समाज

मोबाइल चोरी गर्ने र खरिद गर्ने दुवै जना पक्राउ

इकागज |
चैत १०, २०७९ शुक्रबार १९:५९ बजे

भक्तपुर- प्रहरीले मोबाइल चोरी गर्ने र सोही चोरीको मोबाइल खरिद गर्ने दुवैलाई पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकस्थित पुस्कल रञ्जितकारले संचालन गरेको मोबाइल पसलबाट मोबाइल चोरी गर्ने काभ्रेपलान्चोक महाभारत घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६ माछापोखरी बस्ने वर्ष २२ का जिनलाप घिसिङ तथा चोरीको मोबाइल किनबेच गर्ने लमजुङ सुन्दरबजार-१ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु नै बस्ने वर्ष ३० का रामशरण अछामीलाई पक्राउ गरेको हो ।


यसअघि फागुन २४ गते राति १ बजेको समयमा भक्तपुरको कमलविनायकमा पुस्कल रञ्जितकारले संचालन गरेको मोबाइल पसलबाट मोबाइल चोरी भएको उजुरी परेको थियो ।

प्रहरी वृत्त जगाती भक्तपुरले निवेदनको आधारमा अनुसन्धान गर्दै जाँदा विभिन्न कम्पनीको २२ थान मोबाइल चोरी भएकोमा चोरी भएका मोबाइलहरू मध्ये फागुन ८ गते विभिन्न कम्पनीका ८ थान मोबाइलसहित चोरी कार्यमा संलग्न जिनलाप घिसिङ पक्राउ परेका थिए ।

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

साथै, फागुन १४ गते काठमाडौं बुढानिलकण्ठमा रामकुमार दंगालले सञ्चालन गरेको चाहना मोबाइल मार्ट तथा फागुन १६ गते जोरपाटीको अशोक सापकोटाले सञ्चालन गरेको सापकोटा मोबाइल सेन्टरमा समेत निज जिनलाप घिसिङले चोरी गरेको अनुसन्धानको क्रममा खुल्न आएको भक्तपुर प्रहरी परिषदका सूचना अधिकृत बसन्त पाठकले बताए ।        
 


Author

थप समाचार
x