समाज

एलओडीले भन्योः कर्मचारी तथा ग्राहकको सामाजिक सुरक्षामा प्रतिबद्ध छौ, दोषीलाई कडा कारबाही होस्

इकागज |
जेठ १५, २०८० सोमबार १२:४० बजे

काठमाडौँ- एलओडी क्लबले आफ्नो महिला कर्मचारीमाथि भएको यौन दुर्व्यवहारको घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ ।  केही दिनअघि क्लबका दुई महिला कर्मचारी (सरसफाइ कामदार) लाई बलात्कार गरेको आरोपमा दुई जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

सोमबार क्लबले विज्ञप्ति जारी गर्दै सामाजिक न्यायमा क्लब परिवार अझ बढी संवेदनशील र अडिग रहेको जनाएको छ । ‘हामी महिलामाथि दुर्व्यवहारका घटना हुन नदिन अत्यन्तै सजग छौ, लैङ्गिक समानतामा दृढ छौ,’ क्लबले भनेको छ,’  हाम्रा दुई महिला कर्मचारीमाथि भएको दुर्व्यवहार भएको कुरा सार्वजनिक हुँदा हामी अति नै दुखित भएका छौ । यो घटनाको जानकारी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि हामीले पनि थाहा पायौ । ‘


घटना क्लबभन्दा बाहिर भएको भएता पनि हामी सामाजिक न्यायका लागि प्रतिबद्ध रहेको र कर्मचारीको साथमा रहेको क्लबले बताएको छ । ‘हाम्रा कर्मचारीहरू प्रति भएको दुखद् अनि असहज घटनामा हाम्रो साथ रहने छ । पुनः सामाजिक न्याय र समानतामा क्लब सदा अडिग रहने विश्वास दिलाउन चाहन्छौ,’ विज्ञप्तिमा उल्लेख छ।

जुनसुकै हिंसा वा घटना मानवअधिकार विरोधी भएको र अझ यौन हिंसा चरम मानवता विरोध अपराध रहेको क्लबले जनाएको छ । जिल्ला अदालत काठमाडौँमा जघन्य अपराध बलात्कार जस्तो घटनामा मुद्दा दर्ता भइसकेको क्लबले प्रस्ट पारेको छ ।

‘यस मुद्दाका लागि अनुसन्धान गर्न क्लब परिवारको तर्फबाट सदा र साथ सहयोग रहनेछ,’ क्लबले थप विज्ञप्तिमा बताएको छ,’ घटनामा दोषीलाई सजाय दिलाइ पीडितलाई न्याय दिन जोडदार माग गर्दछौ ।‘

क्लबले र ग्राहकलाई आफ्नो परिवार ठानेर व्यवहार गर्दै आएको प्रस्ट पारेको छ । क्लबका अनुसार ग्राहक र कर्मचारीलाई आफ्नो सधैँभरी परिवारको सदस्य सम्झेर व्यवहार गरिरहेको बताएको छ ।

‘ग्राहकलाई भगवान ठानेका छौ । रात्रिकालीन व्यवसायमा सबैभन्दा बढी जोखिम, चुनौती र डर महिला कर्मचारी तथा ग्राहकमा हुन्छ । जति जोखिम भए पनि कर्मचारी र ग्राहकको सुरक्षामा हामी उति नै संवेदनशील छौ । हामी सधैँभरि आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारी प्रति सामाजिक सुरक्षामा प्रतिबद्ध छौ भनेर विश्वास दिलाउन चाहन्छौं,’ ध्यानाकर्षणमा जनाइएको छ ।

 

 

 

 


Author

थप समाचार
x