समाज

निषेधाज्ञामा नरोकिएको निर्माण मजदुरको काम

इकागज |
बैशाख २७, २०७८ सोमबार १४:३३ बजे

हेटौंडाः मकवानपुरको चार स्थानीय तहमा निषेधाज्ञा जारी छ । एक स्थानीय तहले गाउँपालिका भित्र अतिआवश्यक सेवा बाहेक सबै सरकारी तथा गैर सरकारी कार्यालयको सेवा बन्द गरी बसेको छ । निषेधाज्ञा जारी भएको स्थानीय तहले पनि अतिआवश्यक बाहेकका अन्य सेवाहरु संचालन गरेका छैनन् । यतिबेला कोभिड–१९ महामारीमा हेटौंडा उपमहानगरपालिकाका अधिकांश मानिसहरु घरमै सुरक्षित बसेका छन् ।

तर निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्नेहरु भने ढुक्कले काम गरिरहेका छन् । सरकारले निर्माण क्षेत्र संचालन गर्न दिएको छ । रोगसँग डर छैन बरु भोकसँग छ भन्दै काम गरिरेहेका छन्, हेटौंडा–१ का रामप्रसाद दाहाल । दैनिक उनले ज्यालादारी काम गरेर आठ सय रुपैयाँ कमाउँछन् । तर यतिले उनलाई पुग्दैन । १४ हजार    रुपैयाँ घर बनाउन ऋण लिएको सहकारीलाई मासिक रुपमा किस्ता बुझाउनुपर्छ उनले । काम गर्नेपर्‍यो ।


उनले अहिले कोभिडले संसार डराइरहेको तर आफूलाई त्यस्तो केही नलागेको बताए । ‘मास्क बिना काम गरिरहेको छु । हाम्रो काममा मास्क लगाएर गर्दा उकुसमुकुस हुन्छ ।’ दाहालले भने । उनी साबेलले बालुवा डोकोमा भरिदिन्छन् । डोको बोक्छिन् पार्वती थापाले । उमेर ४० वर्ष देखिने थापा परिवार पाल्न मजदुरी गर्न आएको बताउँछिन् ।

‘अहिलेसम्म त काम पाएको छौ अब के हुन्छ कुन्नी’ उनी गम्भिर हुँदै चिन्ता व्यक्त गर्छिन । दिनभरी काम गरेको हुन्छु घर पुग्दा थकाई लागेको हुन्छ । के को कोरोना । दिनभर काम गर्दा उनले पनि आठ सय रुपैयाँ नै पाउँछिन् । यसैगरी निषेधाज्ञामा विद्यालय बन्द हुँदा बिदाको समयको सदुपयोग गर्न मजदुरी काम गर्छन राहुल अनसारी । पाँच कक्षामा पढ्ने उनी साबेल चालउँछन् । उनी फरक ठेकेदारसँग काम गर्छन । दैनिक ११ सय रुपैयाँ पाउने गरेको उनले बताए । उनी विद्यालय बन्द हुँदा मात्रै काम गर्न आउने गरेका छन् । त्यसो त बिहानै मजदुरहरुको हेटौंडाको बुद्धचोकमा धेरै भिड लाग्ने गर्थ्यो । काम नपाउने भएपछि धेरै मजदुरहरु आफ्नै गाउँ फर्किएका छन् । 
 


Author

थप समाचार
x