समाज

काठमाडौँ महानगरले पर्चा बाड्दै हिड्ने ६१ जनालाई गर्‍यो कारबाही

इकागज |
बैशाख २९, २०८० शुक्रबार १३:२९ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ । शुक्रबार महनगरपालिकाले क्याम्पस र कलेज वरिपरि विज्ञापनजन्य सामग्री बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो ।


कान्जीरोवा कलेजबाट २, चण्डेश्वरी स्कुलबाट ४, प्रिमियर स्कुलबाट ७, रत्नराज्य स्कुलबाट २, ग्लोबल कलेजबाट ३, टेक्सास कलेजबाट २, पशुपति क्याम्पस चावहिलबाट ४, पशुपति कलेज मित्रपार्क ४ र जेभियर इन्टरनेशनल कलेजबाट १३ जनालाई पक्राउ गरेको हो ।

पटकपटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरे पनि अटेर गरेपछि कारबाही थालेको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए। उनले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न/नराख्न सूचना जारी गरे पनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिए । 

  

‘ महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न नराख्न, पटकपटक अनुरोध र सूचना निकालेका थियौँ । यो सूचनालाई अटेर गरी परीक्षा केन्द्रमा पम्प्लेट बाँड्ने र पर्चा बाँड्ने काम गरेपछि यस्ता पोस्टर बाँड्नेहरूलाई हामीले कार्यालयमा ल्याएर कारबाहीको दायरामा ल्याएका छौँ,’ पाण्डेले इकागजसँग भने, ‘पहिलोपटक भएकाले हामीले संस्थाहरूलाई ५ हजारको दरले जरिबाना गरेका छौँ । हामीले ६१ जनालाई लिएर आएका छौँ, उनीहरूलाई संस्थाबाइज ५ हजारका दरले जरिबाना गर्नेछौँ । अटेर गरिरहने हो भने जरिबानाको दायरा बढ्छ ।’ 

प्रमुख पाण्डेका अनुसार महानगरपालिकाले पहिलोपटक कारबाही गर्न लागिएको जसमा संलग्न संस्थाहरूलाई ५ हजार रुपैयाँ जरिबाना गरिएको बताए । 


Author

थप समाचार
x