समाज

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा चल्ने 'कोडिङ क्लब' के हो र कसरी चल्दैछ?

अतिन आचार्य |
जेठ ४, २०८० बिहिवार १८:४९ बजे

काठमाडौँ- सामाजिक सञ्जालमा केही दिनअघि संस्कृत दरबार हाई स्कुलको परिसरमा तरकारी फलिरहेको फोटो भाइरल बन्यो । सबैले विद्यालयको प्रशंसा र व्यवहारिक शिक्षा प्रणाली यस्तै हुनुपर्ने भन्दै प्रशंसा पनि गरे ।

तस्विरमा बिरुवामा फल मात्र लागेको थिएनन् । विद्यार्थी पनि थिए । विद्यार्थीहरू बिरुवाको वरिपरि झुम्मिएर त्यसलाई गोडमेल गरिरहेका थिए । दरबार हाई स्कुल काठमाडौँ महानगरभित्रको नभइ मुलुकको पहिलो र पुरानो विद्यालय मानिन्छ।


पछिल्लो समय महानगरले विद्यालयको शिक्षा प्रणालीदेखि र संरचनासमेत राम्रो हुनुपर्ने भन्दै अभियान चलाउँदै आएकाे छ। विद्यार्थीको चौतर्फी विकासका लागि पनि विभिन्न कार्यक्रम तथा नयाँ-नयाँ अभियान चलाइरहेको छ ।

महानगरका मेयर बालेन्द्र शाहले केहीदिन अघि मात्र विद्यालयको कक्षाकोठा अवलोकन गरेका थिए । उनले विद्यालय निरीक्षण पश्‍चात भनेका थिए,’ हामीले विद्यालयका शिक्षकहरूसँग स्रोत साधन र मानव संसाधनको अवस्था कस्तो छ भनेर बुझ्नुका साथै पुस्तकालयको अनुगमन पनि गरेका छौं। निरीक्षणले विद्यार्थी र शिक्षकहरू सँग थप नजिक भएको महसुस भएको छ ।‘

महानगरले विद्यार्थीहरूको चौतर्फी विकास तथा फरक तरिकाले सोच्न सक्ने क्षमता अभिवृद्धि गर्ने योजना बनाएको छ । हालै मात्र महानगरभित्रका केही सामुदायिक विद्यालयमा अबदेखि ‘र्‍यास्प्याबेरी- पी कोड क्लब ग्लोबल’ स्थापना भएको छ ।

पहिलो चरणमा महानगरले १४ वटा सामुदायिक विद्यालयमा ‘पी-कोड’ क्लब स्थापना गर्ने तयारी गरेको छ । नौलो सिकाइ विधि भएको नेपाली शैक्षिक पाठ्यक्रममा समावेश नभएको कोड क्लब भनेको के हो ? यस बारेमा बुझ्न इकागजले क्लब सञ्चलन गर्ने डिजिटल बियोन्डलाई सम्पर्क गरेको छ ।

एक विद्यालयमा कोड क्लब स्थापना गरी विद्यार्थीलाई कोडिङमार्फत सिकाइ र बुझाइको माध्यमबाट थप सहज बनाउने डिजिटल बियोन्डका कार्यकारी निर्देशक सगुन ढुंगाना बताउँछन् ।

उनका अनुसार कोडिङ क्लब आफैँमा एउटा सिकाइको क्लब हो । क्लबले विद्यार्थीका लागि आफ्ने पाठयक्रम बनाएको छ ।

‘र्‍यासप्याबेरी फाउण्डेसन’ आयरल्याण्डमा छ । यसमा नेपालको डिजिटल बियोन्ड पनि आबद्ध छन् । पाँच महिनादेखि आबद्धता जनाएको छ । फाउण्डेसनले ९ देखि १३ वर्षसम्मका विद्यार्थीका लागि कसरी सिकाइ प्रभावकारी बनाउन सकिन्छ भनेर पाठयक्रम बनाएको छ । विश्वभरमा १ लाख ८० हजार विद्यार्थीले यो पाठयक्रमको प्रयोग गरिसकेका छन् ।

यो पाठयक्रम उत्तर अमेरिकादेखि दक्षिणपूर्वी एशियासम्म लागू भइसकेको छ । ब्राजिलदेखि बंगलादेश र नेपालसम्म आइपुगेको छ । विभिन्न मुलुकमा गरी १८ हजार क्लब स्थापना भएका छन् ।

क्लबको उद्देश्य विद्यार्थीमा आलोचनात्मक क्षमता र तार्किक क्षमता वृद्धि गर्नु हो । किताबबाट लिने ज्ञान विद्यार्थीले खेलको माध्यमबाट सिक्न सक्छन् । स्क्रयाच फाउण्डेसनको कोर्ष हुन्छ र यसलाई ब्लक पेस प्रोग्रामिङ पनि भनिन्छ ।

क्लबमा आबद्ध भएका जुनसुकै समूहका विद्यार्थीले सिक्न र गर्न सक्छन् । स्थानीय भाषा र विषयवस्तुमा रहेर पनि सिकाउन प्रयास गरिने ढुंगानाले बताए । स्थानीय भाषा र विषयवस्तुलाई उपयोग गर्न सकिने गरी स्थान पाएको उनको भनाइ छ ।

‘यसका पाठयक्रममा कुन उमेर समूहका र कति कक्षाका लागि उपयोगी हुन्छ भनेर समावेश गरिएको हुन्छ,’ उनले भने,’ क्लबमा आबद्ध भएका विद्यार्थीहरूले सिक्छन् । यसले विद्यार्थीमा आलोचनात्मक र विश्लेषणात्मक क्षमताको विकास गराउँछ । विद्यार्थीमा यी दुई मुख्य कुराको विकास गर्नु हो ।‘

नेपालको सिकाइ अनुभवका बारेमा जानकारी पाएमा फाउण्डेसनले नेपालकै लागि भनेर पनि पाठयक्रम परिवर्तन गर्न सक्ने उनले विश्वास व्यक्त गरे ।

विद्यार्थीलाई शब्दमार्फत सिकाइने उनको भनाइ छ । सामान्य भाषाबाटै कोडिङका सामान्य नियमहरू सिकाइ गरिने उनले प्रस्ट पारे । जसले कम्प्युटरको मात्र प्रयोग गर्छन् ।

ब्लक तानेर र टेक्स्ट सिकेर पनि उनीहरूले थप नयाँ विधि सिक्न सक्छन् । फरक-फरक दिशामा राखेका कोडिङ राखिएको हुन्छन् र त्यसैले पनि उनीहरूलाई परिपक्वता दिन सक्ने ढुंगानाको बुझाइ छ ।

प्रत्येक क्लबमा एकै पाठयक्रमका आधारमा कोडिङमार्फत सिकाइन्छ । विद्यार्थीले सिकाइ गर्दा समस्या देखेमा समाधान पनि कसरी खोज्ने त्यसबारेमा आफूलाई सुधार गर्न सक्छन् । विद्यार्थीले नयाँ-नयाँ कुराबाट समस्याको समाधान खोज्न थप रणनीति सिक्ने छन् ।

क्लबमा आबद्ध हुने विद्यार्थीले ब्लक बेसमा आधारित रहेर सिकाइ गर्न सक्ने ढुंगानाले बताए । सातामा एउटा क्लबका लागि एक घण्टा कक्षा हुने उनले जानकारी दिए। आठदेखि दश विद्यार्थीका लागि एक जना भोलियन्टर शिक्षक हुन्छन् ।

‘विद्यार्थीले खुला कापीमा लेखेर वा पढेर सिक्न नसक्ने कुराहरू यहीँ विधिबाट पनि सिक्न प्रेरणा पाउने छन्,’ ४० वर्षीय ढुंगाना भन्छन्,’ गेम खेली-खेली सिक्न रुची जाग्न सक्छ । अर्को महत्त्वपूर्ण पक्ष भनेको नेपाली विद्यार्थीले सिकेका कुराहरू विदेशका अन्य विद्यार्थीले देखेर सिक्न पनि सक्छन् ।‘

यस क्लबमा आबद्धता हुने विद्यार्थीका लागि शैक्षिक सामग्री भनेको कम्प्युटर हो । कम्प्युटरमार्फत कोडिङ चलाउने गर्छन् ।

क्लबमा आबद्ध हुन चाहने विद्यार्थीहरू शिक्षकलाई सम्पर्क गरेर आउन सक्छन् । विद्यार्थीहरूको बुझाइले अन्य विद्यार्थीलाई पनि सिकाइमा सहज बनाउन सक्छ । विद्यार्थीको सहभागिताले थप संख्या बढेर जान्छ ।

महानगरको सामुदायिक विद्यालयमार्फत नेपाललाई चिनाउने काम भइरहेको ढुंगाना बताउँछन् । क्लबमा आबद्ध भएपछि स्थानीयकरण गर्ने पनि योजना बनाएर अगाडि बढाउने काम गरिएको उनले बताए । विद्यालयमा क्लब चाँडै सञ्‍चालन गर्न गइरहेको र यसका लागि शिक्षक तयारी गर्दै गरिरहेको उनी बताउँछन् ।

अंग्रेजीमा विषयवस्तु भए पनि नेपाली भाषामा विद्यार्थीलाई सिकाइका लागि सहजीकरण गरिने उनले सुनाए । ‘र्‍याप्याइ फाउण्डेसन’ मा विद्यार्थीको उमेर समूह ९ देखि १३ रहेको छ ।

तर, नेपालको हकमा भने ९ देखि १८ वर्षसम्मका विद्यार्थीहरू सहभागी हुन पाउने र कक्षा ४ देखि कक्षा ८ सम्मका विद्यार्थीलाई क्लबमा सहभागी हुन पाउँछन् । यसका विधिहरू सजिलै इन्टरनेटबाट पाउन सक्ने उनले बताए । इन्टरनेटमा भएका सबै पाठयक्रमलाई अनुवाद गरेपछि मात्र सिकाइको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।

महानगरभित्रका विद्यालयमा स्वयंसेवीका रुपमा निःशुल्क सिकाइमा योगदान गरिने ढुंगानाले बताए । महानगरभित्र मात्र नभइ यो फाउण्डेसनले उपलब्ध गराउने सिकाइ उनले संसारभर निःशुल्क हुने सुनाए ।

‘फाउण्डेसनले पारिश्रमिक दिदैन । स्टीकर र प्रमाणपत्र मात्र उपलब्ध हुन्छ,’ उनले थपे,’ कोड क्लबको नाम र प्रिन्सिपलको नाम समावेश हुन्छ ।‘ पहिलोपटक  फाउण्डेसनमा नेपालका १४ विद्यालय दर्ता भएका छन् । कोड क्लबका वेभसाइटमा नेपालका सबै विद्यालको नाम समावेश छन् ।‘

कोड क्लब सञ्चालन गर्न विद्यालयले फाउण्डेसनसँग अनुमति माग्नुपर्नेछ । अनुमति मागेसँगै विद्यार्थीको सुरक्षाका लागि डाटा संरक्षण गर्न बियोन्ड डिजिटलले सहजीकरण गरिरहेको जानकारी दिए ।

यो विधि महानगरको सबै विद्यालयमा लागू गर्ने योजना रहेको छ । महानगरको ८९ विद्यालयमा पुग्नेगरी काम गाडी बढिरहेको उनले बताए ।

‘कोडिङको माध्यमबाट विद्यार्थीलाई सिकाइमा सहज बनाएर फरक क्षमताको विद्यार्थी बनाउने उद्देश्य नै हो,’ ढुंगाना भन्छन्,’ सोच्ने क्षमतामा अभिवृद्धि हुन्छ । बानी र व्यवहारमा परिवर्तन होला ।‘

करिब २ लाख विद्यार्थीले बनाएका विभिन्न प्रोजेक्टहरू नेपाली विद्यार्थीहरूले सिक्न पाउने र नेपाली विद्यार्थीको सिकाइ अनुभव अरुले जान्न पाउने उनले उल्लेख गरे । फरक-फरक देशका विद्यार्थीहरूको सिकाइका अनुभव हेरेर सिकाइमा थप विकास गर्न सकिने उनले भनाइ राखे ।

ब्योन डिजिटलले महानगरसँग दुई वर्षका लागि विभिन्न कार्यक्रमका लागि सम्झौता गरेको छ । महानगरभित्रका प्रत्येक विद्यालयलाई एक वेभसाइट दिने र शिक्षकलाई प्रविधिसँग नजिक बनाइ तालिम दिएर कक्षासम्म प्रविधि लिएर जान सक्ने बनाउने उद्देश्य छ ।

‘भौतिक संरचना र अन्य सुविधाका दृष्टिकोणले पनि महानगरभित्रका सरकारी विद्यालयलाई छनौट गरेका छौ,’ उनी उत्साहित सुनिए,’ यसलाई पाइलट प्रोजेक्टको रुपमा लिएका छौ । यहाँको प्रभावकारी सिकाइ निस्किएपछि गरिसकेपछि देशका अन्य स्थानीय तहमा जाने योजना बनाएका छौ ।‘

ढुंगानासँग कोभिड महामारीमा ‘डिजिटल डिभाइड’ भएको अनुभव छ । महामारीमा मोबाइल, ल्यापट र अन्य सुविधा भएकाले पढ्न पाए भने नभएकाले छुट्टै पीडा खेपेको उनले अनुभव सुनाए ।

‘विद्यार्थीले जुममार्फत पढे,’ उनले भने,’ हुनेले उपयोग गरे होलान् नहुनेले त्यसलाई वैकल्पिक उपायको रुपमा पनि खोजे होलान । एकै डिभाइसबाट तीन जनाले सम्म सिकाइ लिए ।‘

महानगरभित्रका निजी र सामुदायिक विद्यालयका खाडल अन्त्य गर्नु पनि हाम्रो उदेश्य रहेको उनी बताउँछन् ।

‘जहाँ सामुदायिक विद्यालयमा डिजिटल पहुँच छ भनेर सन्देश पुर्‍याउनु छ,’ उनी जोशिलो सुनिन्छन्,’ एसीसीइ परीक्षामा विद्यार्थीको उत्तीर्ण संख्या न्यून भए । जसले गर्दा तिनीहरूको संख्या बढाउनु छ । निजीमा शुल्क लिएर सुविधा भए पनि अब सामुदायिक विद्यालयमा कोडिङ जस्ता शिक्षा निःशुल्क दिने छौ ।‘

महानगरभित्रका विद्यालयमा क्लब सञ्चालन गर्न संरचना पुग्ने उनको दाबी छ । यो विषय महानगर भित्रका शिक्षक र विद्यार्थीले आवश्यक रहेको सबैलाई महसुस भइरहेको उनले बताए । कोडिङले विद्यार्थीको सोचाइमा निख्खरता ल्याउने उनको विश्वास छ ।

क्लबमा आबद्ध विद्यार्थीलाई सिकाउने शिक्षकले ६ घण्टाको अनलाइन कोर्स गर्नुपर्छ । ‘भिडियोबाट हेरेर सिकेपछि र क्षमतावान भइसकेपछि मात्र भोलिन्टियर गर्न पाउनेछन्,’ उनले भोलियन्टरको योग्यताको बारेमा बताउँदै भने,’ विद्यालयका शिक्षक र वा बाहिरका भोलियन्टरले पनि सहभागी हुन सक्छन् ।‘

विद्यालयका शिक्षक र कक्षाका सिनियर विद्यार्थीलाई तालिम दिने तयारी गरिरहेको ढुंगानाको भनाइ छ । स्कुलमा राखिएका क्लबको समयावधि आजीवन हुने उनले सुनाए ।‘ सिकाइको प्रक्रिया नरोकियोस भनेर क्लब निरन्तर चलिरहन्छ,’ उनको भनाइ छ,' यममा सबै विद्यार्थीहरू समावेश हुँदैनन् । रुची भएका विद्यार्थीहरू मात्र यसमा सहभागी हुन्छन् । नयाँ क्लब भन्नसाथ सबै आउँछन भन्ने छैनन् । रुचि राख्‍ने र सहजै बुझ्न सक्नेहरू मात्र आउने गर्छन् ।'

ढुंगाना सन् २०१३ देखि २०१५ सम्ममा यो क्षेत्रसँग आवद्ध भएका हुन् । (गुगल एजुकेटर काठमाडौँ) गुगलमैत्री शिक्षक काठमाडौँका लागि फर्म भएपछि नेतृत्त्व सम्हाल्दै काम गरेको अनुभव उनीसँग छ ।

गुगलले पनि शिक्षा सबैका लागि भन्दै बियोन्डसँग पार्टनरसीप दिएको छ । उनीसँग अष्ट्रेलिया बसेर काम गरेको पनि अनुभव छ । शिक्षाको क्षेत्रमा काम गरेकाले पनि यो क्षेत्रमा लाग्न प्रेरणा मिलेको उनीसँग अनुभव छ । रोचक पक्ष सुनाउँदै भन्छन,’ परिवारका अग्रजहरू पनि शिक्षाको क्षेत्रमा लाग्नु भएको थियो । अधिकांश सदस्यहरू यही क्षेत्रमा हुनुहुन्छ  ।‘


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x