समाज

थप दाइजो नदिएकाे भन्दै एक महिलाको हत्या, प्रहरीले जाहेरी लिन नमानेको आरोप

सुभाष कर्ण |
जेठ ८, २०८० सोमवार २२:४ बजे

जनकपुरधाम- थप दाइजो नदिएकाले धनुषामा एक महिलाको हत्या गरिएको आरोप लागेको छ । जिल्लाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी आरती साहको थप दाइजोकै कारण हत्या गरिएको माइती पक्षले आरोप लगाएका छन् ।

जनकपुरधामस्थित थापा चोकको घरमा श्रीमान्, सासु, ससुरा र देवर मिलेर महिलाको हत्या गरेको माइती पक्षको आरोप छ । नगराइन नगरपालिका–८ खिरखिरियाका विनोदप्रसाद साहले आफ्नी २२ वर्षीया छोरी आरतीकुमारी साहका श्रीमान् मोतीबाबु साह, ससुरा मदनमोहन साह, सासु रेणु देवी साह र देवर रवि साह मिलेर हत्या गरेको मृतकका बुबा विनोदप्रसाद साहले आरोप लगाएका छन् ।


‘आरतीको विवाह दुई वर्ष अगाडि मोतीबाबु साहसँग भएको थियो । मेराे छोरीलाई उनका श्रीमान्, ससुरा र सासु मिलेर थप दाइजो माग गर्दै पटक पटक कुटपिट गर्दै शारीरिक र मानसिक तनाब दिँदै आएका थिए,’ उनले भने, ‘छोरीलाई कुटपिट गरेको देख्दा मैले धेरै पटक रकम पनि दिएँ ।’

स्थानीयवासीलाई उद्धृत गर्दै मृतकका बुबा विनोदले भने, ‘घाँटी थिचेपछि आरती कराएकी थिई, त्यसपछि टोलका मानिसहरू भेला हुन थालेपछि घटनालाई लुकाउन झुण्डेर आत्महत्या गरी भनेर हल्ला फैलाइयो ।’

विनोदले पीडकविरुद्ध जाहेरी दिन जाँदा जिल्ला प्रहरी कार्यालय धनुषाले जाहेरी लिन नमानेको गुनासो समेत गरेका छन् । जाहेरी दर्ता नभएसम्म शव नबुझ्ने उनले बताए ।

१२ दिन अघिमात्र आरतीलाई माइतीबाट बोलाएर लगेको र आइतबार साँझ पुनः दाइजाेकै रकमका लागि उसको टाउको लगायत शरीरको विभिन्न भागमा कुटपिट गरी घाँटी थिचेर हत्या गरेको विनोदको आरोप छ । आरतीका ससुरा, श्रीमान् र सासुले पोल खुल्ने डरले मृत शरीर नै काव्या अस्पतालमा उपचारका लागि लगेको उनको दाबी छ ।

यता मृतकका श्रीमान् मोतीबाबु साहले भने 'आइतबार आरतीको स्वास्थ्य अवस्था खराब रहेको दाबी गर्दै खाना खान आग्रह गर्दा, मलाई उल्टै गाली गरेपछि आफूले एक झाडप हिर्काएर घरबाट निस्किहालेँ । साँझ पख घर जाँदा कोठामा झुण्डिएको अवस्थामा फेला परेको उनले बताए । 

घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनले भने, ‘पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र आत्महत्या वा हत्या भन्न सकिन्छ । यसका लागि प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।’

यसैबीच प्रहरीले मृतकका श्रीमान् मोतीबाबु र ससुरा मदन मोहन साहलाई नियन्त्रणमा लिएको बुझिएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x