समाज

रेशम चौधरीसँगै छोरा पनि छुट्ने आसमा थिइन् सोनिया

टीकापुर घटनामा पक्राउ परेका हरिनारायण चौधरीसहित अन्य तीन जनाले आममाफी पाएनन्

इकागज |
जेठ १५, २०८० सोमबार १५:४९ बजे

कैलाली- टीकापुर अस्पतालमा उपचारकै क्रममा रहेका बेला पक्राउ परेका थिए मुनुवा शिवशक्ति मुक्त कमैया शिविरका हरिनारायण चौधरी । २०७२ साल भदौ ७ गते पहिचान र अधिकारका लागि हिंसात्मक आन्दोलनमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई भदौ ८ गते अस्पतालबाटै पक्राउ गरेको थियो ।

कैलाली कारागारमा जेल जीवन बिताइरहेका हरिनारायणकी आमा सोनिया छोरा घर आउने आसमा बसेकी छिन् । उनी भन्छिन्, ‘रेशमसँगै मेरो छोरा पनि छुट्छ भन्थे । अहिले कारागारमा सम्पर्क गर्दा फोन उठेन । छोरा आउने हो कि होइन । केही थाहा छैन ।’ 


सोमबार १६ औं गणतन्त्र दिवसका अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई सरकारले आममाफी दिँदै कारागारबाट रिहा भएका छन् । तर, सोही घटनामा पक्राउ परेका हरिनारायण चौधरीसहित कैलाली कारागारमा थुनामा रहेका अन्य तीन जनाले भने आममाफी पाएनन् । टीकापुर घटनामा दोषी ठहर भएका नाबालक पोखरा सुधार गृहमा छन् । 

उमेरले ४२ वर्ष पुगेकी सोनिया चौधरीले कमाउने छोरा जेलभित्र हुँदा जीविकोपार्जन गर्न पनि गाह्रो भइरहेको बताउँछिन् । ‘छोरा नहुँदा श्रीमान् दैनिक ज्यालादारीमा काम गरिरहेका छन् । दिनको पाँच सय कमाउँछन् । घर खर्च, खानाको व्यवस्था गर्न पनि समस्या रहेको छ,’ सोनियाले दुखी हुँदै सुनाइन् ।

सोनियाका एक छोरा र दुई छोरी छन् । टीकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेको घटना स्मरण गर्दा सोनियाको आँखाबाट आँसु झर्छ । उनलाई सरकारले सोमबार कैदमाफी गरेर कैदमुक्त गर्ने आश्वासन आएको सुनाइन् । उनले भनिन्, ‘रेशमसंगै कैलाली कारागारमा रहेका सम्पूर्ण टीकापुर घटनाका कैदबन्दीलाई कैदमाफी हुने सुनेको थिएँ, तर, अहिलेसम्म छोराको अवस्था के छ थाहा छैन ।’

आन्दोलनमा सहभागी हुन उर्दी जारी गरेपछि हरिनारायण एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने डरले आन्दोलनमा सहभागी भएका थिए । सोनिया डगौराले कमैया आन्दोलन जस्तै होला भनेर छोरो आन्दोलनमा गएको बताइन् । प्रत्येक घरबाट कम्तीमा एक जना आन्दोलनमा जानुपर्ने नत्र एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने उर्दी आएपछि आमा र बहिनी सीतालाई रोकेर उनी गएका थिए ।

थरुहट/थारूवानका नेता माधव थारूले रेशमको रिहाइमा टीकापुर घटनाको कुनै संलग्नता नरहेको बताउँछन् । उनले भने, ‘यो सरकारको निर्णय हो । यसमा म केही भन्दिनँ । उहाँको पार्टी सरकारमा रहेकाले उहाँले रिहाइ पाउनु भएकाे हाे ।’

उनले सरकारले टीकापुर घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए । ‘लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्दा पनि सुनुवाइ भएको छैन । थारूहरूलाई नै दोषी देखाउने गरी जिल्ला, उच्च र सर्वोच्च अदालतको फैसला भएको छ । प्रतिवेदनप्रति न्यायिक निकायले ध्यान नदिइ निर्णय गरेका छन्,’ उनले भने ।

नागरिक उन्मुक्ति पार्टीले रेशमलाई आम माफी दिएर न्याय नगरेको प्रतिक्रिया दिएका छन् । ‘विग्रह, विखण्डनको लडाइ होइन । न त बदलाभाव रिसरागको लडाइ हो यो । यो त सद्भव, अपनत्व, न्यायका लागि समृद्ध नेपाल र नेपाली बन्ने बनाउने अभियान हो । सहयोग गर्नुहुने सबै सबैलाई धन्यबाद छ,’ उन्मुक्तिका नेता लक्ष्मण थारू भन्छन् ।

उन्मुक्तिका नेताहरूले न्याय भन्दा शासकको दया ठूलो नभएको प्रतिक्रिया दिन्छन् । ‘गणतन्त्र दिवसका दिन रेशम चौधरी लगायत चार सय ८२ जनाले आममाफी पाएका छन्,’ उन्मुक्तिका नेता श्रवण चौधरी भन्छन्, ‘निर्दोष रेशम चौधरीलाई दोषी प्रमाणित गरी आममाफी दिनु सम्पूर्ण थारू समुदाय र पहिचानवादीहरू प्रतिको अन्याय हो । माफी भन्दा न्याय धेरै गुणा बेस हुन्थ्यो यो माफीले रेशमलाई सदाका लागि अपराधीको टीका लगाएको छ ।’


Author

थप समाचार
x