समाज

बुटवलमा पहिलोपटक कानुन विषयमा करियर काउन्सलिङ्ग सेमिनार

इकागज |
जेठ ९, २०८० मंगलबार १७:३७ बजे

काठमाडौं – भर्खर कक्षा १२ को अन्तिम परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै बुटवलमा पहिलो पटक कानुन पाठशालाले ‘कानुन क्षेत्रमा भविष्य र सम्भाव्यता ’ विषयक करियर काउन्सिलिङ सेमिनार कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सिद्धार्थ कटेज बुटवलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्लस टुपछि उच्च शिक्षामा कानुन विषय किन पढ्ने ? कानुनको क्षेत्रमा के–कस्ता अवसर छन् ? यी र यस्तै प्रश्नलाई समेटेर कानुन विषयको महत्व, सम्भावना र विषय छनोट लगायतका विषयमा विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हाे । 


प्लस टुछिको गन्तव्यका लागि विद्यार्थीको विषय छनौटलाई सकेसम्म व्यवहारिक बनाउन सकियोस् भन्ने अभिप्रायले कानुन अध्ययन गरी कानुनका विभिन्न क्षेत्र जस्तै न्यायाधीश, सरकारी वकिल, प्राइभेट वकिल, प्राध्यापक, प्रहरी, मानव अधिकारकर्मी, बैंकिङ्ग, एनजीओ लगायत अन्य क्षेत्रमा कार्यरत व्यक्तिहरूबाट आ–आफ्नो क्षेत्रमा रही काम गर्दाको अनुभव आदानप्रदान गरी विद्यार्थीलाई करियर काउन्सिलिङमा सहयोग गर्ने मनसायले उक्त कार्यक्रम डिजाइन गरिएको कानुन पाठशालाका निर्देशक अधिवक्ता विशाल भट्टराईले जानकारी दिए । 

कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय बुटवलका सहन्यायाधिवक्ता गोविन्दराज गौली, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रमुख उपसचिव सोमनाथ सुवेदी, बुटवल बहुमुखी क्याम्पसका कानुन संकायका सहायक क्याम्पस प्रमुख जीवनारायण अधिकारी, कालिका मानवज्ञान माध्यमिक विद्यालय कानुन संकायका इन्चार्ज युवराज कडेँल, मानव अधिकारकर्मी हेमा न्यौपाने, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञानदर्शन भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक साकार राज पन्त, शाइन रेसुङ्गा डेभलपमेन्ट बैँकका कानुन शाखा प्रमुख गोपाल खनाल, कानुन व्यवसायी अधिवक्ता विशाल भट्टराई र उच्च अदालत तुलसीपुर, बुटवल इजलासको अधिकृत सरिता न्यौपाने लगायत अतिथि वक्ताका रुपमा उपस्थित थिए ।

कार्यक्रममा वक्ताहरूले पछिल्लो समय प्लस टुपछि अन्य विषयभन्दा कानुन पढ्ने विद्यार्थीको आकर्षण प्रत्येक वर्ष बढिरहेको र राज्यका प्रशासनिक लगायत विभिन्न निकायमा कानुन पढेका जनशक्तिको माग व्यापक रहेको सन्दर्भमा सम्भावनाका दृष्टिले कानुन क्षेत्रको सम्भावना ज्यादै बढ्दै गएको भनाई राखेका थिए । 

त्यस्तै, कार्यक्रममा रुपन्देहीका कालिका मानवज्ञान माध्यमिक विद्यालय, नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय, शान्ति नमुना माध्यमिक विद्यालय, नयाँगाउँ माध्यमिक विद्यालय, भानु माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालयबाट कक्षा १२ को अन्तिम परीक्षा दिएका विद्यार्थी लगायत विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा कानुन विषयमा रुचि राख्ने अन्य विद्यार्थीको समेत बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कानुन विद्यार्थी समाज कालिकाका अध्यक्ष आशिष पाण्डेले बुटवलमा कानुन विषयसँग सम्बन्धित यस्तै रचनात्मक कार्यक्रम निरन्तर भइरहनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रम लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसमा बीएएलएलबी छैटौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थी द्वय मन्जिला ज्ञवाली र अमर पाण्डेले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।


Author

थप समाचार
x