समाज

कोभिड-१९ महामारीले बिजुली खपत घट्यो

इकागज |
बैशाख २९, २०७८ बुधवार १६:१२ बजे

काठमाडौँ : कोभिड १९ को कहर बढेसँगै विद्युत् खपत र आयातमा पनि कमि आउन थालेको छ । विद्युत् प्राधिकरणका अनुसार कोभिड १९ को दोस्रो लहरसँगै विद्युत् खपतमा १५० मेगावाट घटेको छ । प्राधिकरणको प्रणाली सञ्चालन विभागका प्रमुख सुरेश भट्टराईका अनुसार हिजो मंगलबारको उच्चतम माग ११७० मेगावाट थियो । कोभिडको दोस्रो लहर अघि १४७० मेगावाटसम्म थियो ।

खपत घटेसँगै भारतबाट आयात हुने बिजुलीको परिमाण पनि घटेको छ । हिजो उच्चतम मागका बेला भारतबाट ५१८ मेगावाट बिजुली आयात भएको भट्टराईले जानकारी दिए । नेपालले गत मे १ (वैशाख १८) देखि भारतको पावर एक्सचेञ्ज बजारबाट बिजुली आयात गर्दा २५० मेगावाट गरेको थियो । प्राधिकरणका अनुसार अहिले उक्त एक्सचेञ्जबाट करिब सय मेगावाट आयात भइरहेको छ । प्रत्येक १५ मिनेटको एउटा स्लट हुन्छ । स्लटपिच्छे प्रतियुनिट बिजुलीको भाउ पनि फरक पर्ने गर्छ । प्राधिकरणका एक अधिकारीका अनुसार अहिले औसतमा प्रतियुनिट ३ भारु (४ रुपैयाँ ८० पैसा) छ । प्राधिकरणले ढल्केबरबाट आयात गरिरहेको २०० मेगावाट बिजुलीको प्रतियुनिट ४.१८ भारु (६ रुपैयाँ ६८ पैसा) छ । 


प्रणाली सञ्चालन विभाग प्रमुख भट्टराईका अनुसार स्वदेशी उत्पादन पनि क्रमिक र रुपमा वृद्धि हुन थालेको छ । केही दिन यता देशका विभिन्न भूभागमा पानी पर्न थालेपछि जलविद्युत् उत्पादनको राशि पनि वृद्धि हुन लागेको हो । केही साताअघि निजी क्षेत्रले जम्मा १७० मेगावाट बिजुली उत्पादन आएकोमा अहिले २७१ मेगावाट उत्पादन गरेका छन् । त्यस्तै प्राधिकरणले ३८५ मेगावाट बिजुली उत्पादन गरिहेको छ । 

कोभिड १९ का कारण ७० जिल्लामा निषेधाज्ञा जारी गरिए पनि उद्योगहरुले खपत गर्ने बिजुलीमा उल्लेखनीय रुपमा कमी आएको छैन । भट्टराईका अनुसार उद्योग क्षेत्रमा २७५ देखि ३०० मेगावाट खपत भइरहेको छ । यता उपत्यकामा भने बिजुली खपत घटेको छ । हिजो मंगलबारको तथ्यांअनुसार उपत्यकाको उच्चतम चाप २५६ मेगावाट छ । रातिको समयमा जम्मा ८६ मेगावाट बिजुली उपत्यकामा खपत भएको भट्टराईले जानकारी दिए । 

कुनै बेला ११ सय मेगावाट आधारभूत लोड रहेको विद्युत् प्रणालीमा कोभिड १९ को कहरका कारण ८ सय मेगावाटमा झरेको छ । बिजुली ऊर्जा खपतका हिसाबले यतिबेला २१ हजार ९ सय ७६ मेगावाट घण्टा बिजुली प्रणालीमा खपत भइरहेको प्राधिकरणले जनाएको छ । 

कार्यकारी निर्देशकलाई अख्तियारी

यसैबीच भारतको सरकारी ऊर्जा दलाल कम्पनी एनभीभीएनसँग विद्युत् खरिदका लागि कागजपत्रमा हस्ताक्षर गर्ने अख्तियारी प्राधिकरणका कार्यकारी निर्देशकलाई दिने निर्णय भएको छ । प्राधिकरणको सञ्चालक समितिको गत आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

प्राधिकरण र एनभीभीएनबीच विद्युत् खरिद–बिक्रीसम्बन्धी सम्झौता (कम्पोजिट एग्रिमेन्ट) सन् २०२० को जुलाईमा भइसकेको थियो । उक्त सम्झौतामा नेपाललाई चाहिने बिजुली एनभीभीएनले उपलब्ध गराउने र नेपालले बेच्न चाहेमा उसैमार्फत गरिने उल्लेख छ । यी दुई निकायले सम्झौता गरे पनि सम्बद्ध सरकारका सहमति र स्वीकृति लिनुपर्ने भएमा लिएपछि मात्रै कारोबार हुने भनिएको थियो ।

हाल प्राधिकरणले भारतको पावर एक्सचेञ्जबाट आयात मात्र पाउने गरी भारतको विद्युत् मन्त्रालयले सहमति दिएको छ । तर नेपालले निर्यात गर्न पाउने प्रस्तावउपर भने कारबाही गरेको छैन । नेपालले माथिल्लो तामाकोसी र माथिल्लो भोटेकोसीबाट उत्पादन हुने बिजुली बेच्न प्रस्ताव गरेको थियो । 


Author

थप समाचार
x