समाज

भ्रष्टाचारविरुद्ध पोखरामा प्रदर्शन

'मलाई थाहा छ, नेपालीलाई भुटानी कसरी बनाइयो तर म भन्दिनँ...'

धनबहादुर गुरुङ |
बैशाख ३०, २०८० शनिबार २१:२६ बजे

पोखरा- पोखराकाे पृथ्वीचोकमा शनिबार कवि, कलाकार, कानुन व्यवसायी लगायत केहीको उपस्थिति थियो । पोखरा छाडेर अन्यत्र जाने र अन्य जिल्लाबाट पोखरा आउनेहरूको भीड हुने चोकमा केही फरक दृष्य थियो । उनीहरूले भ्रष्टाचार ढाकछोपविरुद्ध नागरिक प्रदर्शन लेखिएको कालो ब्यानर समातेका थिए । तलतिर आयोजकको नाम थिएन, वृहत् नागरिक आन्दोलन पोखरा मात्र लेखिएको थियो । उपस्थित सबैले भ्रष्टाचार विरोधी शब्द लेखिएको पम्पप्लेट हातमा लिएका थिए । केहीले टोपी बनाएर लगाएका देखिन्थ्यो ।


केही छिनमा त्यही हुलबाट कविता सुरु भयो । भ्रष्टाचारको विरुद्धमा सिर्जनाका माध्यमबाट आक्रोश पोख्दै आधा दर्जन जति कविले कविता वाचन गरे । भ्रष्टाचार ढाकछोपविरुद्ध प्रदर्शनमा सुरेश रानाभाट, विकास रोका मगर, सुरज उपाध्याय, बाबु साहेब, अमृत सुवेदीलगायतले कविता सुनाएका थिए । कवि सुरज उपाध्यायले कविताबाटै आक्रोश व्यक्त गरे । 
बा भन्नुहुन्छ
मलाई थाहा छ, नेपालीलाई भुटानी कसरी बनाइयो
तर, म भन्दिनँ
४ गते पनि भन्दिनँ
ज्यान जाला भन्दिनँ
अँह भन्दै भन्दिनँ
यदि मैले भनेँ भने
टोपबहादुर भन्दा ठूलो भ्रष्टाचारीमा मेरो नाम दर्ज हुनेछ
थाहा छ नि मैले भ्रष्टाचार गर्दिनँ
त्यसैले मैले भन्दै भन्दिनँ

कवितामार्फत व्यक्त भएका आक्रोश शान्त हुन नपाउँदै नाटक मार्फत पोखरा थिएटरका कलाकारले जनताका सामु नेता झुक्न बाध्य हुन्छन् भन्ने सन्देश दिए । ‘नेताहरू भ्रष्टाचार मात्र गर्न खोज्छन् । जनताले उनीहरूलाई जिताएर पनि पठाउँछन्,’ कलाकार रमेश तिमिल्सिनाले भने, ‘भ्रष्टाचार धेरै गरेपछि केहीले साथ दिए पनि धेरै विरोध गर्छन् अनि जनताका सामु नेता झुक्नु बाध्य हुन्छन् भन्ने सन्देश नाटकमा थियो ।’ 

रंगकर्मी अनुप बरालले नेपालीलाई भुटानी शरणार्थी बनाउन गरिएको दुष्प्रयासलाई संगिन अपराधको संज्ञा दिए । ‘त्यसलाई त अझ राष्ट्रको नेतृत्वमा बसेका ठूला पद ओगटेका उनीहरूले नै ढाकछोप गर्ने प्रयत्न गरे । हाम्रो देशमा भ्रष्टाचारको जरो कति गहिरो र नमिठो तरिकाले संयन्त्रहरूमा गढेको छ पोष्टमार्टमा गरेको छ,' उनले भने । राज्य संयन्त्रबाट भएको आपराधिक कार्य र भ्रष्टाचारको खुलेरै विरोध गर्न रंगकर्मी बरालले आह्वान गरे । भ्रष्टाचार ढाकछोपविरुद्धको नागरिक आन्दोलनमा उनले ऐक्यबद्धता जनाए । 

अभियन्ता गनेस पौडेलले पाइलापाइलामा भ्रष्टाचार बढेर गएकाले नागरिकले विद्रोह गर्नुपर्ने बाध्यतात्मक स्थितिमा आइपुगेको सुनाए । ‘बाटोमा भ्रष्टाचार छ । ढलमा भ्रष्टाचार छ । नलमा भ्रष्टाचार छ,' उनले भने, ‘कहिलेकाहीँ त लाग्छ मैले खाने पानी र मैले फेर्ने श्वासमा पनि भ्रष्टाचार छ । मैले बिरामी हुँदा सेवन गर्ने औषधिमा भ्रष्टाचार छ ।’

 


Author

थप समाचार
x