समाज

जब प्रमाण जुट्दै गयाे, प्रहरीको निसानामा पर्दै गएका थिए खाण

अतिन आचार्य |
बैशाख २८, २०८० बिहीबार १४:१५ बजे

फाइल तस्बिर

काठमाडौँ- पछिल्ला केही दिन यता गरेको निरन्तर अनुसन्धानले पूर्वगृहमन्त्री बालकृष्ण खाण नेपाल प्रहरीको निसानामा परेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियासँग उनको साठगाँठ बाक्लो देखिएपछि उनलाई सूक्ष्म ढंगले अध्ययन गरिरहेको थियो । अनुसन्धानकै क्रममा प्रहरी हिरासतमा रहेका व्यक्तिहरूबाटसमेत उनको नाम खुलेको थियो ।

बिस्तारै अनुसन्धानकै क्रममा रहँदा ठोस प्रमाण फेला पर्दै गएपछि पूर्वगृहमन्त्री खाणमाथि प्रहरीको नजर पर्न थाल्यो । उनीविरुद्ध प्रमाण जुटाउन प्रहरी लागिरह्यो ।


जबसम्म उनीविरुद्ध ठोस प्रमाण फेला परेको थिएन तबसम्म प्रहरीले उनलाई नियन्त्रणमा लिन साहस गरेको थिएन । उनीविरुद्ध प्रमाण नजिक पुगेपछि मात्र प्रहरी उनको नजिक पुगेको थियो ।

पक्राउ परेका उनी माबै हैनन्। उनका स्वकीय सचिव नरेन्द्र केसीसहित केही पक्राउ परेका छन् । खाण र केसी दुवैले बिचौलियासँग रकम लिएको खुलेपछि पक्राउ परेका हुन् । 

खाण र केसीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको थियो । अदालतबाट उनीहरू दुवैविरुद्ध तीन दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।

खाणविरुद्ध प्रहरीले बलिया प्रमाण फेला पर्न थालेपछि अनुसन्धानको दायरामा परे । उनी यस प्रकरणकाे धन्दामा प्रत्यक्ष संलग्नता रहेको पुष्टिनजिक भएपछि पक्राउ परेका हुन् ।

गृहमन्त्री हुँदा खाणले शरणार्थीसम्बन्धी कार्यदलको गोप्य प्रतिवेदन किर्ते गरेको र यस प्रकरणलाई सहयोग गरेका थिए । उनले गिरोहबाट १ करोड २४ लाखभन्दा बढी रकम लिएको प्रमाण भेटिएको प्रहरीले दाबी गरेको छ ।

‘सम्भावित व्यक्तिमाथि शतप्रतिशत अनुसन्धान हुने प्रमाण जुटेपछि आरोपितलाई नियन्त्रणमा लिने गरिन्छ,’ प्रहरीका एक अधिकारीले इकागजसँग भने,’  अनुसन्धान गर्ने क्रममा कोही व्यक्तिमाथि शून्यबाट सुरु भएर शतप्रतिशत नभएसम्म त्यस्ता कुराहरू बाहिर आउँदैनन् ।‘

सचिव टेकनारायण पाण्डेले पनि खाणलाई रकम बुझाउन बिचौलियासँग रकम लिएको स्वीकार गरेको विषयलाई पनि प्रहरीले बलियो प्रमाण मानेको स्रोतले इकागजलाई बतायो । 

खाणले मन्त्रीस्तरीय निर्णय गराएर बिचौलिया समूहलाई सघाएको पुष्टि हुने आधारहरू भेटिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् । 

गृहमन्त्री खाणसँगै पक्राउ परेका स्वकीय सचिव केसीले पनि ठगी प्रकरणमा ५ लाख रुपैयाँ लिएको खुलेको प्रहरीले जानकारी दिएको छ । सचिव टेकनारायण पाण्डेको मोबाइलबाट रकम दिएको खुलेको छ  । ‘नरेन्द्रले पनि आस गर्छ, त्यसलाई पाँच लाख फालिदिनुपर्ला’ मोबाइलको म्यासजेमा उल्लेख गरिएको छ ।  

पाण्डेले यसअघि आफ्नो मोबाइल फर्म्याट गरिसकेका थिए । जुनबेला उनलाई प्रहरीले पक्राउ गरेको थिएन । तर, प्रहरीले फरेन्सिक ल्याबमा लगेर उक्त मोबाइलको रिकभर भएपछि डाटा फेला पारेको हो ।

मोबाइलको डाटा रिकभर भएपछि खाणलाई पक्रन प्रहरी तयार भएको थियो । पाण्डे र खाणबीच भएको संवाद पढेपछि मात्र प्रहरी उनलाई नियन्त्रणमा लिने निष्कर्षमा पुगेको हो ।

म्यासेजमा करोडौँ रकम कारोबार गरिएको दुई जनाबीच प्रष्ट कुराकानी भएको प्रमाण प्रहरीले फेला पारेको थियो । मोबाइलबाट फेला परेको प्रमाण नै खाणलाई पक्राउ गर्न सहयोग पुगेको प्रहरीका एक अधिकारीले बताए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अभियोगमा हालसम्म १२ जना प्रहरीको नियन्त्रणमा छन् ।

प्रहरी अनुसन्धानमा रहेका व्यक्तिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा र मञ्जु खाणकोसमेत नाम लिएका छन् । उनीहरूविरुद्ध पनि प्रहरीले प्रमाण खोजिरहेको छ ।

यसअघि पूर्वगृहमन्त्री भएका थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई,  सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, ललितपुर महानगरपालिका–२३ घर भएका सानु भण्डारी, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् ।

यसअघि नै मोरङ पथरी शनिश्चरे नगरपालिका-१० घर भएका केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका-७ घर भएका टंककुमार गुरुङ, दाङका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका-१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ परिसकेका छन् ।

यस प्रकरणमा फरार सूचीमा रहेका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा र हिरासतमा रहेका इन्द्रजीत राईका छोरा निरज राईसमेत रहेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने प्रलोभनमा गिरोहले पीडितसँग १० देखि ५० लाखसम्म रकम उठाएको उजुरी प्रहरीमा परिसकेको छ । एक सय भन्दा बढी पीडितले प्रहरीमा निवेदन दिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झापा, सुनसरी, मोरङ, कास्की, अर्घाखाँची र दाङलगायतका मानिसहरू पीडित बनेका छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x