समाज

'सिंहदरबारको फोहोर उठाए म सक्किन्छु'

इकागज |
बैशाख ५, २०८० मंगलबार १४:५८ बजे

फाइल तस्बिर

काठमाडौँ- संघीय सरकार र काठमाडौँ महानगरपालिकाबीच द्वन्द्व हुँदा दश दिनदेखि सिंहदरबार भित्रको फोहोर उठ्न सकेको छैन । गत शनिबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फेसबुकमा चेतावनी दिँदै लेखेका थिए, 'सिंहदरबारको फोहोर उठ्दैन र त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने ।'  मेयर शाहले स्टाटस लेखेपछि सिंहदरबारबाट फोहोर उठ्न छाडेको हो ।

सिंहदरबारभित्रबाट दैनिक पाँच टन उत्पादन हुने फोहोर अहिले मुख्य सचिव कार्यालय अगाडिको उद्यानमा संकलन गरेर राखिएको परिवर्तन सेवाका अध्यक्ष मित्र घिमिरेले बताए ।


उनका अनुसार करिब डेढ दशकदेखि फोहोर संकलन गर्ने जिम्मा परिवर्तन सेवाले पाएको छ । २०६४ सालदेखि निजी कम्पनीले फोहोर उठाउँदै आएको छ ।

‘सिंहदरबारबाट काठमाडौँ महानगरले नउठा भनेसम्म फोहोर उठ्दैन,’ घिमिरेले भने, 'मैले मेरो खुसीले फोहोर उठाएँ भने व्यवसायिक रूपमा म सक्किन्छु ।'

१२ टन फोहोर थुप्रिएको घिमिरेले जानकारी दिए । शून्य फोहोरको अवधारणा अपनाउन थालिएको उनको भनाइ छ । खेर गएका खाद्यान्नहरू बाहिर दिन थालिएको छ । ‘खेर गएका खाद्यान्न दैनिक एक टन उत्पादन भइ बाहिर पठाउने गरिएको छ,’ उनी भन्छन्, 'पुनः प्रयोग गर्न मिल्ने कार्टुन, प्लाष्टिक र कागजजस्ता सामग्री कबाडमा दिन थालेका छौं ।'

पतकर जस्ता फोहोरहरू खाल्डो खनेर पुरिएको घिमिरेले इकागजलाई बताए । जबसम्म सिंहदरबारको फोहोर उठाउन केन्द्र सरकार र काठमाडौँ महानगरबीच सम्झौता हुँदैन तबसम्म यतिकै राखिने उनले प्रस्ट पारे ।

परिवर्तन सेवा प्रा.लि ले सिंहदरबारको फोहोर उठाउन शहरी विकास मन्त्रालयसँग सम्झौता गरेको हो । सिंहदरबारबाट फोहोर उठाउन प्रत्येक वर्ष सम्झौता हुने गरेको छ ।

सम्झौतामा सरकारले तोकेको स्थानमा फोहोर फाल्ने व्यवस्था उल्लेख छ । उनका अनुसार सिसडोलमा फोहोर फाल्ने गरिएको छ । सिसडोलमा महानगरले फोहोरको अप्रेसन गरिरहेको छ ।

परिवर्तन सेवाले सिंहदरबार, राष्ट्रपतिको कार्यालय, प्रधानन्यायाधीशको कार्यालय, सभामुखको कार्यालय, राष्ट्रिय सभा अध्यक्षको कार्यालय र मन्त्री क्वार्टर पुल्चोकबाट फोहोर उठाउने गरेको छ ।

‘सिंहदरबारबाट लगिएको फोहोर लगेमा महानगरले सदाका लागि थप काम गर्न नपाउने गरी कारबाही गरिने चेतावनी दिएको छ,’ उनले सुनाए, 'मैले फोहोर लैजानासाथ मेरो कम्पनीको गाडी जफत हुन्छ । शहरी विकास मन्त्रालयले मेरो गाडी जफत नहुने ग्यारेण्टी गरिनुपर्छ ।'

घिमिरेले अनलाइन बिट मार्फत फोहोर उठाउने जिम्मा पाएको बताए । मासिक साढे पाँच लाखमा फोहोर उठाउने ठेक्का पाएको उनले जानकारी दिए ।

परिवर्तन सेवाले महानगरको ६,७,८,१७ र १८ बाट फोहोर उठाउने गरेको छ । चैत २६ गतेबाट सिंहदरबार परिसरबाट फोहोर उठ्न छोडेको छ ।

शहरी विकास मन्त्रालयले भन्यो : फोहोर उठाउने वातावरण बनाइदिनू

‘काठमाडौँ महानगरपालिकाले संवैधानिक एवम् कानुनी प्रावधानविपरीत फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा आफ्नो दायित्वबाट विमुख भई अवरोध सिर्जना गरेको अवस्थामा सिंहदरबार केन्द्रीय सचिवालय रहेको परिसर, अतिविशिष्ट र विशिष्ट पदाधिकारीहरूको निवास रहेको स्थानबाट फोहोर मैला उठाइ व्यवस्थापन गर्ने कामका लागि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी फोहोर व्यवस्थापन गर्न सहजीकरण गरिदिन र उचित वातावरण बनाउन निर्णय भएको छ ,’ मन्त्रालयले भनेको छ ।

 

 


Author

थप समाचार
x