महोत्तरीका साहित्यकारहरूले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने
महोत्तरी। बीसको दशकयता नेपाली साहित्यमा देखापरेका साहित्यिक आन्दोलनमध्ये केहीमात्र अस्तित्वमा छन\। तर ‘राल्फा’ आन्दोलनको चर्चा हिजोआज पनि भइरहन्छ । २०२१ सालमा सरकारका विरुद्ध सुरु भएको राल्फा प्रगतिशील संगीत बनेर स्थापित भयो ।
काठमाडौंमा जन्मिए पनि यो आन्दोलन गाउँगाउँसम्म पुग्यो । पारिजातको नेतृत्वमा यसका अभियन्ता मेची–महाकालीसम्म पुगेका थिए । यस्तै साहित्यिक आन्दोलनको सुरुवात हुने भएको छ, महोत्तरीमा पनि ।
भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमलाई थप सशक्त बनाउन र खबरदारी गर्न प्रगतिशील लेखक संघ महोत्तरीले गणतन्त्र दिवसको अवसर पारेर यसकाे औपचारिक सुरुवात गर्ने भएको छ । `लेखक तथा साहित्यकारहरुले आफ्ना साहित्यिक रचनाको माध्यमबाट आन्दोलन गर्ने तयारी गरेका हौँ,´ प्रगतिशील लेखक संघ महोत्तरीका अध्यक्ष नारायण घिमिरेले भने।
यसअघि पनि बिद्रोही चेतका कविताका माध्यमबाट जिल्लाका साहित्यकारहरुले आफ्ना रचनाहरु प्रकाशन गर्दै आएका छन । सामाजिक मुद्दाका विषयहरूलाई समेत रचनाका माध्यमबाट प्रष्फुटित गर्दै आएका महोत्तरीका साहित्यकारहरु भ्रष्टाचारको विरुद्ध पहिलोपटक संगठित हुन लागेका हुन् ।
मोफसलबाट सुरु गरिएको यो साहित्यिक आन्दोलन सम्भवत: देश कै पहिलो आन्दोलन हुन सक्ने प्रगतिशील लेखक संघको दाबी छ । तत्कालीन समयमा रायन र रमेशले रेडियो नेपालबाट पारिश्रमिक नपाएको विषयमा पारिजातले नेतृत्व गरेको राल्फा आन्दोलनको जतिकै भ्रष्टाचार विरुद्धको आन्दोलन सशक्त बन्नुपर्ने अध्यक्ष नारायण घिमिरेले बताए ।
समाजमा विद्रोही चेतका कविताका माध्यमबाट भ्रष्टाचारविरुद्ध चलाइने कलम साहित्यकारहरुको लागि आफैँमा चुनौती भए पनि सबैले त्यसकाे जिम्मेवारीबोध गर्नुपर्ने महोत्तरीका साहित्यकारहरुको बुझाइ छ ।
गणतन्त्र दिवसको दिन बर्दिबासस्थित एक होटलमा हुने आयोजित कार्यक्रममा साहित्यकारहरुले आफ्ना विद्रोही भावहरु व्यक्त गरेर भ्रष्टाचारविरुद्धको साहित्यिक आन्दोलनको सुरु गर्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया