समाज

हुत्तिएर आउने काठमाडौँका बस चढ्‌नै धौ-धौ

अतिन आचार्य |
जेठ १०, २०८० बुधवार ८:४५ बजे

काठमाडौँ- बानेश्वर-तीनकुने सडक खण्ड । पुरानो ट्रली बसको कार्यालय अगाडि सार्वजनिक यातायातको ओहोरदोहोर । लाग्छ उनीहरू यात्रु ओराल्न र बोक्न पनि प्रतिष्पर्धा गरिरहेका छन् ।

मंगलबार मध्यान्ह सडकमा सुस्त र तीव्र गतिका यात्रुवाहक सार्वजनिक यातायात  चलिरहेका देखिन्थे । सवारीसाधनको रफ्तार पनि उत्तिकै थियो । देख्दा लाग्थ्यो ,’एक-अर्कालाई उछिन्नु नै उनीहरूले आफ्नो सबैभन्दा ठूलो कर्तव्य मानिरहेका छन् ।‘


यात्रु प्रतिक्षालयमा रोक्दैनन् सार्वजनिक यातायात । जेब्रा क्रसिङको अगाडि वा पछाडिको भागमा बस रोकिएका देखिन्छन् । प्रतिक्षालयको नजिक रोक्नुपर्ने सार्वजनिक बस केही दुरीमा रोकिन्छन् ।

अझ बोलिचालीको भाषामा भन्नुपर्दा ओभरटेक गर्नु पहिलो प्राथमिकतामा पर्छ । जसले निम्त्याउने दुर्घटनालाई आँकलन गर्न पनि सकिन्न । सवारी ओभरटेककै कारण धेरै दुर्घटना भएका छन् । यात्रु पनि सार्वजनिक यातायातमा चढ्नका लागि अलमल्लिरहेका हुन्छन् ।

महोत्तरीका मनिष शर्मा जडीबुटीतर्फ जान सार्वजनिक यातायातको पर्खाइमा थिए । उनी जाने लोकन्थली हो । १० मिनेटदेखि सडक किनारामा उभिएका थिए । छिन-छिनमा आउने सार्वजनिक यातायातका सहचालकले बोलाए पनि उनी जान सकेका थिएनन् ।

‘गन्तव्यतर्फ जाने ठाउँको नाम बोलाउँदै आउँछन् सहचालक,’ उनले भने,’ कोटेश्वर, जडीबुटी र भक्तपुर जाने भन्दै आउँछन् । तर, उभिएको ठाउँमा किँचुलाझैँ गरी बस आउने गर्छन् ।‘

सडक किनारमा एकले अर्कोलाई उछिन्दै एकैपटक दुई-तीन वटा बस आउने गरेको मनिषले सुनाए । उनले वरपरका मानिसलाई किच्ला जस्तो गरेर बस आउने गरेको बताए ।

‘तीव्र गतिमा आएको बस देख्दा सहजै चढ्न सकिएको छैन,’ ३० वर्षीय शर्मा भन्छन्,’ बिस्तारै आए पो चढ्न सकिन्छ । यात्रु बोक्न आउने गाडी हुत्तिएर आउँछन् । जिक ज्याक गरेर आएको देख्दा डर लाग्छ ।‘

प्रतिक्षालयमा बस्दा उभिएका यात्रु हत्तपत्त चढ्दा सिट नपाइने उनले गुनासो पोखे । बिस्तारै अनुशासनमा आएमा हामी सडक किनारामा उभिनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।

चावहिल जाने बसको पर्खाइमा रहेकी मिना थापासँग पनि मनिषको जस्तै अनुभव छ । तीव्र गतिमा आएका बसमा चढेर जान डर लाग्ने गरेको उनी बताउँछिन् । एकले अर्कालाई उछिनेर यात्रुवाहक सार्वजनिक यातायात आउने गरेको उनले बताइन् ।

‘बस बिसौनीमा बिस्तारै आउँदैनन्, तीव्र गतिमा आएर रोक्छन् ,’ उनले भनिन्,’ एउटा बस, माइक्रो र टेम्पो रोकिएको ठाउँमा अर्को बस आएर बाटो छेकेर यात्रुलाई बोलाउने गरेका छन् ।‘

रोकिएका बस अगाडि तीव्र गतिमा आएर अर्को साधन रोकिने गरेको थापाले सुनाइन् । यात्रुलाई गन्तव्यमा लैजानका लागि सुस्त गतिमा आएर पनि लान सक्ने उनको सुझाव छ ।

एक सवारीचालकले गन्तव्यमा पुग्नुपर्ने भएकाले खाली ठाउँमा थोरै गति बढाएको बताए । यात्रु बोक्नका लागि कहिले पनि बस बिसौनीमा ओभरटेक नगरेको उनको भनाइ छ ।

‘ओभरटेक गर्दा दाँयाबाट गर्ने गरिएको छ,’ ती चालकले इकागजसँग भने,’ यात्रुलाई चढाउनका लागि तीव्र गतिमा चलाइएको छैन ।‘

सार्वजनिक यातायात सेवामुखी नभइ व्यवसायीमुखी

सार्वजनिक यातायातलाई सेवाको क्षेत्र नभनी व्यावसायिक भनेर परिभाषित गरी सञ्चालन भइरहेको यातायात विज्ञ आशिष गजुरेल बताउँछन् । सार्वजनिक यातायात राज्यको नियन्त्रणमा नभएर व्यवसायीको नियन्त्रणमा रहेको उनको भनाइ छ ।

‘सडकमा राज्यको उपस्थिति कम हुँदा सवारीचालकको मनपरी जस्तो देखिएको छ,’ गजुरेल भन्छन्,’ सार्वजनिक यातायातमा राज्यको लगानी भएमा सडकमा मनपरी देख्नुपर्ने अवस्था आउँदैन थियो ।‘

गजुरेलले अगाडि बस नगएसम्म ढिला आएका बसले पछाडि कुरेर बस्नुपर्ने सुझाए । राज्यले सार्वजनिक यातायातका लागि प्रभावकारी नियम नबनाउँदाको यात्रुले यसको परिणाम भोग्नुपरिरहेको उनले बताए ।

यात्रुवाहक बसका लागि समय लागू गरे पनि यस्ता समस्या निराकरण हुँदै जाने उनको तर्क छ । ओभरटेक गर्न नहुने भनेर नियम कहाँ बनाएको छ ? उनले प्रश्‍न गरे । चालू भइरहेको सवारीको दाँयाबाट ओभरटेक गर्न पाइने गजुरेलले सुनाए । यात्रु चढाउने र ओराल्ने ठाउँमा सवारीचालकले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

ओभरटेक गर्न नमिल्ने ठाउँमा ओभरटेक गरेमा कारबाही

ओभरटेक र तीव्र गतिले काठमाडौँ उपत्यकाको सडकमा वर्षेनी सयौँको ज्यान जाने गरेको छ । ट्राफिक नियमको पालना नगर्दा र लापरबाही सवारी चलाउँदा दैनिक ५० बढी सवारीचालक कारबाहीमा पर्ने गरेका छन् । काठमाडौँ उपत्यकामा आव २०७८/०७९ मा तीव्र गतिका कारण तीन हजार पाँच सय बढी सवारी दुर्घटनामा परेका थिए । 

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले ओभरटेक गर्न नमिल्ने ठाउँमा ओभरटेक गरेमा कारबाही गरेमा कारबाही गरिने बताए । ओभरटेक गर्न मिल्ने ठाउँमा ओभरटेक गर्न पाउने उनको भनाइ छ ।

लापरबाही तरिकाले सवारीसाधन चलाएमा कारबाही गरिने भट्टको भनाइ छ । उनका अनुसार पहिलो पटकमा पाँच सय जरिवाना हुने गरेको छ । दोस्रो पटक हजार र तेस्रो पटक भने १५ सयसम्म जरिवाना हुन्छ । लगातार १५ सय रुपैयाँका दरले कारबाही हुन्छ ।

कारबाहीमा परेका कतिपय सवारी चालकहरू लाइसेन्स लिन कार्यालयमा जान नगरेको खुलेको छ । प्रवक्ता भट्ट भन्छन्, ’क्लास लिनुपर्ने अनिवार्यतामा चालकहरूको उपस्थिति रहने गरेको छ । सम्बन्धित व्यक्ति आफैँ कक्षामा उपस्थिति हुनुपर्छ ।‘

सवारीचालकले मापसे, तीव्र गति, रातो बत्ती र लेन क्रस गरेमा अनिवार्य कक्षा लिनुपर्ने व्यवस्था छ ।

लाइसेन्स लिन नआउनेहरूको आर्थिक वर्षको अन्त्यमा यातायात व्यवस्था विभाग हुँदै सम्बन्धित यातायात कार्यालयमा पठाइने भट्टले जानकारी दिए । सवारीचालकले दोब्बर जरिवाना तिरेर आफ्नो लाइसेन्स लिने गरेको उनले उल्लेख गरे ।

‘सार्वजनिक यातायातको कुन लाइसेन्स हो भनेर छुट्टिदैन,’ उनले इकागजलाई सुनाए,’ सार्वजनिक यातायातका सवारीचालकका पनि हुन्छन् । तिनिहरूको लागि तथ्यांक हेर्नुपर्छ । तर, प्रत्येक वर्ष लाइसेन्स लिन नआएकाहरूको यातायात व्यवस्था विभागमा पठाउने गरिएको छ ।‘

सडकमा ट्राफिकले कारबाही गरेर लाइसेन्स ल्याउने गरेको उनले प्रस्ट पारे । डकुमेन्ट नबोकेर चिट बोकेका सवारीसाधनलाई सडकमा होल्ड गरेर राख्‍ने गरिएको उनले बताए । पुरानो डकुमेन्ट निकालेपछि ट्राफिक प्रहरीले उनीहरूलाई नयाँ चिट काट्ने गरेको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x