समाज

डिएसपी बरालको लापरबाहीले बालकको खुट्टा काटिएकाे आराेप

इकागज |
जेठ १, २०८० सोमबार १९:३२ बजे

कारले मोटरसाइकललाई ठक्कर दिएपछि भएको दुर्घटनामा इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेशबहादुर बरालको लापरबाहीका कारणमा मोटरसाइकलमा सवार घाइते एक जना बालकको खुट्टा काट्नु परेको आफन्तले आरोप लगाएका छन् ।

वैशाख २ गते कारको ठक्करबाट घाइते गोदावरी नगरपालिका-८ का १४ वर्षीय अनिल धामीको वैशाख २६ गते चरक अस्पताल लखनउ भारतमा खुट्टा काट्नु परेको हो । घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा ढिलाइ भएको अनिलका बुवा ललितबहादुर धामीले बताए । उनले पैसाका लागि गाडी धनी प्रकाश फुलारासँग पटक–पटक सम्पर्क गरे पनि एक पटक केही रकम बाहेक उनले सहयोग नगरेको धामीले बताए । समयमै अस्पतालमा पैसा जम्मा गर्न नसक्दा छोराको खुट्टा काट्नु परेको भन्दै ललितले दुखेसो पोखे । छोरा अझै अस्पतालमै छ, कति खर्च लाग्ने हो ? केही भन्न नसकिले भन्दै न्याय दिलाइदिन उनले आग्रह गरे ।


सोही दुर्घटनामा घाइते भएका अन्य दुई जना बालकका आफन्तहरूले समेत फुलाराले उपचार खर्च आफूले गर्ने भनि इलाका प्रहरी कार्यालय मालाखेतीमा कागजात गरे पनि उपचारबाट पछि हटेको बताए । उल्टै आफूले मुद्दा लड्ने भन्दै फुलाराले थप रकम नदिने बताएको आफन्तहरूले बताएका छन् ।

सम्झौता पत्र:

घटना विवरणः

पूर्व–पश्चिम राजमार्गको गोदावरी नगरपालिका-९ बल्मिमा गत वैशाख २ गते पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रकाश फुलाराले चलाएको बा १६ च ९६०३ नम्बरको कारले सुपप्र ०१ ००८ प ४२३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गोदावरी नगरपालिका-८ का अनिल धामी, दिलीप बोगटी र सागर बिक घाइते भएका थिए । कारले मोटरसाइकललाई आफ्नो लेनभन्दा ६ फिट पर गएर ठक्कर दिएको हाे ।

​ घाइतेलाई तत्काल उपचारका लागि अत्तरियास्थित पदमा अस्पताल लगिएकोमा त्यहाँबाट अस्पतालले धामीलाई भारतको लखनउ रेफर गरेको थियो भने बोगटी र बिकलाई नेपालगंज रेफर गरेको आफन्तहरूले बताएका छन् ।

दुर्घटनामा घाइते धामीलाई २ लाख ९० हजार र बोगटी र बिकको उपचारका लागि १ लाख ५० हजार रुपैयाँ दिएका फुलारा त्यसपछि रकम नदिने भन्दै पन्छिएका थिए ।

दुर्घटना गराउने कार चालक फुलाराले इलाका प्रहरी कार्यालय मालाखेतीमा वैशाख ३ गते सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने भन्दै कागज गरेको भएपनि सो अनुरूप भने गरेनन् । उल्टै पीडितलाई आफूले पैसा नदिने बरु कानुनी प्रक्रियामा जाने भन्दै धम्की दिने गरेको पीडित ललितबहादुर धामीले बताए ।

फुलाराले प्रहरी समेतलाई प्रलोभनमा पारेको चैत २८ गते राति नौ बजे बोलाएर दिलिपको नाममा जाहेरी दिन भनेको कुराले समेत पुष्टि गर्दछ । घाइते धामीका बुबा ललितलाई चैत २८ गते राती इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी बरालले आफ्नो कार्यकक्षमा बोलाएर मोटरसाइकल चालक दिलिप बोगटीको नाममा जाहेरी दिन भनेको धामीले बताए । उनले आफूले प्रकास फुलाराको नाममा जाहेरी दिइसकेका कारण र गल्ती पनि फुलाराकै भएकाले जाहेरी नदिने भन्दै फर्किएको बताए । तर, प्रहरीले आफैँ दिलिपलाई प्रतिवादी बनाई अहिले सरकारी वकिलको कार्यालय कैलालीमा मुद्दा दर्ता गराएको दिलिपका बुबा करण बोगटीले बताए ।

डिएसपी गणेशबहादुर बराल ।

उता ठक्कर दिने फुलारालाई भने इलाका प्रहरी कार्यालय मालाखेती हिरासतमा 'ज्वाइँ' सत्कारका साथ राखेको पीडितले आरोप लगायतका छन् । दिउँसो थुनुवा कक्षमा राखेको जस्तो गर्ने राती डिएसपी बरालले आफैँसँग सुताउने गरेको उनीहरूले बताएका छन् । जाहेरी दिएको कागजात समेत आफूहरूलाई हेर्न समेत नदिने डिएसपी बरालले फुलारालाई भने कार्यालय मै बोलाएर फाइल हेर्न दिने गरेको आफन्तले आरोप लगाएका छन् ।

उक्त घटनाबारे जानकारी लिन खोज्दा डिएसपी बराल आफू विदामा रहेका कारण निमित्तसँग जानकारी लिन भन्दै पन्छिएका छन् ।


Author

थप समाचार
x