समाज

मधेशमा मिटरब्याज सम्बन्धी १३ हजार बढी उजुरी

सुभाष कर्ण |
जेठ ८, २०८० सोमबार २०:४३ बजे

जनकपुरधाम- अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगमा मधेश प्रदेशभरी १३ हजारभन्दा बढी उजुरी परेको छ ।

मधेश प्रदेशमा १९ दिनको अवधिमा (वैशाख १७ देखि जेठ ७ गतेसम्म) मिटरब्याजीविरुद्ध १३ हजार ८४८ उजुरी परेका छन् । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न उजुरी माग गरेको १९ दिनमा यो संख्यामा उजुरी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले बताएका छन् ।


उजुरी दर्ताका लागि सुरुमा वैशाख १७ देखि ३१ गतेसम्मको समय तोकिएको थियो । त्यस अवधिमा उजुरीहरू पर्ने क्रम जारी रहेकाले ७ दिन म्याद थप गरी जेठ ७ गतेसम्मका लागि बढाइयो । तर, जेठ ७ गतेसम्म पनि उजुरीको चाङ देखिएपछि पुनः जेठ १४ गतेसम्मका लागि समय थपिएको छ ।

यस अवधिमा मिटरब्याजीविरुद्ध सबैभन्दा बढी बारा जिल्लामा २ हजार ९४७ उजुरी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए । बारापछि धनुषामा भने जेठ ७ गतेसम्म मिटरब्याजीविरुद्ध २ हजार १०१ उजुरी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

त्यस्तै सिरहामा १ हजार ९३० उजुरी परेको जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी भवेशकुमार झाले बताए । उता महोत्तरीमा भने आइतबारसम्म १ हजार ६९१ उजुरी प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

रौतहटमा १ हजार ५८८ उजुरी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटका सूचना अधिकारी मणिभुषण साहले बताए । सर्लाहीमा भने यस अवधिमा १ हजार ४९८ उजुरी परेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए । उता जिल्ला प्रशासन कार्यालय सप्तरीमा १ हजार १२७ उजुरी प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी आचार्य पराजुलीले जानकारी दिइन् । पर्सामा भने आइतबारसम्म मिटरब्याजीविरुद्ध ९६६ थान उजुरी दर्ता भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिएका छन् ।

सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्नका लागि गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । कार्यालय स्थापना भएसँगै मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितहरूको निवेदन आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x