समाज

पोखराबाट ठूलो मात्रामा म्याद गुज्रेको बियर नियन्त्रण

धनबहादुर गुरुङ |
बैशाख २६, २०८० मंगलबार २२:० बजे

पोखरा- कास्की प्रशासनले पोखराबाट ठूलो मात्रामा म्याद गुज्रेको बियर नियन्त्रणमा लिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा ५ पर्स्याङस्थित लाभाजु इन्टरप्राइजेजबाट १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँ बराबरको म्याद गुज्रेको बडवाइजर बियर नियन्त्रणमा लिएको हो ।

पोखराको सेल्वेज डिपार्टमेन्ट स्टोरबाट म्याद गुज्रेको बडवाइजर बियर बिक्री भएको भेटिएपछि त्यहाँ अनुगमन गर्दा लाभाजु इन्टरप्राइजेजबाट सो मात्रामा बियर नियन्त्रणमा लिएको हो । लाभाजुबाट ७५० एमएलको बडवाइजर बियर ३१६ कार्टुन र ११ बोतल बियर प्रशासनले नियन्त्रणमा लिएको कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।


यस्तै ३३० एमएलको ६ कार्टुन र ११ बोतल म्याद गुज्रेको बियर प्रशासनले नियन्त्रणमा लिएको हो ।

‘स्थानीयहरूले लाभाजु इन्टरप्राइजको स्टोरबाट म्याद गुज्रेको बियर बिक्री हुँदै आएको छ भन्ने गुनासो आएपछि अनुगमनको क्रममा जाँदा म्याद गुज्रेको बियर बरामद गरेका हौं,’ ढकालले भने । त्यहाँका एक कर्मचारीले नलैजान आग्रह गर्दा गर्दै लगेको जानकारी दिएको उनले बताए । ‘हामी यहाँ आइसकेपछि यहाँको सरोकारवाला १ जना बहिनीले नलैजानु भन्दा भन्दै पनि लानुभयो भन्नुभयो,’ उनले भने, ‘त्यसपछि ल ठीकै छ त नि भनेर हेर्दा स्थिति यस्तो रहेछ ।’ 

उनका अनुसार बरामद नियन्त्रणमा लिइएको बियर सरोकारवालहरूको उपस्थितिमा नष्ट गरिनेछ । ‘यसलाई आज हामीले नगरपालिकाको गाडीमा लगेर प्रहरीको नियन्त्रणमा राख्छौं,’ उनले भने, ‘भोलि सरोकारवालाहरूको उपस्थितिमा नष्ट गरिन्छ ।’ जिल्ला प्रशासन कार्यालयले म्याद रहेको र गुज्रिएको सामान छुट्टाछट्टै राख्न निर्देशन दिएको छ ।

यसैगरी व्यवसाय दर्ता नवीकरण एवं वैशाख १५ देखि २५ सम्मको खरिद तथा बिक्री बिल लिएर ३ दिनभित्रमा प्रशासनमा उपस्थित हुन निर्देशन दिएको छ । 

म्याद गुज्रेको मादक पदार्थ सेवन गर्नु विषसरह रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख शिवजी बरालले बताए । मानव स्वास्थ्यमा ठूलो हानि पुर्याउने यस्तो खालको खाद्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई सोहीअनुसारको कानुनी कारबाहीको व्यवस्था रहेको उनले सुनाए ।

‘खाद्य ऐन २०२३ मा म्याद गुज्रिएको सामान बेच्नै पाइँदैन भनिएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ मा नगद जरिवाना तोकिएको छ,’ उनले भने, ‘मूल्यसूची, बोर्ड, एक्सपाइर जोन छ/छैन सबै हेरेर ५ हजारदेखि १ लाखसम्म जरिवाना हुने उल्लेख छ ।’ 


Author

थप समाचार
x