समाज

नक्कली भुटानी शरणार्थी प्रकरण :

कीर्ते काममा बाउ-छोरा र श्रीमान्-श्रीमतीकै जुगलबन्दी

अतिन आचार्य |
बैशाख २६, २०८० मगलवार १९:१४ बजे

काठमाडौँ- यतिखेर मुलुक नक्कली भुटानी शरणार्थीको चर्चाले तातेको छ । यो प्रकरणमा ‘हाइ प्रोफाइल’ कर्मचारी र पूर्व मन्त्रीहरूको नाम मुछिए पछि यसले सबैको ध्यान तानेको छ । यसमा रमाइलो के छ भने यो प्रकरणमा नाम जोडिनेमा बाउ छोरा र श्रीमान् श्रीमती रहेका छन् ।

ठगी प्रकरणले लहरोसँगै पहरो तानिने भएपछि दैनिकजसो मुख्य-मुख्य दलका शीर्षस्थ नेताहरू वार्तामा बस्न थालेका छन् । तर वार्तामा के भइरहेको छ, बाहिरिएको भने छैन ।  एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीको नाम मुछिएपछि अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तारन्तार भेटिइरहेका छन् । मंगलबार यो सूचीमा शेरबहादुर देउवा पनि थपिएका छन् । मंगलबार तीन शीर्षस्थ नेताको भेटको अर्थ र सन्देश सार्वजनिक हुन बाँकी नै छ ।


यो शरणार्थी प्रकरणले समाचारमा मात्र स्थान पाएको छैन । यसले सामाजिक सञ्जाललाई पनि उत्तिकै तातेको छ ।  दैनिकजसो संसदमा कुनै न कुनै सांसदले यस विषयमा आवाज उठाएकै हुन्छन् ।

केही दिनअघि सांसदहरूबीच दोहोरी पनि चलेको थियो । सांसदहरूले भनेका थिए,’ हिरासतमा रहेकालाई संसदमा ल्याएर सबै कुराहरू बोल्न दिइयोस । प्रहरीको अगाडि त्रासले बयान फेर्न सक्छन् ।‘ संसदमा यसलाई फिल्मका ट्रेलर भनेर पनि भनिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म ८ जना पक्राउ परिसकेका छन् । गिरोहले मुलुकभरका विभिन्न स्थानबाट नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक लैजाने अभियान चलाएका थिए । पीडितहरूले दिएको उजुरी र बयानका आधारमा उनीहरू पक्राउ परेका हुन् ।

हाल सम्म पक्राउ परेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, इन्द्रजीत राई र सागर थुलुङ राईले दिएको बयानका आधारमा सरकारी उच्च अधिकारीहरू अनुसन्धानमा तानिएका छन् ।

पछिल्लो पटक जिल्ला अदालत काठमाडौँसँग ७ दिनको म्याद थपेर सचिव टेकनारायण पाण्डेलाई प्रहरीले हिरासतमा राखेको छ ।  उनी यसअघि गृह मन्त्रालयमा सचिव थिए । हाल उपराष्ट्रपतिको कार्यालयमा सचिव छन् ।

उनीसँगै यो प्रकरणमा संलग्न भनिएका अन्य व्यक्तिहरू पनि हिरासतमा छन् । हिरासतमा रहेका व्यक्तिहरूसँग बयान लिने क्रममा उनको नाम खुलेको थियो ।

बयानकै क्रममा राजनीतिक नेतृत्त्वका नाम पनि खुलेपछि नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीको नाम खुल्यो । साथै उनको छोरा सन्दिप रायमाझी र टोपबहादुरलाई गत बुधबार एकसाथ पक्राउ पुर्जी जारी गरिएको थियो । छोरा सन्दिप अहिले हिरासतमा छन तर टोपबहादुर भने प्रहरीको फरार सूचीमा छन् ।

अर्का पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पूर्जी जारी भइसकेको छ । पक्राउ पुर्जी जारी भएपछि शरणार्थी केशमा आफ्नो कुनै संलग्नता नरहेको र यस प्रकरणमा अनुसन्धानलाई सहयोग गर्ने प्रस्टीकरण दिएका छन् । तर, अहिलेसम्म प्रहरीको सम्पर्कमा आइसकेका छैनन् ।

बादल गृहमन्त्री हुँदा  सुरक्षा सल्लाहकार भएका इन्द्रजीत राईका छोरा निरज राईको नाममा पनि पक्राउ पुर्जी जारी भइसकेको छ । उनी पनि प्रहरीको फरार सूचीमा छन् ।

प्रहरी हिरासतमा रहेकालाई अनुसन्धान तथा सोधपुछकै क्रममा नेपाली कांग्रेसका नेतृ तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्‍नी सांसद आरजु राणाको नाम मुसिएको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाण र राणाले रकम लिएको अडियो सार्वजनिक भइसकेको छ ।

सार्वजनिक रुपमा पूर्वगृहमन्त्री बालकृष्ण खाणको पनि संलग्ना भएको खुलेको छ । केही दिनअघि उनले विभिन्न सञ्चारमाध्यममा शरणार्थी प्रकरणमा आफ्नो संल्ग्नता नभएको प्रस्टीकरण दिइसकेका छन् ।

नकक्ली शरणार्थी प्रकरणमा अधिकांश पारिवारिक सदस्यहरू मुछिएका छन् । गृह मन्त्रालयमा रहँदा वा गिरोहका नाइकेसँग अभिभावक र सन्तान मिलेको देखिन्छ । जसमा गिरोहले आफन्तलाई विश्वासमा लिई प्रयोग गरेको देखिन्छ ।

टोपबहादुर रायमाझीको आडमै छोरा सन्दीप गिरोहसँग जोडिएको हुन सक्ने आएका समाचारले बताउँछन् । उनको नाममा करोडौँको चेक काटिएको समेत प्रहरीले अनुसन्धानकै क्रममा फेला परेको छ ।

खाण र थापा गृहमन्त्रालयको नेतृत्त्वमा पुगिसकेका अनुहार हुन् । थापाका सुरक्षा सल्लाहकार इन्द्रजीतका पनि बाउ-छोरा नै यो प्रकरणमा मुछिएका छन् । यी सबै शक्ति र माध्यम परिवारकै सदस्यबाट भएको र कारोबार पनि उनीहरूबाट भएको प्रारम्भिक अनुसन्धानले देखाउँछ ।

यस्ता ठगी प्रकरणमा परिवारका सदस्यहरू मुछिने पहिलो घटना होइन् । यस अघिका यस्ता घटनामा परिवारका सदस्यहरूले बिचौलियासँग सम्पर्क गरेका कुरा सार्वजनिक हुन्थे ।

नक्कली शरणार्थी प्रकरणमा परिवारकै संलग्ना भएको प्रमाण खुले पनि केहीमा प्रमाण नपुगेको प्रहरीका उच्च अधिकारीले बताएका छन् ।  राजनीतिमा परिवारका सदस्यहरू मार्फत अपराधीकरण मौलाएको प्रहरीका एक उच्च अधिकारीले बताए ।

‘शरणार्थी प्रकरणमा अधिकांश परिवारका सदस्यहरू संलग्न छन्,’ ती उच्च प्रहरी अधिकारीले इकागजसँग भने,’ बाउदेखि छोराहरू संलग्न छन् । शक्तिमा रहँदा उनीहरूले शक्तिको दुरुपयोग गर्दा अहिलेको परिणाम निस्किएको हो ।‘ 

राजनीतिक शक्तिका कारण नै भ्रष्टाचार मौलाएको ती प्रहरी अधिकारीको दाबी छ । परिवारका सदस्यहरू शक्तिमा रहँदा यस्ता गतिविधिमा अन्य सदस्यहरूले गिरोहसँग साँठगाँठ गरेको देखिन्छ ।

शरणार्थी प्रकरणमा परिवारको सदस्य मुस्सिनुले पनि राजनीतिक शक्तिको आड रहेको मान्न सकिने उनले पुष्टि गरे ।

त्यसैगरी, प्रहरीका अर्का उच्च अधिकारीका अनुसार नाम खुलेका व्यक्तिहरूसँग प्रशस्त प्रमाण देखिदैन । उनीहरूले कारोबार गरे पनि रकममा गरेको हुन सक्ने ती प्रहरी अधिकारीको भनाइ छ ।

पूर्वगृहमन्त्री खाणको पनि प्रमाण खोजी भइरहेको उनको भनाइ छ । खाणमार्फत उनको श्रीमती मञ्जु खाणले कारोबार गरेको हुन सक्ने उनी बताउँछन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x