समाज

जनकपुरमा मिटरब्याजीविरुद्ध विरोध प्रदर्शन

इकागज |
फागुन २५, २०७९ बिहीबार २०:४८ बजे

काठमाडौँ- मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र वृहत् नागरिक आन्दोलनले मिटरब्याजविरुद्ध जनकपुरमा प्रदर्शन आयोजना गरेका छन् ।

बिहीबार जनकपुरस्थित मुख्यमन्त्री कार्यालय अघि भएको प्रदर्शनमा बोल्दै संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले संघर्ष समितिको आन्दोलनपछि साहु-महाजनले फर्जी कागजातको भरमा अदालतमार्फत किसानलाई भूमिहीन बनाइरहेको आरोप लगाए ।


'अहिले मिटरब्याजका सबै फर्जी तमसुकमार्फत किसानको भूमि हडप्ने र उनीहरूलाई आफ्नै भूमिबाट बेदखल गर्ने प्रकृया तीव्र पारिएको छ,' कुशवाहाले भने, 'बदनियतपूर्वक किसानको भूमि खोस्ने कार्य भए संघर्ष समिति जस्तोसुकै आन्दोलनमा जान बाध्य हुनेछ ।'

यस्तै, कार्यक्रममा बोल्दै संघर्ष समितिका सप्तरी अध्यक्ष बिन्दु शाहले मिटरब्याजकै कारण आफू भूमिहीन भएको दुखेसो पोखे । 'अहिले मसँग कुनै जग्गा छैन र म पूर्ण रूपले भूमिहीन भएको छु । यो मेरो व्यक्तिगत मात्रै समस्या होइन, अहिले आन्दोलन अघि बढेपछि किसानले धमाधम भूमि गुमाइरहेका छन्, सहज रूपले ऋण पाउन सकेका छैनन् र पूर्ण रूपले राज्यविहीनताको स्थिति भोगिरहेका छन्,' उनले भने । 

यसअघि सरकारले संघर्ष समितिसँग गरेको ५ बुँदे सहमति कार्यान्वयन नगरेर किसानलाई धोका दिएको प्रवक्ता निर्ग नवीनले बताए । कार्यक्रममा सामाजिक अभियन्ता डा. कृष्ण पौडेलले हाल किसान र मजदुरले बहुआयामिक समस्या सामना गरिरहेको बताएका थिए ।


Author

थप समाचार
x