समाज

चार महिनामै बन्यो बेलिब्रिज

इकागज |
जेठ ८, २०८० सोमवार १५:१२ बजे

फाइल तस्बिर

पर्वत- पर्वतको जलजला गाउँपालिकालाई छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारसँग जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएको बेलिब्रिज चार महिनामै सम्पन्न भएको छ । 

जलजला गाउँपालिका–२ र ३ मा पर्ने बगरफाँटलाई बेनीबजारसँग जोड्न उक्त पुल निर्माण गरिएको हो । कालीगण्डकी नदीले सडक कटान गरेपछि बगरफाँट बस्ती विगत दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित हुँदै आएको थियो । गत फागुन अन्तिम सातादेखि निर्माण सुरु भएकामा कालीगण्डकीमाथि ५४ मिटर लामो हुने बेलिब्रिजको जडान वैशाख ५ गतेदेखि सुरु गरिएको थियो । 


दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित भएका बगरफाँटरवासी आइतबार पुल जडान कार्य सम्पन्न भएसँगै उत्साहित भएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स कम्पनी बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी रू एक करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयभन्दा एक महिना अगावै पुल निर्माण सम्पन्न भएको निर्माण कम्पनीका सब ओभरसियर सनम शाहीले जानकारी दिए । 

सडक सञ्जालबाट विच्छेद हुँदा बगरफाँटका करिब तीन सय घरधुरीले दैनिक उपभोग्य वस्तु भरियालाई रकम तिरर झोलुङ्गे पुलबाट ल्याउनु पर्दा सामानको मूल्य महँगो पर्ने गरेको स्थानीयको भनाइ थियो । बेलिबिज्र निर्माण सम्पन्न भएसँगै सिधा सडक सञ्जालको पहुँच पुगेको बगरफाँटका विज्ञान शर्माले बताए । 

'बगरफाँटबाट म्याग्दी आवतजावत गर्ने कालीपुल जोड्ने झोलुङ्गे पुलको लठ्ठा खिया लागेर छिन्ने अवस्थामा पुगेको थियो,' उनले भने । बेलिब्रिज बनेपछि विद्यार्थी, शिक्षक, कर्मचारीलगायत सर्वसाधारण म्याग्दी बेनी आवतजावत गर्न सहज भएको उनले बताए । 

पुल निर्माणको माग गर्दै विभिन्न समयमा बगरफाँटवासीले आन्दोलन गर्दै आएका थिए । कालीगण्डकी नदीमा पुल निर्माणमा पहल गर्ने प्रतिबद्धता नगरेसम्म निर्वाचनमा कुनै पनि दलका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेपछि म्याग्दी र पर्वतका उम्मेदवारले बगरफाँट पुगेर पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता गरेका थिए ।

पूर्वमन्त्री पदम गिरीको पहलमा सडक विभागसँगको समन्वयमा तत्कालका लागि बेलिब्रिज निर्माण गर्ने र सोही स्थानमा पक्की मोटरेबल पुल निर्माणका लागि सम्भाव्यता अध्ययन भएको थियो । 

बेलिब्रिज निर्माणपछि बगरफाँट हुँदै जलजलाको वडा नं १ बाँसखर्क, वडा नं ५ लेखफाँट, वडा नं ६ शालिजा र वडा नं २ को माँझफाँटमा सिधा यातायात सेवा सञ्चालन हुने भएको छ । रासस


Author

थप समाचार
x