समाज

मध्यपहाडी लोकमार्ग : पोखरा १६ का स्थानीय आन्दोलित

इकागज |
चैत ८, २०७९ बुधबार १६:३३ बजे

पोखरा । सरकारले मध्यपहाडी क्षेत्रलाई सडक सञ्जालले जोड्ने लक्ष्यसहित सुरु गरेको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको लामाचौर अर्मलाकोट खण्ड विवादित बनेको छ । पोखरा १६ र १९ नम्बर वडाका स्थानीयले सो खण्डको विकल्प खोज्न माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर–१६ का निवर्तमान वडाध्यक्ष जीवनप्रसाद आचार्यले उक्त क्षेत्रमा  मुआब्जासमेत नलिई बाटो निर्माण गर्न सिफारिस गरेको भेटेपछि स्थानीय आन्दोलित बनेका हुन् । स्थानिय विगत एक हप्तादेखि आन्दोलनमा छन् । नि. वडाध्यक्ष आचार्यले स्थानीयको सहमति नलिई बाटो निर्माणको स्वीकृति दिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । 


२०७७ सालमा पुन रेखांकन भएको सो खण्डमा पोखरा–१६ का तत्कालीन वडाध्यक्ष आचार्यले स्थानीय र वडाको तर्फबाट सो रखाकंनका लागि आफूहरुको सहमति रहेको भन्दै पत्र लेखेको भेटिएको छ । सो पत्रमा भनिएको छ, ‘यस खण्डको रेखांकन परिवर्तन गरी महानगरको उत्तरी क्षेत्र अन्तर्गत पोखरा–२० को मौजा–आँटीघर, वडा नम्बर–१६ को अर्मलाकोट–कालीखोला–अमला बिसाउनी हुँदै याम्दी जोडिने गरी निर्माण गरेमा महानगरपालिकाको उत्तरी र कास्की जिल्लाको पहाडी ऐतिहासिक, पर्यटकीय गाउँबस्तीहरु प्रत्यक्ष लाभान्वित हुने र सडकको प्रतिफलमा बढोत्तरी हुने देखिन्छ । साथै हाल यो क्षेत्रमा जग्गा प्राप्त गर्न तथा घर टहरा हटाउन मुआब्जा तथा क्षेतिपूर्ति नेपाल सरकारले उपलब्ध गराउन नपर्नेगरी सहमति दिन सकिने व्यहोरा जानकारी गराईन्छ ।’ 

सोही पत्रका आधारमा त्यस क्षेत्रका करिब २ सय ४२ घर परिवार विस्थापित हुने भन्दै संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना पिडित संघर्ष समितिका अध्यक्ष गोविन्दबहादुर बस्नेतले वडा र महानगरले स्थानियसँग छलफल गरेर सहमति लिनुको सट्टा स्थानियलाई गुमराहमा राखेर आफूखुशी पत्र लेखेको आरोप लगाए । 

उक्त सडक खण्डले चमेरेगुफालगायतका संवेदनशील क्षेत्रलाईसमेत खलबलाउने देखिएको उनले बताए । उक्त खण्डमा करिब २ सय ४२ घर परिवार प्रभावित हुने दाबी गरिएको उनले बताए । उनीहरु एक सातादेखि १० बजेदेखि १२ बजेसम्म दैनिक दुई घण्टा वडा कार्यालय पोखरा–१६ अगाडि भेला भएर प्रदर्शन गरिरहेका छन् । बुधबारदेखि भने पूर्वाह्न १० बजेदेखि दिउँसो १ः३० बजेसम्म दैनिक साढे तीन घण्टा धर्ना सुरु गरेको संघर्ष समितिका संयोजक बस्नेतले जानकारी दिए । 

निवर्तमान वडा सदस्य विष्णु नेपालीले नि. वडाध्यक्ष आचार्यले कुनै सल्लाह नै नगरी कार्य अघि बढाएको बताए । आफूहरु नै वडा समितिमा हुँदा वडाध्यक्षले कुनै जानकारी नै नदिई पत्र लेखेको उनले बताईन् । उनी स्थानियको सहमति छ भनेर पत्र लेख्ने तत्कालीन वडाध्यक्ष जीवनप्रसाद आचार्यकै कार्यकालका वडा सदस्य हुन्। ‘विकास भन्दा बिनास बोकेर आएपछि विरोधमा उत्रिएकी हुँ । बस्ती उठाउनेगरी बाटो निर्माण गर्न सहमति दिनु आचार्यको गल्ती हो, यसलाई सच्याईनुपर्छ,’ उनले भनिन् । 

तत्कालीन वडाध्यक्ष आचार्यको बदमासीका कारण आफूहरु सडकमा आएको संघर्ष समितिका सचिव सन्दिप थापाले बताए । ‘त्यसरी त हामी सुकुम्बासी हुने भयौं । हामीलाई सुकुम्बासी बनाउने बाटो हामीलाई चाहिंदैन । हामी कुनैपनि हालतमा बनाउन दिदैनौं,’ उनले भने । पोखरा १६ मा महेन्द्र गुफा, चमेरे गुफा, विद्यालय लगायत संरचना पर्छन् । त्यस क्षेत्रबाट लोकमार्ग जाँदा आफूहरुको घर जग्गा मात्र मासिने नभई ती संरचना पनि नासिने भएकाले त्यसको विकल्प खोज्नका लागि आन्दोलन गरिरहेको उनले बताए । 

पोखरा–१६ का वर्तमान वडाध्यक्ष अमृतप्रसाद तिमिल्सिनापनि तत्कालीन वडाध्यक्ष आचार्यले स्थानियसँग छलफल नगरी बाटो निर्माण गर्न सहमति दिनु गल्ती भएको बताउँछन् । यसमा पुनरावलोकन हुनुपर्ने उनको भनाइ छ । ‘यसका लागि मैले प्रयास गरिरहेको छु । सायद एक, दुई दिनमा सर्वदलीय बैठक बस्ला,’ उनले भने । आफूहरुले भन्दैमा तत्काल निर्णय नबदलिने भन्दै उनले अब सबैको सहमति र महानगरको सिफारिसमा संघ सरकारको मन्त्रिपरिषद बैठकले मात्र निकास दिन सक्ने बताए । जनताको समस्या समाधान गर्न आफू लागिपरिरहेको उनको भनाई छ । 

निवर्तमान वडाध्यक्ष जीवनप्रसाद आचार्यले फेसबुक स्टाटसमार्फत आयोजनाले आग्रह गरेपछि सिफारिस दिएको स्पष्टीकरण दिएका छन् । आयोजनाले भनेअनुसार ​३० मिटर मापदण्ड लागु गर्न आफूपनि सहमत नभएको उनको भनाई छ । ‘जहाँसम्म मैले सिफारिस गरेको सन्दर्भ छ । आयोजनाले सबै निकायले सिफारिस गरिसके अब तपाईले पनि पत्र दिनुपर्‍यो भनेपछि हामीले पत्र दिएका हाैँ । हामीलाई ८ मिटर पिचसहित दायाँबायाँ एकएक मिटर गरी १० मिटरको सडक बन्छ भनिएको हो । अहिले चार लेनको बनाउने गरी जनतालाई घरबारविहीन बनाउने कुरा कदापि हुन सक्दैन् । अन्त्यमा जनताको न्याय र जायज माग प्रति र यसको कालिखोलादेखिको रुट परिवर्तनको लागि म जनतासँगै जहाँ पनि जान तयार रहेको धारणा सार्वजनिक गर्न चाहान्छु,’ स्टाटसमा भनिएको छ । 


Author

थप समाचार
x