समाज

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै उदयपुर बार इकाई धर्नामा

इकागज |
बैशाख १९, २०८० मंगलबार १४:२५ बजे

विराटनगर- अविलम्ब प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसन उदयपुर इकाईले धर्ना अभियान चलाएको छ ।

बारले प्रधानन्यायाधीशको नियुक्ति समयमा हुन नसक्दा समग्र न्यायपालिका नेतृत्वविहीन हुन पुगेको र न्यायपालिका प्रतिको जनआस्था खस्किँदो अवस्थामा रहेको यथार्थतालाई ध्यान दिँदै प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्न ध्यानाकर्षण गराउँदा उपलब्धि प्राप्त नभएको भन्दै बारले देशभर दबाब अभियान चलाएको हो ।


दबाब अभियानकै क्रममा मंगलबारदेखि धर्ना अभियान सुरु गरेको उदयपुर इकाईकी सचिव सुमित्रा कोइरालाले जानकारी दिइन् । सर्वोच्चमा प्रधानन्यायाधीश नियुक्त हुन नसक्दा देशैभरिका अदालतहरूमा रिक्त न्यायाधीशहरूको पदपूर्ति पनि रोकिएको र समग्र न्यायिक प्रणालीमै असहज अवस्था उत्पन्न हुँदै गएको उनले बताइन् । बारको केन्द्रीय कार्यसमितिको निर्देशन बमोजिम धर्ना अभियान सुरु गरेको पनि उनले बताइन् ।

'स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ', 'न्यायालयभित्रको भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गर', 'पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर', 'प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर', 'सबै तहका अदालतमा रिक्त न्यायाधीश यथाशीघ्र नियुक्ति गर' लगायतका नारा उल्लेखित प्लेकार्ड बोकेर कानुन व्यवसायीहरू धर्नामा सहभागी भएका छन् ।

आइतबारदेखि सुरु भएको धर्ना अभियान एक हप्तासम्म सञ्चालन हुने र सबै कानुन व्यवसायीहरूको उपस्थितिमा धर्ना बस्न सुरु भएको सचिव कोइरालाले बताइन् । 
सोही अभियानलाई वर्तमान केन्द्रीय कार्यसमितिले पनि स्वामित्व ग्रहण गरेर देशभरका उच्च र जिल्ला बार इकाईहरूमा धर्ना अभियान सुरु भएको केन्द्रीय अन्जिता खनालले बताइन् ।

अभियानलाई सेवाग्राहीको काममा भने असर नपर्ने गरी सञ्चालन गरिने जनाइएको छ ।

नेपाल बार एसाेसिएसनले न्यायपालिकामा देखिएका विकृति, विसंगतीको अन्त्य गरी न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने उद्देश्यले यसअघि १७९ दिने न्यायपालिका शुद्धीकरण र सुदृढीकरण अभियान चलाएको थियो ।


Author

थप समाचार
x