छठ पर्व आजदेखि विधिवतमा शुरु, भोलि खरना गरिने
जनकपुर शिवचाेकस्थित गंगासागर पाेखरी छठकाे सबै तयारी पूरा भएकाे छ । तस्विर : सुभाष कर्ण
जनकपुरधाम : आस्था एवं श्रद्धाको पर्व छठ पर्व आजदेखि विधिवत रुपमा शुरु भएको छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज पहिलो दिन नहाई खाई/अरबा अरबाइन गरिदैंछ । यसदिन व्रतालुहरुले नुहाई धुआई शुद्ध भई चोखो (अरबा चामलको भात) खाने गर्छन् ।
यो दिनमा व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् भने छठ पर्वको प्रमुख प्रसादको रुपमा रहेको भुसुवा (चामल पिठोको सक्खर मिश्रित लड्डू) र ठकुवाका लागि चामल तथा गहुँ धोएर सुखाउने कार्य गर्दछन् ।
व्रतीले भोजनमा माछामासु, लसुन, प्याज र कोदो जस्तो वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् ।
छठको दोश्रो दिन पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरु दिनभरि निराहार उपवासमा बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गर्छन् ।
प्रसादका रुपमा विशेष गरी पाकेको केरा र खीरलाई लिने गरिन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमा र बितेका पूर्वजलाई प्रसाद सामाग्री खीर चढाई सोही प्रसाद ग्रहण गर्छन् ।
खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरु दिनभरि निराहार उपवासमा बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गर्छन् ।
षष्ठीका दिन (तेस्रो दिन) व्रतालु निराहारा उपवास बसी गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान-पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्छ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ ।
यस दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, खाजा, पेरुकिया तथा मुला, गाजर, बेसारको गाँठो, सुन्तला, अनार, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हाथी ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न लोकगीत गाउँदै पोखरीको घाटहरुमा पुग्ने गर्छन् ।
साँझपख अस्ताउँदो सूर्यलाई अर्घदान गरिन्छ । त्यसपछि सप्तमीका दिन (अन्तिम दिन) सोही घाटमा उदाउँदो सुर्यलाई अर्घदान गरी छठ पर्व सम्पन्न हुन्छ । उदाउँदो सूर्यको अर्घदानलाई मैथिली भाषामा पारण भन्ने गरिन्छ । पारण गरी मात्रै व्रतालु महिला २४ घण्टाको उपवास तोड्दै अन्नजल ग्रहण गर्ने गर्छन् ।
यता छठ पर्वका लागि प्रदेश २ का अस्थायी राजधानीसमेत रहेका ऐतिहासिक नगर जनकपुरधाममा पोखरी, नदी, तलाउ र सरोवर लगायतका जलाशयहरु सजाउने कार्य अन्तिम चरणमा पुगेको छ ।
विभिन्न स्थानीय युवा क्लब र संस्थाको सक्रियतामा जनकपुरधामका गंगा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउसहितका पोखरीका डिलमा बाँस र कपडा लगायतको छाउनी बनाउने तथा त्यसमा झिलिमिली बती लगाउने कार्य तीव्र रुपमा भइरहेको छ ।
छठ पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले सुरक्षा व्यवस्थालाई कडा पार्ने भएको छ ।
विगतका वर्षहरूमा जनकपुरमा चाडपर्वका समयमा अप्रिय घटना भएकाले त्यस्ता घटना दोहोरिन नदिन आफूहरू सतर्क रहेको र सादा पोशाक, नेपाल प्रहरी र शसस्त्र प्रहरी गरी तीन तहको सुरक्षाकर्मी परिचालन गरिएको धनुषा प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले बताए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया