समाज

राष्ट्रपति पौडेलको फोटो सगरमाथामा पुर्याउने आरोही याङ्जीलाई राष्ट्रपतिको बधाई

इकागज |
जेठ १७, २०८० बुधबार २०:२० बजे

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर पहिलो पटक सगरमाथाको चुचुरोमा पुर्‍याउने महिला आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा उनले महिला आरोहीको साहस र आँटको प्रशंसा गरे । 

उनले हिमाल आरोहणमा राष्ट्रको सम्मानका लागि नेपाली महिलाआरोहीहरूले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए । 


हिमाल आरोही याङ्जी शेर्पाले आफूले ‘सरप्राइज’ दिनकै लागि राष्ट्रपति पौडेलको फोटो थाहै नदिई चुचुरोमा पुर्‍याउन पाउँदा खुसी लागेको भन्दै राष्ट्रपति पौडेलको तस्बिर सो अवसरमा हस्तान्तरण गरिन् । 

सङ्खुवासभा मकालु गाउँपालिकाकी याङ्जीले पौडेल राष्ट्रपति हुनु अगावै नयाँ राष्ट्रपतिको तस्बिर सगरमाथाको चुचुरोमा पुर्‍याउने संकल्प लिएकी थिइन् । अन्य साना कुनै पनि चुचुरो नचढी उनले एकै पटक सगरमाथाको सफल आरोहण गरेकी हुन् । 

पायोनियर एड्भेन्चर ट्रेकका डाइरेक्टर तथा कीर्तिमानी आरोही मिङ्मा दोर्ची शेर्पाले आफ्नो कम्पनीबाट हिमाल आरोहण गर्ने महिलाको सङ्ख्या उल्लेख्य रहेको र प्रतिकूल मौसमका कारण पनि हिमाल अरोहण गराएको बताए । 

कार्यक्रममा सङ्खुवासभाका सांसद दीपक खड्काले हिमाल आरोहणमा नेपाली महिलाको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले हिमाल आरोहणको क्षेत्र असुरक्षित भए पनि साहस र हिम्मतको सबैले कदर गर्नुपर्ने बताए । रासस


Author

थप समाचार
x