विश्व क्षयरोगविरुद्धको दिवस
धूमपानको लतमा किशोरकिशोरी, चियासँगै चुरोट !
काठमाडौँ- काठमाडौँको नरेफाँट बस्ने कैलालीकी रिमा (नाम परिवर्तन) प्लस टु पढ्छिन् । उनलाई चुरोटको लत बसेको धेरै भइसक्यो । साथीहरूसँग बस्दाबस्दै, एक दुई पटक तान्दातान्दै उनलाई चुरोटको लत बस्यो ।
यसैगरी कास्की घर भएका शिशिर (नाम परिवर्तन) काठमाडौँ, बबरमहल बस्न थालेको नौ वर्ष भयो । पेसाले उनी सरकारी जागिरे हुन् । उनलाई पनि साथी–सङ्गत र उनीहरूसँगको उठबसले चुरोट पिउने बानी पर्यो ।
भक्तपुरका रमेश (नाम परिवर्तन) पेसाले व्यापारी हुन् । सानोमा उनी सधैँ बुवालाई चुरोट पिएको देख्थे । ‘बुवाले चुरोट पिएको देखेपछि मलाई पनि यसको स्वाद कस्तो हुन्छ होला भन्ने खुलदुली भयो,’ उनले भने, ‘त्यही खुलदुलीले मलाई पनि चुरोट पिउने बनायो ।’
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गरिएको छ । तर, सार्वजनिक स्थान ( बाटो, पार्क, बस) मै धूमपान गर्नेहरू छ्यापछ्याप्ती देख्न पाइन्छ ।
किशोरकिशोरीहरू खुल्लमखुल्ला चुरोट पिइरहेको पहिला कमै देखिने बताउँछन् बानेश्वरमा किराना पसल चलाइरहेका बाबुराजा महर्जन । भन्छन्, ‘अब त क्याम्पस पढ्ने विद्यार्थीहरूमा झन् यसको लत बढेको देखेको छु ।’
बागबजारमा विगत नौ वर्षदेखि चियाखाजा पसल सञ्चालन गर्दै आएकी रिता शर्मा चुरोट पिउनेमा अधिकांश युवा भएको बताउँछिन् । ‘भर्खरका केटाकेटीहरू जीवनमा केही कुराको मतलब नै नभएजस्तो गरेर चुरोट पिउँछन्,’ उनले भनिन् , ‘कलेज पढ्छन्, चिया खान आउँछन् । चियासँगै चुरोट पनि मगाउँछन्, केटा–केटी सबैले पिउँछन् ।’
रिता दिदीकै पसलमा चिया पिउँदै गर्दा भेटिएका पात्र थिए रिमा, शिशिर अनि रमेश । यी प्रतिनिधि पात्र हुन् चुरोट पिउनेहरूमा । उनीहरू जस्तै धूमपानका लतीहरू सबैतिर भेटिन्छन् । नेपाल स्टेप्स सर्भे २०१९ ‘टोब्याको फ्याक्टसीट’को तथ्याङ्क अनुसार २८.९ प्रतिशत वयस्कहरूले सुर्तीजन्य पदार्थहरू प्रयोग गर्ने गरेको पाइएको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीन प्रकाश शाहका अनुसार जुनसुकै उमेर समूहमा पनि क्षयरोग देखिने गरेको पाइएको छ । क्षयरोग विशेषतः मध्यम उमेर समूहका व्यक्ति (१५–४४) लाई नै बढी हुने गरेको उनी बताउँछन् ।
युवा पुस्ताहरूमा चुरोटभन्दा पनि हुक्का तान्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । त्यस्तै साथीको जन्मदिन, ‘गेट टुगेदर’ पार्टी यस्तै जमघटमा जाँदाजाँदै रिमाको चुरोट पिउने, हुक्का तान्ने बानी बसेको थियो । यसै सन्दर्भमा डा. शाह भन्छन्, ‘अहिले हुक्का, चार्ज गर्न मिल्ने ‘भेप’ फेसन जस्तै भएको छ । यी कुराहरू चुरोटभन्दा पनि हानिकारक हुन्छन् ।’
प्रतिनिधि पात्रहरू शिशिर अनि रमेश पनि बेलाबेलामा हुक्का तान्ने, भेप तान्ने गरेको बताउँछन् । चुरोट, हुक्का सेवन गर्नु हुँदैन भन्ने थाहा हँदाहुँदै पनि उनीहरूमा लत बसेको छ । पाठ्यपुस्तकदेखि चुरोटकै प्याकेटसम्म लेखिएको हुन्छ– ‘धूमपान स्वास्थ्यका लागि हानिकारक छ ।’
सिनेमामा पनि धूमपान वा मद्यपानको सिन भएमा ‘स्वास्थ्यका लागि हानिकारक छ’ भनी उल्लेख गरिन्छ । त्यस्तै, सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ को दफा ११ अनुसार यस्ता पदार्थको बिक्री–वितरण गर्न मनाही गरिएको छ ।
शिशिर भन्छन्, ‘सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन, थाहा छ तैपनि चुरोट पिउने बानी बसेपछि छाड्नै गाह्रो ।’ यसै सन्दर्भमा डा. शाह भन्छन्, ‘हुक्का, भेपजस्ता धूमपानका माध्यमबाट फोक्सोलाई निकै असर पर्छ ।’ यसबाट क्षयरोग हुनेलाई झनै रोग बढाउँदै लगेको उनले पाएका छन् । धूमपानले क्षयरोग नलागेकालाई पनि संक्रमण हुने प्रवल सम्भावना रहने उनको ठम्याइ छ ।
डा. शाहका अनुसार अत्यधिक धूमपान गरेमा फोक्सोलाई निकै असर पर्छ । जसकारण क्षयरोगको जोखिमसमेत बढ्छ । ‘धूमपानले सोझै फोक्सोमा असर पुर्याउँछ, क्षयरोगलाई निम्ता दिन्छ,’ उनले भने, ‘त्यसैले जतिसक्दो चाँडो धूमपान त्याग्नु जरुरी छ ।’
डा. शाहका अनुसार पछिल्लो वर्ष क्षयरोगका कारण एक हजार सात सयको मृत्यु भएको छ । पछिल्ला केही वर्ष क्षयरोगका कारण मृत्यु हुनेको संख्या लगभग उस्तै रहेको उनी बताउँछन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने सन् २०५० सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य राखेको छ । सन् २०२३ सम्ममा मृत्युदर एक हजार सात सय रहेकामा सन् २०५० सम्ममा क्षयरोगसम्बन्धी नेपाल सरकारको उक्त लक्ष्य पूरा होला त ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया