार्केटिङ गर्न सकिराखेका छैनौं,’ उनले भने, ‘लोकल उत्पादनलाई मार्केटिङ गर्न पनि मेला आवश्यक हुने रहेछ ।’


Author

थप समाचार
x